बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ

बिहीबार, ०४ असार २०८३, १२ : २७
बिहीबार, ०४ असार २०८३

सारांश

  • आलिया भट्टले 'कल्की २८९८ एडी' को दोस्रो भागमा दीपिका पादुकोणलाई रिप्लेस गर्ने खबरलाई निर्माण पक्षले निराधार भनेको छ।
  • निर्माण पक्षका प्रवक्ताले आलियाको कास्टिङको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि नभएको स्पष्ट पारेका छन्।
  • दीपिका पादुकोणले आमा बनेपछि दैनिक ८ घण्टा मात्र काम गर्ने माग राखेकाले उनलाई 'कल्की' र 'स्पिरिट' दुवै फिल्मबाट निकालिएको थियो।

मुम्बई । यशराज फिल्म्सको बहुप्रतिक्षित फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक भएपछि ट्रोलको सिकार बनेकी आलिया भट्टले ‘कल्की २८९८ एडी’ को दोस्रो भागमा दीपिका पादुकोणलाई रिप्लेस गर्ने खबर पक्का नभएको बताइएको छ।

आलिया उक्त फिल्ममा अनुबन्धित भएको र सुटिङसमेत सुरु गरिसकेको भन्ने दाबीलाई फिल्मसँग जोडिएका प्रवक्ताले पूर्ण रूपमा निराधार भनेका छन् । ती प्रवक्ताले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै आलियाको कास्टिङको खबरबारे प्रस्ट पारेका छन् ।

उनले भनेका छन्, ‘यसको आधिकारिक पुष्टि भएको छैन। कसैले सामाजिक सञ्जालमा यो कुरा पोस्ट गरिदियो र बाँकी मानिसहरूले त्यसैलाई समाचार मानेर कपि–पेस्ट गर्न थाले। उनको कास्टिङलाई लिएर हालसम्म कुनै स्पष्ट जानकारी छैन।’ 

प्रवक्ताले आलियाले केही समयअघि मात्रै फिल्मको ५ दिनसम्म सुटिङ गरेको भन्ने दाबीलाई पनि गलत र आधारहीन बताएका छन्। सन् २०२५ को सेप्टेम्बरमा ‘कल्की’ का निर्माताहरूले आधिकारिक विज्ञप्ति जारी गर्दै दीपिका पादुकोण फिल्मको दोस्रो भाग मा नहुने जानकारी दिएका थिए। पछि खुलासा भएअनुसार, आमा बनेपछि दीपिकाले फिल्ममा काम गर्नका लागि दैनिक ८ घण्टा मात्र काम गर्ने माग राखेकी थिइन्।

यही मागका कारण उनलाई ‘कल्की’ सँगै सन्दीप रेड्डी वाङ्गाको फिल्म ‘स्पिरिट’ बाट पनि निकालिएको थियो। यो खबर बाहिरिएपछि ८ घण्टे सिफ्टको विषयलाई लिएर फिल्म वृत्तमा ठुलो बहस नै चलेको थियो।

यसैबिच, हालै यशराज फिल्म्सको स्पाई युनिभर्सअन्तर्गत पहिलो महिला मुख्य भूमिका रहेको फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक भएको थियो। टिजरमा यो फिल्मको कथा आफ्नै मौलिक भएको दाबी गरिए पनि यसका धेरै दृश्यहरू हलिउड फिल्मसँग मिल्दोजुल्दो देखिएका थिए ।

यसबाहेक ‘अल्फा’ को पोस्टर पनि धेरै हदसम्म चर्चित हलिउड फिल्म ‘ड्युन’ सँग मिल्ने गरी बनाइएको थियो। दृश्य र पोस्टर हुबहु सारिएको भन्दै सामाजिक सञ्जालमा फिल्मको टिजर र आलियाको कडा आलोचना भएको थियो।

यद्यपि, आलिया भट्ट, शर्वरी वाघ र बबी देओल स्टारर फिल्म ‘अल्फा’ को ट्रेलर भने रिलिज भइसकेको छ। एक्सन र एडभेन्चरले भरिपूर्ण यस फिल्ममा अभिनेता ऋतिक रोशनको पनि क्यामियो भूमिका रहनेछ। ऋतिक यसअघि यशराज फिल्म्सको स्पाई युनिभर्सकै सुपरहिट फिल्म ‘वार’ र ‘वार २’ को हिस्सा रहिसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप