नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
सारांश
- नागढुंगा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डमा सडक विस्तारको कामले गति लिए पनि विद्युतीय पोल सार्ने विषय आयोजनाका लागि मुख्य अवरोध बनेको छ ।
- मन्त्री लम्सालले पोल सार्ने काममा भएको ढिलाइप्रति कडा आक्रोश व्यक्त गरेपछि यो विषय थप चर्चामा आएको छ ।
- कुल ५०० वटा पोल सार्नुपर्नेमा हाल ७५ देखि ८० वटा पोलहरू सार्न बाँकी रहेको छ र अबको केही हप्ताभित्रै सम्पन्न गर्ने गरी तालिका बनाइँदै छ ।
काठमाडौँ । नागढुंगा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डमा सडक विस्तारको कामले गति लिए पनि विद्युतीय पोल सार्ने विषय आयोजनाका लागि मुख्य अवरोध बनेको छ ।
आयोजनाको कामलाई तीव्रता दिन अनुगमनमा पुगेका पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पोल सार्ने काममा भएको ढिलाइप्रति कडा आक्रोश व्यक्त गर्दै ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु’ भन्नेसम्मको विवादास्पद अभिव्यक्ति दिएपछि यो विषय थप चर्चामा आएको छ ।
पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाका अनुसार, पोल सार्ने काम नहुनुमा मुख्य गरी व्यवस्थापकीय कारण जिम्मेवार रहेको छ । योजना कार्यालयले सडक विस्तार सुरु गर्ने क्रममा पोल सार्ने कामको जिम्मा विद्युत् प्राधिकरण बागमती प्रादेशिक कार्यालयलाई दिएको थियो।
प्राधिकरणले छुट्टै ठेकेदारलाई दिएको छ, तर ती ठेकेदारले समयमै काम सुरु नगर्दा र पर्याप्त जनशक्ति परिचालन नगर्दा पोलहरू यथावत छन्।
कुल ५०० वटा पोल सार्नुपर्नेमा हाल ७५ देखि ८० वटा पोलहरू सार्न बाँकी रहेको छ। मन्त्रीको कडा चेतावनीपछि अहिले विद्युत् प्राधिकरण र सम्बन्धित ठेकेदारलाई तत्काल काम सुरु गर्न थप दबाब सिर्जना गरिएको छ ।
सडक निर्माण कार्य समानान्तर रूपमा अघि बढिरहेकाले पोल सार्ने कामलाई अबको केही हप्ताभित्रै सम्पन्न गर्ने गरी तालिका बनाइँदै छ।
पहिलो प्याकेजको काम करिब ८८ प्रतिशत र दोस्रो प्याकेजको काम करिब ५९ प्रतिशत सम्पन्न भइसकेको छ।
पूर्वी खण्डको पहिलो प्याकेज नागढुंगादेखि नौबिसेसम्मको १२.२६ किलोमिटर सडक खण्ड १ अर्ब ३० करोड रुपैयाँ लागतमा जाङ्सु–सगुन जेभीले २०७८ चैत २९ गते २४ महिनाभित्र स्तरोन्नति सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर पटक–पटक म्याद थप हुँदा पनि सम्पन्न हुन सकेको छैन।
यस्तै दोस्रो प्याकेज नौबिसेदेखि मलेखुसम्म ४३.५२ किलोमिटर जेडआईसीजी–शर्मा–लामा जेभीले २०७९ वैशाख १४ गते ३ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर त्यस अवधिमा नसकिएपछि २०८३ कात्तिकसम्म म्याद थपिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण