अब हाम्रो भेट विश्वकपपछि मात्र हुनेछ प्रिया !
सारांश
- विश्वकप सुरु भएकाले र मेस्सी-रोनाल्डोको यो अन्तिम विश्वकप भएकाले प्रेमीले प्रेमिकालाई भेट्न नपाउने अवस्थाबारे लेखिएको छ ।
- खेलाडीहरूले खेलको हारजितमा रमाउँदै कर्ममा ध्यान दिने र खेलप्रेमीहरूले खेललाई पूर्ण रूपमा अनुभव गर्ने लेखमा उल्लेख छ ।
- विश्वकप अवधिभर प्रेमीले प्रेमिकाबाट बिदा मागेका छन्, तर खेल सकिएपछि भेट्ने र प्रेम साट्ने वाचा गरेका छन् ।
प्रिय प्रेमिका !
मनैदेखिको माया तिमीलाई ।
विषय त्यति गम्भीर त छैन तर पनि सोचनीय भने अवश्य छ । विश्वकप सुरु भइसकेको अवस्था छ प्रिय । र, तिमीलाई थाहा नै छ म कति क्रेजी छु, फुटबलको । त्यसमाथि मेस्सी र रोनाल्डोको यो अन्तिम विश्वकप हो भन्ने थाहा पाएपछि त म कति व्यग्र भएर यसको प्रतीक्षामा थिएँ, त्यो मलाई मात्र थाहा छ ।
तिमीलाई मनमनै लागेको होला, मैले कस्तो केटासँग माया गाँसेछु भनी । कहिले एनपीएल भन्छ, कहिले आइपीएल भन्छ । क्रिकेट त छोडेन–छोडेन हुँदा–हुँदा, अब फुटबल पनि नहेरी छोड्ने भएन ।
के गर्नु प्रिया !
मानिस जीवनको जोड–घटाउमा लागेरै मरिहत्ते गर्छन् तर हामी खेलप्रेमीहरु अलि पृथक् छौँ । खेलको हार जीतमा रमाउँछौँ र कर्ममा ध्यान दिन्छौँ ।
जाबो विश्वकप हुँदैमा भेट्नै नहुने, बोल्नै नहुने कारण के रहेछ भनी सोची बसेको पनि हुन सक्छ । खेल प्रेमीहरू यस्तै एकोहोरो हुन्छन् । जे कुरा पनि पुराका पुरा स्पर्श अनुभूत गर्छन् । लगभग प्राय खेलहरू मध्यरातमा छन्, हेर्दाहेर्दै बिहान हुन सक्छ । अब अनिदो आँखा बोकेर अफिस जाने कुरा पनि भएन ।
९ बजे नै पुग्न पर्ने बाध्यता जो छ । बिहान एकछिन रातको निद्रा पु¥याउनै प¥यो । नत्र अफिसमा गएर सेवा दिन पनि त गाह्रो छ । विश्वकपलाई मध्यनजर गरेर सरकारसँग छुट्टी माग्ने कुरा पनि त भएन । फेरि तलब नै दिएन भने हामी कसरी यो संसारमा टिक्ने ? हिजोसम्म अफिसभन्दा बाहेकको ज्यादा समय तिमीसँगै बित्ने गर्थ्यो, त्यसैले आज बिदा पनि तिमीसँगै माग्नु सहज छ मलाई ।
यति खेल भरका लागि मलाई मनमा साँचेर बिदा दिन्छ्यौ भन्ने विश्वास छ ।
फेरि तिम्रो मनमा अर्को प्रश्न पनि जन्मेला– सरकारले शनिवार, आइतबार छुट्टी दिएकै छ त, त्यो दिन भेट्दा हुँदैन र ?
तर प्रिय, सधैँ घरमा एक्लै वा परिवारसँग मात्र कति खेल हेर्नु ? बिदा हुँदा त साथीभाइसँग पनि त मजा मानेर हेर्नु प¥यो नि । त्यसको मज्जा छुट्टै हुन्छ । त्यसमाथि फरक–फरक कोणबाट हुने आपसी विश्लेषणले खेलप्रतिको चाखलाई झनै मजाको बनाई दिन्छ ।
मलाई थाहा छ, तिमी धेरै ज्ञानी छ्यौ । यो अनुमति मैले सहर्ष पाउँछु । ३९ दिन जति नबोल्दैमा हाम्रो माया मेटिएर जाने पनि त होइन । झन् धेरै दिनको प्यास र प्रेमसहित हामी भेट्ने छौँ । के थाहा तिमीलाई पनि खेल हेर्ने त्यति नै इच्छाले सताएको पो छ कि ?
अनि मेस्सी, रोनाल्डो र एम्बाप्पेहरुबाटै हाम्रो माया थप प्रगाढ हुनेछ ।
फेसबुकभरी जता–ततै आफूलाई मन पर्ने टिमको टिसर्ट लाएर फोटो हाल्नेको जमात तिमीले देखेकै हुनुपर्छ । मैले पनि अर्जेन्टिनाको टिसर्ट लाएर हाल्ने नै छु, तिमीले लभ रियाक्ट गर ल । त्यो भन्दा पनि पर कुनै दिन हामी विवाहित भएर दुईबाट तिन भएको क्षण हामी पुरै परिवारले नै अर्जेन्टिनाको टिसर्ट लाएर फोटो हालौँला है ।
विश्वभर फेरि अशान्ति बढ्न लागेको यो समयमा ४८ देशबिच खेलको माध्यमबाट हुने आपसी प्रतिस्पर्धीले शान्ति र साझेदारीको नयाँ बाटो पो खोल्नेछ कि त ? आशा गरौँ, जसरी खेलाडीले मैदानमा बललाई समाउन प्रतिस्पर्धा गर्छन् ठिक त्यसैगरी विश्वभरका मुलुकहरूले शान्ति, भाइचारा र बन्धुत्वलाई पनि त्यसरी नै पक्रन प्रतिस्पर्धा गर्नेछन् । भीषण द्वन्द्व र सङ्घर्षको अन्त्य हुनेछ तथा हाम्रो प्रेमले पनि नयाँ उचाइ कायम गर्नेछ ।
तिमीलाई थाहा छ प्रिया ! हामी नेपाली विश्वकपमा पुग्न नसके पनि यति धेरै उत्साहित किन छौँ । मलाई लाग्छ हामी शान्ति प्रेमी भएरै हामीले विश्व एकजुटताका लागि फुटबललाई मन पराउने गर्छौँ । आशा गरौँ नेपाल पनि कुनै दिन फुटबल विश्वकपमा पुग्ने छ ।
एउटै धागोमा उनिएका ४८ वटा राष्ट्रहरू एउटा ट्रफीका लागि १०४ खेल खेल्दैछन् र हामी नेपाली जस्तै विश्वभरका करोडौं मानिसहरु पनि शान्तिको आह्वानका लागि मैदानमा एकजुट हुनेछन् ।
यो कुरा तिमीले राम्ररी बुझेकी छौ ।
विश्वकप भइन्जेल हामीबिचको सञ्चार हामीबिच पक्कै पनि टुट्ने छैन । आफ्नो टिमले हार्दा तिम्रै आँगनमा सुकसुकाउन आइपुग्ने छु म । जित्दा तिमीसँगै माया साट्न आउने छु म ।
तर यो बिचको समय करिब–करिब मलमास बारे जस्तै हुन सक्छ । त्यतिन्जेलसम्मका लागि बिदा दिन अनुरोध गर्न चाहन्छु प्रिया ।
उही तिम्रो प्रेमी
अर्जेन्टिनाको फ्यान
डा.अच्युत शाली घिमिरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण