शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

मालवाहक सवारीको ब्लु बुकमा अब भारवहन क्षमता अनिवार्य खुलाउनुपर्ने

शुक्रबार, २९ जेठ २०८३, १६ : ५७
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनहरूको ब्लु बुकमा भारवहन क्षमता स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिएको छ ।
  • यसअघि कुल वजन मात्र उल्लेख हुँदा भारवहन क्षमतामा अन्योल देखिएको थियो ।
  • अबदेखि रिजिट ट्रकले ३५ टन र ट्रेलर वा सेमि ट्रेलरले ४९ टन भारवहन क्षमता पाउनेछन् ।

काठमाडौँ । यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनहरूको ब्लु बुक (सवारी दर्ता किताब) मा भारवहन क्षमता  स्पष्ट रूपमा उल्लेख गर्न देशभरका यातायात व्यवस्था कार्यालयहरूलाई निर्देशन दिएको छ ।

विगतमा ब्लु बुकमा ‘कुल वजन’ मात्र लेखिँदा सवारीको वास्तविक भारवहन क्षमता (लोड बोक्ने क्षमता) का सम्बन्धमा अन्योल देखिएकाले विभागले यस्तो स्पष्ट निर्देशन जारी गरेको हो ।

विभागले जारी गरेको परिपत्र अनुसार अबदेखि मालवाहक सवारीको भारवहन क्षमता तोक्दा अधिकतम सीमा रिजिट ट्रकले  अधिकतम ३५ टनसम्म र  ट्रेलर वा सेमि ट्रेलरका लागि अधिकतम ४९ टनसम्म कायम गर्नुपर्ने उल्लेख छ । 

यातायात व्यवस्था ऐन, २०४९ को दफा १६ को उपदफा ३ र ‘मालवाहक सवारी साधनहरूको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४’ बमोजिम यो निर्णय गरिएको विभागले जनाएको छ । निर्देशिका अनुसार प्रति एक्सल टन, ट्यान्डम  र ट्रिडमको भारवहन क्षमता जोडेर कुल अनुमति योग्य भार निकालिनेछ ।

विभागका अनुसार ब्लु बुकमा स्पष्ट रूपमा भारवहन क्षमता उल्लेख नहुँदा सडकमा ट्राफिक प्रहरी र सवारी धनीबिच विवाद हुने गरेको र प्राविधिक रूपमा पनि भारवहन नियमनमा समस्या परेको थियो । अब नयाँ जारी हुने ब्लु बुकमा मात्र नभई यसअघि जारी भइसकेका ब्लु बुकहरूमा समेत नवीकरण वा अन्य प्रक्रियाका क्रममा भारवहन क्षमता स्पष्ट खुलाउन विभागले निर्देशन दिएको छ ।

विभागले सातै प्रदेशका सबै यातायात व्यवस्था मन्त्रालय तथा कार्यालयहरूलाई यो नियम तत्काल कार्यान्वयन गर्न पत्राचार गरेको छ ।

720523793_994347363335703_205783320323099830_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप