नेपालमा डेंगुविरुद्धको खोप कहिले भित्रिन्छ ?
सारांश
- नेपालमा डेंगुविरुद्ध खोप भित्र्याउने सम्बन्धमा सरोकारवालासँग छलफल भए पनि ठोस निष्कर्षमा पुग्न नसकिएको हो ।
- स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले खोप विकासको चरण बुझेर नेपालको जनस्वास्थ्य कार्यक्रम र रणनीतिसँग मिल्न गए प्रक्रिया अघि बढाइने बताए ।
- विश्व स्वास्थ्य संगठनले दुई खोपलाई व्यक्तिगत समूहमा लक्षित गर्न सुझाव दिए पनि एक उत्पादक कम्पनी बन्द भएको र अर्को खोपको प्रभावकारिताबारे थप अध्ययन आवश्यक रहेको छ ।
काठमाडौँ । नेपालमा डेंगुविरुद्धको खोप भित्र्याउने सम्बन्धमा सरोकारवालासँग पटक–पटक छलफल भए पनि हालसम्म यो कार्यान्वयनमा आउन सकेको छैन ।
प्रत्येक वर्ष डेंगु देखिए पनि डेंगुविरुद्धको खोप सहज उपलब्ध हुन सकेको छैन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विश्व स्वास्थ्य संगठन र प्राविधिक रूपमा विज्ञहरूसँग छलफल गरे पनि ठोस निष्कर्षमा पुग्न नसकेको हो ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले खोप विकासको कुन चरणमा गएको भन्नेबारे थप बुझेर नेपालको जनस्वास्थ्य कार्यक्रम र रणनीतिसँग मिल्न गए थप प्रक्रिया अघि बढाइने बताए ।
नेपालमा हरेक वर्ष डेंगु सङ्क्रमण पुष्टि हुन्छ । डेंगुकै कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।
डा.भट्टचनले भने, ‘कीटजन्य रोगको निर्मुल र निराकरण गर्ने स्रोतमै व्यवस्थापन गर्ने एउटा पाटोको कुरा भयो । रोग लागिसकेपछि वा रोग लाग्नुभन्दा अगाडि व्यवस्थापन गर्ने कुरामा खोप पनि टुल हो ।’
डेंगुको समस्या झेलेका विभिन्न मुलुक लगायत अन्तर्राष्ट्रियस्तरमा विभिन्न अनुसन्धानमूलक काम र खोपको विकास गएको भन्ने कुरा आफूलाई थाहा रहेको उनले बताए । तर, खोप विकासको चरण कुन तहमा पुग्यो र हाम्रो जनस्वास्थ्यको कार्यक्रम र रणनीतिसँग मिल्ने रहेछ भने विचार गर्नुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा डेंगु खोप सुरुवात सम्बन्धमा विश्व स्वास्थ्य संगठन र प्राविधिक रूपमा विज्ञहरूसँग छलफल भएको र निष्कर्षमा पुग्न नसकिएको स्वीकार गरेको छ ।
महाशाखाका एक अधिकारीले भने, ‘विश्व स्वास्थ्य संगठनले दुई वटा खोपलाई मास भ्याक्सिनेसन ग्रुपमा होइन कि व्यक्तिगत समूहमा लक्षित समूहलाई लगाउन मिल्ने विश्वव्यापी सुझाव दिएको थियो ।’ त्योमध्ये एउटा खोप ‘डेंगभ्याक्सिया’ उत्पादन गर्ने कम्पनी नै बन्द भएको र अर्को टकेडा भन्ने समूहले खोप बनाएको उनले बताए ।
ती अधिकारीका अनुसार डेंगुमा खासगरी चार वटा सेरोटाइप हुन्छन् । त्योमध्ये दुई वटा सेरोटाइपमा सो खोपको कार्यक्षमता देखिएको उनले जानकारी दिए । बाँकी दुई वटा सेरोटाइपमा प्रभावकारिताको थप अध्ययन भइरहेको उनको भनाइ छ ।
‘त्यसले गर्दा नेपालमा चार वटै सेरोटाइप देखिएका छन् । त्यो खोप पनि १६ वर्ष उमेर समूहसम्मलाई मात्रै लगाउँदा प्रभावकारी बढी हुन्छ भनिएको छ । १६ वर्षभन्दा बढी उमेर समूहलाई कम प्रभावकारिता हुन्छ भन्नेछ,’ उनले भने, ‘नेपालको सन्दर्भमा हेर्दा डेंगु प्रभावित धेरैजसो १५ वर्षभन्दा बढी उमेर समूहको छ । चार वटै सेरोटाइपमा सर्कुलेसन भएपछि त हामीले दुई वटा सेरोटाइपका लागिमात्र काम गर्ने खोप ल्याएर पनि भएन ।’
डेंगु भाइरस विभिन्न किसिमको हुन्छ, जसलाई सेरोटाइप भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा डेंगु १, २, ३ र ४ गरी चार वटा सेरोटाइपको सङ्क्रमण देखिएको छ । सन् २०१५ मा विकसित भएको ‘डेंगभ्याक्सिया’ (सी.वाइ.डी.–टी.डी.भी.) डेंगुविरुद्ध प्रमाणित भएको विश्वकै पहिलो खोप हो ।
ती अधिकारीले विभागले विज्ञ, भ्याक्सिन बनाउने टिमको उपस्थितिमा समेत छलफल गरेको बताए । उनले भने, ‘यस विषयमा धेरै छलफल पनि भयो । दुई वर्ष अगाडि पनि छलफल भएको थियो । हामीले डेंगुविरुद्ध खोप ल्याउन सकिन्छ कि, प्रयोग गर्न सकिन्छ कि भनेर छलफल गरेका हौंँ ।’
यद्यपि ती छलफल कुनै पनि निष्कर्षमा पुग्न नसकेको उनले बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । एडिस एजिप्टाई÷एलबोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । नेपालमा पहिलो पटक सन् २००४ मा डेंगु सङ्क्रमण भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण