आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ

आइतबार, ३१ जेठ २०८३, १५ : ५७
आइतबार, ३१ जेठ २०८३

सारांश

  • सिराहामा परीक्षाको क्रममा जफत गरिएका मोबाइल र स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटनाले परीक्षा प्रणाली र मूल्याङ्कन पद्धतिमाथि प्रश्न उठाएको छ ।
  • स्मरणशक्तिमा आधारित परीक्षा प्रणालीको सट्टा खुला किताबी परीक्षा (ओपन बुक एक्जाम) अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
  • खुला किताबी परीक्षाले विद्यार्थीको बुझाइ, विश्लेषण र प्रयोग गर्ने सीपको विकासमा जोड दिने तथा शिक्षालाई व्यावहारिक बनाउने बताइएको छ ।

सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका करोड भन्दा बढी मूल्यका चार सय ९६ थान मोबाइल र पाँचवटा स्मार्ट वाच प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाले देशभर असहज तर आवश्यक बहस जन्माएको छ ।

प्रश्न, विद्यार्थीले परीक्षा केन्द्रमा मोबाइल किन लगे भन्ने होइन । प्रश्न के हो भने हाम्रो परीक्षा प्रणालीले विद्यार्थीलाई यस्तो बाटो रोज्न बाध्य किन बनायो ? हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई चिन्तन उन्मुख, प्रयोग गर्न प्रेरित गर्नुको सट्टा कण्ठ गर्ने किन बनाउँदै छ ?

त्यसैले सिराहाको घटना अनुशासनको विषय मात्रै होइन, यो हाम्रो मूल्याङ्कन प्रणालीमाथिकै प्रश्न हो । यसर्थ सिरहा प्रकरणलाई नयाँ परीक्षा प्रणालीतर्फ अघि बढ्ने प्रस्थानबिन्दुका रूपमा लिइनुपर्छ ।

सिराहाको घटना एउटा लक्षण हो, रोग होइन । रोग त हाम्रो परीक्षा प्रणालीमा देखियो । जब प्रश्नपत्रहरू अझै पनि परिभाषा, बुँदागत उत्तर, पाठका अनुच्छेद र ‘याद भए लेख, नभए सकियो’ भन्ने ढाँचामा बनेका हुन्छन्, तब विद्यार्थीको ध्यान ज्ञानको अर्थमा होइन, उत्तरको स्रोतमा मात्रै केन्द्रित हुन पुग्छ ।

पहिले चिट हुन्थ्यो, अहिले मोबाइल भयो; भोलि एआई–सक्षम उपकरण हुन सक्छ । तर आधारभूत समस्या उही रहन्छ । यदि परीक्षाको डिजाइन कमजोर छ भने प्रविधि सधैँ नक्कलको साधन बन्छ, सिकाइको होइन ।

मोबाइल डुबाएर नष्ट गरिनु प्रशासनिक कठोरताको एउटा दृश्य हो । परीक्षा हलमा हल्लिनै नदिनु, मोबाइल खोस्नु र नष्ट गर्नुले समाधान दिँदैन । उपकरण नष्ट गरेर सूचना–युगको चुनौती रोकिन्न । बरु यसले देखाएको कुरा के हो भने, २१औँ शताब्दीमा पनि हामी २०औँ शताब्दीको परीक्षा मानसिकताबाट बाहिर निस्कन सकेका छैनौँ ।

यस्तो अवस्थामा स्मरणशक्तिमा आधारित परीक्षा पद्धति पुनर्विचारको विषय मात्र होइन, सुधारको तात्कालिक एजेन्डा बन्नुपर्छ । अब ओपन बुक एक्जाम अर्थात् खुला किताबी परीक्षातर्फ नेपालले पाइला चाल्नैपर्छ । शिक्षालाई व्यावहारिक र वैज्ञानिक बनाउन तथा परीक्षालाई मर्यादित बनाउन खुला किताबी परीक्षा अवलम्बन गरिनु आवश्यक देखिन्छ ।

  • खुला किताबी परीक्षा भनेको के हो ?

खुला किताबी परीक्षा भनेको किताब हेरेरै परीक्षा दिन सकिने मूल्याङ्कन प्रणाली हो । विद्यार्थीलाई परीक्षा हलमा निश्चित प्रकारका सन्दर्भ सामग्री जस्तै: पाठ्यपुस्तक, आफ्ना नोट, सूत्र पुस्तिका, कानुनी संहिता, केस सामग्री वा अन्य स्वीकृत स्रोत प्रयोग गर्न अनुमति दिइन्छ । अर्थात् किताब र अन्य सन्दर्भ सामग्री तथा कतिपय अवस्थामा डिजिटल डिभाइससमेत प्रयोग गरेर उत्तर लेख्न पाउने परीक्षा प्रणाली हो ।

यसको अर्थ किताब खोलेर उत्तर सार्ने छुट विद्यार्थीलाई हुन्छ भन्ने होइन । यसको मूल दर्शन ज्ञान कण्ठ गर्ने होइन, बुझ्ने र प्रयोग गर्ने सीपसँग सम्बन्धित छ ।

परम्परागत बन्द पुस्तक परीक्षा प्रणालीमा विद्यार्थीले ‘के सम्झियो ?’ भन्ने हेरिन्छ । ओपन बुक परीक्षामा उसले ‘के बुझ्यो, कसरी प्रयोग गर्‍यो र किन त्यो निष्कर्षमा पुग्यो ?’ भनी हेरिन्छ । पुस्तक साथमा भए पनि परीक्षाको समयसीमा तोकिएकै हुन्छ । प्रश्न जटिल हुन्छन् र सीधा नक्कल गरेर लेख्न सकिँदैन । विद्यार्थीले स्रोतबाट तथ्य खोजेर त्यसको अर्थ निर्माण गर्नुपर्छ ।

यसै कारणले खुला किताबी परीक्षा सजिलो नभई धेरै अवस्थामा अझ चुनौतीपूर्ण मानिन्छ । किनकि यसमा स्मरणशक्ति मात्र काफी हुँदैन; अवधारणागत स्पष्टता, विश्लेषण, तर्कशक्ति, उदाहरण चयन, समय व्यवस्थापन र लेखन कौशल पनि अनिवार्य हुन्छ ।

खुला किताबी परीक्षा प्रणालीमा प्रश्न नै यस्ता हुन्छन् कि किताब हेरेर पनि अवधारणा नबुझी उत्तर दिन सकिँदैन । यदि विद्यार्थीलाई स्थानीय सन्दर्भ, तुलना, विश्लेषण, केस–स्टडी र तर्क दिन लगाइयो भने मोबाइल लुकाएर लैजानुको औचित्य आफैँ घट्छ । पुस्तक खुला भएको ठाउँमा चिटको मूल्य घट्छ; सोच खुला भएको ठाउँमा नक्कलको अर्थ न्यून हुन्छ ।

यसर्थमा सिराहाको मोबाइल काण्डलाई केवल अनुशासन उल्लङ्घनको घटना मानेर टुंग्याउनु दूरदर्शी हुने छैन । यसलाई परीक्षा प्रणाली सुधारको प्रस्थानबिन्दु बनाउनुपर्छ । प्रशासनले जफत गरिएका सामग्री नष्ट गर्‍यो; अब राज्यले पुरानो सोच नष्ट गर्ने साहस देखाउनुपर्छ ।

  • किन आवश्यक छ ओपन बुक परीक्षा ?

नेपालको विद्यालय तथा विश्वविद्यालय तहको ठूलो समस्या घोकन्ते शिक्षा हो । विद्यार्थी पाठको सार नबुझी सम्भावित प्रश्नको उत्तर घोक्छ, केही दिनमै बिर्सिन्छ । यस्तो शिक्षाले प्रमाणपत्र दिन सक्छ, क्षमता बढाउन सक्दैन ।

खुला किताबी परीक्षाको सबैभन्दा ठूलो योगदान यही हो कि यसले सिकाइको केन्द्रलाई स्मरणबाट बुझाइतिर सार्छ । विद्यार्थीलाई थाहा हुनुपर्छ कि कुन अवधारणा कहाँ छ, किन महत्त्वपूर्ण छ, कस्तो अवस्थामा प्रयोग हुन्छ, र आफ्नो निष्कर्षलाई कसरी प्रमाणित गर्ने ? यसले दीर्घकालीन सिकाइलाई बल पुर्‍याउँछ ।

दोस्रो, यसले विद्यार्थीमा आलोचनात्मक सोच विकास गर्छ । प्रश्न सामान्यतया ‘परिभाषित गर’ प्रकारका हुँदैनन् बरु दुई दृष्टिकोण तुलना गर, यो अवस्थाको समाधान प्रस्ताव गर, उदाहरणका आधारमा आलोचनात्मक समीक्षा गर, दिइएको डाटा विश्लेषण गर जस्ता हुन्छन् । यस्ता प्रश्नले पाठ्यपुस्तक मात्र होइन, विद्यार्थीको बौद्धिक सक्रियता माग्छ ।

तेस्रो, यसले परीक्षाको भय घटाउँछ । नेपालमा परीक्षा अझै पनि सिकाइको उत्सवभन्दा बढी दण्डजस्तो अनुभव गरिन्छ । सबै कुरा कण्ठ गर्नुपर्छ भन्ने दबाबले विद्यार्थीमा चिन्ता, तनाव र असफलताको डर बढाउँछ । खुला किताबी परीक्षा प्रणालीले सबै कुरा याद हुनैपर्छ भन्ने मानसिक बोझ हलुका बनाउँछ । यसको अर्थ लापरवाही बढाउनु होइन, बरु तयारीको ढाँचा बदल्नु हो ।

चौथो, यसले शिक्षालाई वास्तविक जीवनसँग जोड्छ । कार्यक्षेत्रमा कसैले पनि चिकित्सक, वकिल, इन्जिनियर, प्रशासक, पत्रकार वा अनुसन्धानकर्तालाई ‘सबै कुरा कण्ठ गरेर’ निर्णय गर्न आग्रह गर्दैन । उनीहरू सन्दर्भ हेर्छन्, डेटा पढ्छन्, कानुन पल्टाउँछन्, रिपोर्ट विश्लेषण गर्छन् र विशेषज्ञ राय लिन्छन् । यदि वास्तविक संसार ओपन रिसोर्समा चल्छ भने परीक्षा मात्रै बन्द किताबमा किन अडिग रहने ? त्यसो त नेपालमा उच्चस्तरीय शिक्षा आयोगले खुला किताबी परीक्षा गर्न सुझाव पनि दिइसकेको छ ।

  • विश्वमा ओपन बुक परीक्षाको अभ्यास

विश्वका धेरै देशमा खुला किताबी परीक्षा नयाँ अवधारणा होइन । विशेष गरी उच्च शिक्षा, व्यावसायिक शिक्षा र कानुन, चिकित्सा, व्यवस्थापन, इन्जिनियरिङ जस्ता क्षेत्रहरूमा यसको प्रयोग लामो समयदेखि हुँदै आएको छ ।

अमेरिकाका अनेक विश्वविद्यालयमा पाठ्यक्रमको प्रकृतिअनुसार ‘ओपन बुक’, ‘ओपन नोट’ र ‘टेक–होम’ मूल्याङ्कन प्रयोग गरिन्छ । त्यहाँको जोड तथ्य सम्झनामा भन्दा अवधारणा प्रयोग, केस विश्लेषण र तर्क निर्माणमा बढ्दै गएको छ । त्यस्तै बेलायतका विश्वविद्यालयहरूले विशेष गरी निबन्धात्मक, कानुनी, सामाजिक विज्ञान र अनुसन्धानमुखी विषयहरूमा खुला स्रोतमा आधारित मूल्याङ्कन अपनाएका छन् ।

अस्ट्रेलिया र क्यानडाका धेरै संस्थाले विद्यार्थीको उच्चस्तरीय सोच जाँच्न ओपन बुक वा ओपन रिसोर्स मूल्याङ्कनलाई वैकल्पिक होइन, प्रभावकारी उपकरणका रूपमा लिएका छन् ।

भारतमा राष्ट्रिय शिक्षा नीति २०२० ले घोकन्ते सिकाइ घटाएर अवधारणात्मक र दक्षतामूलक शिक्षामा जोड दिएको छ । त्यसअनुसार केन्द्रीय माध्यमिक शिक्षा बोर्डले ओपन बुक परीक्षासम्बन्धी पाइलट अभ्यास अघि बढाएको छ, विशेष गरी माध्यमिक तहको कक्षा ९ का केही विषयमा नयाँ प्रकारका प्रश्न परीक्षण गर्ने गरी यो प्रणाली अपनाउँदै छ । भारतमा यो चरणबद्ध अभ्यासको अवस्थामा छ ।

यसबाट नेपालले सिक्ने कुरा यो शिक्षाको बदलिँदो यथार्थ हो । तर यसको कार्यान्वयन सफलताका लागि हतारो होइन, सावधानीपूर्वक चरणबद्ध कार्यान्वयन आवश्यक हुन्छ ।

  • खुला किताबी परीक्षामा कस्ता प्रश्न ?

खुला किताबी परीक्षा सफल वा असफल हुने मूल ठाउँ भनेको प्रश्नपत्र डिजाइन हो । यदि पुरानै प्रश्न खुला किताबसहित सोधियो भने त्यसले केवल किताबबाट खोजी–खोजी सार्ने संस्कार बढाउँछ । त्यसैले यस प्रणालीमा सामान्यतया कुनै वास्तविक वा काल्पनिक घटना दिएर त्यसको विश्लेषण गर्न लगाइन्छ । दिइएको समस्याको चरणबद्ध समाधान, विकल्प र औचित्य मागिन्छ ।

दुई सिद्धान्त, नीति, पद्धति वा दृष्टिकोणको तुलना गरेर निष्कर्ष निकाल्न लगाइन्छ । पढेको अवधारणालाई नयाँ सन्दर्भमा प्रयोग गर्न भनिन्छ । कुनै तर्क, नीति, लेख, निर्णय वा तथ्यांकको बलियो र कमजोर पक्ष विश्लेषण गर्नुपर्छ । तालिका, नक्सा, ग्राफ, उद्धरण वा दस्तावेजको अर्थ निकाल्न लगाइन्छ । एउटै सही उत्तर नभई तर्क, प्रमाण र संरचनामा आधारित उत्तर लेख्नुपर्छ ।

उदाहरणका लागि, सामाजिक शिक्षामा 'संघीयता परिभाषित गर' भन्दा 'नेपालको संघीय संरचनाले सेवा प्रवाहमा ल्याएको परिवर्तनलाई एउटा स्थानीय तहको उदाहरणसहित मूल्याङ्कन गर' भन्ने प्रश्न बढी उपयुक्त हुन सक्छ ।

  • नेपालमा लागू गर्दा के–कस्ता चुनौती छन् ?

खुला किताबी परीक्षा राम्रो अवधारणा भए पनि नेपालमा यसको कार्यान्वयनको पाटोमा निकै मेहनत गर्नुपर्ने देखिन्छ । सबैभन्दा ठूलो चुनौती प्रश्नपत्र निर्माण क्षमता हो । शिक्षकलाई प्रश्न निर्माणमा दक्ष बनाउन व्यापक प्रशिक्षण चाहिन्छ ।

दोस्रो चुनौती पढाउने शैली नबदली परीक्षा मात्र बदल्दा अपेक्षित नतिजा आउँदैन । यदि कक्षाकोठामा अझै पनि ‘यति नम्बरमा उत्तर यसरी लेख्ने’ अभ्यास मात्र भयो भने खुला किताबी परीक्षा नामको मात्रै हुन्छ, परिणाम दिँदैन ।

तेस्रो चुनौती समानता हो । नेपालका सबै विद्यालयको स्रोत अवस्था समान छैन । निजी र सहरी विद्यालयमा उपलब्ध सामग्री, पुस्तकालय, डिजिटल पहुँच र शिक्षक सहयोगको स्तर ग्रामीण तथा सामुदायिक विद्यालयमा प्रायः कमजोर छ । खुला किताबी परीक्षा लागू गर्दा सामग्रीको पहुँचमा असमानता भए त्यसले नयाँ विभेद सिर्जना गर्न सक्छ ।

चौथो, परीक्षा व्यवस्थापन र अनुगमनको चुनौती छ । कुन सामग्री अनुमति दिने, मोबाइल वा इन्टरनेटको भूमिका के हुने, नोटको सीमा के हुने, परीक्षा कक्षको नियमन कसरी गर्ने, मूल्याङ्कन मापदण्ड कसरी एकरूप बनाउने– यी सबैमा स्पष्ट नीति चाहिन्छ ।

पाँचौँ, मानसिकता परिवर्तन कठिन छ । अभिभावक, शिक्षक, प्रशासक र कतिपय नीति–निर्माताले अझै ‘किताब हेरेर दिएको परीक्षा के परीक्षा भयो र ?’ भनी शङ्का गर्छन् । सिधै पास भएको प्रमाणपत्र दिए भयो नि भन्न सक्छन् । यो शङ्का स्वाभाविक भए पनि तथ्यले के देखाउँछ भने, खराब डिजाइनको खुला किताबी परीक्षा कमजोर हुन्छ; राम्रो डिजाइनको खुला किताबी परीक्षा धेरै बलियो हुन सक्छ ।

  • नीति निर्माताका लागि स्पष्ट मार्गचित्र

नेपालले यदि खुला किताबी परीक्षातर्फ अघि बढ्ने हो भने हतारमा सम्पूर्ण प्रणाली उल्ट्याउनु हुँदैन । तर बहसमै सीमित रहनु पनि अब पर्याप्त हुने छैन । केही ठोस कदम तुरुन्त लिन सकिन्छ । पहिलो, पाइलट कार्यक्रम सुरु गरिनुपर्छ । कक्षा र विषय छनोट गरेर सीमित दायरामा परीक्षण गर्नुपर्छ । दोस्रो, राष्ट्रिय प्रश्नपत्र रूपरेखा तयार गरिनुपर्छ, जसले उच्चस्तरीय सोच, विश्लेषण, अनुप्रयोग र तर्कमा आधारित नमुना प्रश्नहरू विकास गरोस् ।

तेस्रो, शिक्षक तालिमलाई केन्द्रमा राख्नुपर्छ । यो सुधारको मेरुदण्ड शिक्षक नै हुन् । चौथो, मूल्याङ्कन निर्देशिका स्पष्ट बनाइनुपर्छ । उत्तर जाँच्दा शब्द सङ्ख्या होइन, तर्क, संरचना, सान्दर्भिकता र प्रमाणलाई महत्त्व दिनुपर्छ ।

पाँचौँ, डिजिटल नीति छुट्टै हुनुपर्छ । ओपन बुक भनेको स्वतः अनियन्त्रित इन्टरनेट होइन । प्रारम्भिक चरणमा ‘रिस्ट्रिक्टेड ओपन बुक’ मोडेल– पाठ्यपुस्तक, आफ्ना नोट, स्वीकृत सामग्री– बढी व्यावहारिक हुन सक्छ । छैटौँ, सार्वजनिक संवाद आवश्यक छ ।

  • निष्कर्ष

सिराहामा पानीमा डुबाइएका चार सय ९६ मोबाइल र पाँच स्मार्ट वाच केवल उपकरण मात्र होइनन्, ती हाम्रो परीक्षा प्रणालीका अन्तर्विरोधका प्रतीक हुन् । तिनलाई नष्ट गरेर हामीले लक्षणमाथि कारबाही गर्‍यौँ, कारणमाथि होइन । यदि नेपालले यस घटनाबाट गम्भीर पाठ सिक्ने हो भने अब बहस अनुशासनभन्दा अगाडि बढेर मूल्याङ्कन दर्शनसम्म पुग्नुपर्छ ।

आजको विद्यार्थी ज्ञान सम्झेर मात्र सफल हुँदैन; उसले ज्ञान छान्न, बुझ्न, जाँच्न, जोड्न र जिम्मेवार रूपमा प्रयोग गर्न जान्नुपर्छ । त्यही सीप २१औँ शताब्दीको नागरिक, श्रमिक, अनुसन्धानकर्ता र नेतृत्वकर्ताका लागि अनिवार्य छ । त्यसैले खुला किताबी परीक्षा समयको माग हो ।

नेपालले यदि शिक्षा प्रणालीलाई प्रमाणपत्र उत्पादन गर्ने कारखानाबाट सोच्ने, प्रश्न गर्ने, प्रमाण खोज्ने र समाधान प्रस्ताव गर्ने नागरिक निर्माण गर्ने दिशामा लैजान चाहन्छ भने परीक्षा प्रणाली बदल्नैपर्छ । सिराहाको घटना त्यसका लागि चेतावनी पनि हो, अवसर पनि । अब निर्णय नीति निर्माताको हातमा छ, उनीहरू मोबाइल डुबाएर सन्तुष्ट हुन्छन् कि घोकन्ते शिक्षालाई इतिहासमा डुबाएर नयाँ युगको ढोका खोल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलाराज भट्टराई
लिलाराज भट्टराई
लेखकबाट थप