काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
सारांश
- काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा काठमाडौँलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना अघि सारेको छ ।
- यस योजनाअन्तर्गत काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभल आयोजना गरिनेछ र अमूर्त सम्पदाहरूलाई युनेस्कोमा सूचीकृत गर्न पहल गरिनेछ ।
- साथै, इन्द्रजात्रा र सेतो मछिन्द्रनाथ जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड निर्माण प्रोत्साहन गरिनेछ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सांस्कृतिक सहर: समृद्ध महानगरको परिकल्पनालाई मूर्त रूप दिन काठमाडौँ महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्धन तथा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो ।
‘काठमाडौँलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गरिनेछ। यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा– वहि, हिती, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामकरण, नक्सांकन, मर्मत, जीर्णोद्धार, पुनर्निर्माण गरी संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गरिनेछ। मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम् पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुनर्निर्माण गर्न र सम्पदा बस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ।’
महानगरपालिकाले इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ (आर्य अवलोकितेश्वर) जात्रा लगायतका अन्य ऐतिहासिक तथा सांस्कृतिक जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड निर्माण गर्न प्रोत्साहन पनि गर्ने भएको छ ।
‘पर्यटन प्रवर्द्धन तथा विकासका लागि प्राचीन बस्ती एवम् सहरहरूमा होमस्टे सञ्चालनको लागि प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममै भनिएको छ, ‘अमूर्त सम्पदाहरुः स्थानीय जात्रा, पर्व, कला, संस्कृति, परिकार, परम्परागत बाजा तथा सङ्गीतहरूको संरक्षण र प्रवर्धन गर्दै युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत गर्न आवश्यक पहल गरिनेछ।’
महानगर क्षेत्रभित्रका पोखरी, ढुंगेधारा (हिती)हरुको पुनर्स्थापना, आकाशे पानी सङ्कलन तथा पुनर्भरण गर्दै जल सम्पदाको संरक्षण गरी वातावरणीय सन्तुलन कायम गर्न जोड दिने पनि महानगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
‘मौलिक र परम्परागत लोककला, पाककला, भेषभुषा, शिल्प, गरगहना, जात्रा पर्व, साहित्य सङ्गीत तथा प्राकृतिक सम्पदाहरूलाई चलचित्रको माध्यमद्वारा उजागर गरी रचनात्मक उद्योगका रूपमा विकाश र प्रवर्धन गर्न चलचित्र महोत्सव, परम्परागत खाना महोत्सव, एक्स्पो, प्रदर्शनी जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ,’ भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाले निर्माण गरेको येँ देय् सांस्कृतिक छेँ लाई सञ्चालनमा ल्याइनेछ।
साथै काठमाडौँ महानगरपालिका क्षेत्रको महत्त्वपूर्ण जात्राका रूपमा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित इन्द्रजात्राका रथयात्राका प्रमुख देवगणहरू श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्न आवश्यक व्यवस्था मिलाइनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण