‘हिजो वैदेशिक ऋणको आलोचना गर्नेहरू सरकारमा पुग्दा नयाँ योजना के ल्याए ?’
सारांश
- सांसद आरेन राईले मुलुक ऋणमा डुबेको र ऋण तिर्नै समस्या भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
- उनले सरकारलाई देशलाई परनिर्भरताबाट मुक्त गराउने उपाय खोज्न र आन्तरिक राजस्वबाट देश चलाउने योजना बताउन आग्रह गरे।
- राईले संवैधानिक आयोगहरूको बजेट घटाइएकोमा असन्तुष्टि जनाउँदै पिछडिएका वर्गका लागि बजेट बढाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । विपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको अर्थतन्त्र ऋण लिएर ऋण तिर्ने चरम सङ्कटमा फसिरहेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएका छन्।
सरकारले आफ्नै आन्तरिक राजस्वबाट मुलुक चलाउने के-कस्तो उपाय र भावी योजना खोजिरहेको छ भनी उनले प्रश्न समेत गरेका हुन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद राईले देशलाई परनिर्भरताबाट मुक्त गराउने दिशामा सोच्न सरकारलाई आग्रह गरे। छलफलका क्रममा सांसद राईले आर्थिक सङ्कटको चर्चा मात्र गर्ने तर समाधान नखोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
हिजोका दिनमा वैदेशिक ऋण बढ्यो भनेर चर्को आलोचना गर्ने र ठुला–ठुला सभा सम्मेलनमा भाषण गर्नेहरू नै अहिले नयाँ शक्तिका रूपमा सरकारमा पुगेको उनले स्मरण गराए। उनले अर्थमन्त्रीलाई लक्षित गर्दै प्रश्न गरे, ‘आज दुःखलाग्दो कुरा, हामी ऋण लिएर ऋण तिरिरहेका छौँ। अब यसका लागि आम नेपाली जनताले के गर्नुपर्ने? देशकै राजस्वबाट देश चलाउनका लागि हामीले के गर्नुपर्ने? हामी सांसदले के गर्नुपर्ने र सिङ्गो देशवासीले के गर्नुपर्ने हो? अर्थमन्त्रीले भनिदिनु पर्यो। यसको भावी योजना के छ, अहिलेबाट हामी आफ्नै राजस्वले देश चलाउन सक्छौँ? यस विषयमा गम्भीर हुन पर्दछ।’
बैठकमा बोल्दै सांसद राईले विनियोजन विधेयकमा विभिन्न संवैधानिक आयोगहरूको बजेट घटाइएको भन्दै अर्थमन्त्री वाग्लेप्रति असन्तुष्टि समेत व्यक्त गरे। पुस्तौँदेखि सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका समुदायलाई माथि उठाउनका लागि आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलित जस्ता आयोगहरू गठन भएको उनले स्पष्ट पारे। नयाँ सरकार आएपछि ती पिछडिएका वर्गका लागि बजेट बढाउनुपर्नेमा उल्टै घटाउने काम भएको भन्दै उनले आपत्ति जनाए।
बजेट विनियोजनको विषयलाई लिएर विभिन्न आयोगका प्रमुखहरूले अर्थमन्त्रीसँग छलफलका लागि समय माग्दा समेत नपाएको गुनासो आफूले सुनेको सांसद राईले संसद्मा खुलाए।
उनले सामाजिक रूपमा सबै समुदायलाई समान र माथि उठाउनका लागि राज्यले लगानी घटाउने होइन, बरु बढाउनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति
-
जासुसी गरेको आशङ्कामा चीनमा एक अमेरिकी अनुसन्धानकर्ता पक्राउ
-
कर्णाली करिडोर बन्द गरिएको भन्दै हुम्लाका नागरिक आन्दोलित (तस्बिरहरू)
-
सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न विशेष अदालतको आदेश
-
राष्ट्रिय सभामा समेत उठ्यो अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग
-
बालसेना भर्तीबारे सर्वोच्चले जारी गरेको निर्देशनात्मक आदेशमा के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण