शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पाकिस्तान क्रिकेट बोर्डको ऐतिहासिक घोषणा : टेस्ट खेलाडीको म्याच फि दोब्बर हुने, नयाँ कन्ट्राक्ट प्रणाली लागू

शुक्रबार, ०५ असार २०८३, १४ : ०८
शुक्रबार, ०५ असार २०८३

सारांश

  • पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले २०२६-२७ को सेन्ट्रल कन्ट्राक्टमा खेलाडीहरूको म्याच फि दोब्बरभन्दा बढी गर्ने ऐतिहासिक निर्णय गरेको छ ।
  • नयाँ प्रणालीमा खेलाडीहरूलाई टेस्ट, एकदिवसीय र टी-२० गरी तीन फरक ट्र्याकमा वर्गीकरण गरिनेछ, जसमा टेस्ट खेलाडीहरूलाई सर्वाधिक फाइदा हुनेछ ।
  • पीसीबीले आईसीसी प्रतियोगिता जितेमा खेलाडीहरूलाई म्याच फिको ५०० प्रतिशतसम्म बोनस दिने प्रस्ताव गरेको छ ।

इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी २०२६-२७ को सेन्ट्रल कन्ट्राक्ट चक्रमा ठुलो र ऐतिहासिक परिवर्तन गर्ने तयारी गरेको छ । नयाँ फम्र्याटमा आधारित कन्ट्राक्ट प्रणाली अनुसार टेस्ट क्रिकेट खेल्ने खेलाडीहरूको म्याच फि दोब्बरभन्दा बढी गरिने भएको छ । 

यस अन्तर्गत रेड-बल अर्थात् टेस्ट क्रिकेटको ‘ट्र्याक-ए’ मा रहेका खेलाडीहरूको प्रतिम्याच फि १५ लाख पाकिस्तानी रुपैयाँबाट बढाएर करिब ४० लाख रुपैयाँ पुर्‍याइने सम्भावना छ ।

पीसीबीका अनुसार यदि पाकिस्तान टोलीले कुनै पनि आईसीसी प्रतियोगिताको उपाधि जितेमा खेलाडीहरूलाई म्याच फिको ५०० प्रतिशत अतिरिक्त बोनस दिइने छ । त्यसै गरी एसिया कप जस्ता महादेशीय स्तरका प्रतियोगिता जितेमा ३०० प्रतिशत बोनस दिने प्रस्ताव गरिएको छ ।

पीसीबीले पहिलोपटक फम्र्याटमा आधारित सेन्ट्रल कन्ट्राक्ट लागू गर्ने निर्णय गरेको हो । यसअघि खेलाडीहरूलाई ए, बी, सी र डी श्रेणीमा राखिन्थ्यो, तर अब उनीहरूको खेलको विधाका आधारमा छुट्टाछुट्टै ट्र्याकमा वर्गीकरण गरिने छ । ‘ट्र्याक-ए’ मा टेस्ट खेलाडीहरू रहने छन् भने ‘ट्र्याक-बी’ मा एकदिवसीय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीहरू पर्ने छन् । 

त्यस्तै मुख्य रूपमा टी-२० र फ्रेन्चाइज क्रिकेट खेल्ने खेलाडीहरूलाई ‘ट्र्याक-सी’ मा राखिने छ । पीसीबी अध्यक्ष मोहसिन नकवीले आधुनिक क्रिकेटको आवश्यकतालाई ध्यानमा राखेर यो नयाँ कन्ट्राक्ट प्रणाली तयार गरिएको बताएका छन् ।

यस प्रणालीबाट टेस्ट र ह्वाइट-बल दुवै फम्र्याट खेल्ने खेलाडीहरूलाई सबैभन्दा बढी फाइदा हुने छ, किनभने उनीहरू ट्र्याक-ए र ट्र्याक-बी दुवैमा सामेल हुन पाउने छन् । त्यस्ता खेलाडीले म्याच फिका अलावा प्रतिमहिना करिब ४८ देखि ५० लाख पाकिस्तानी रुपैयाँसम्म रिटेनर शुल्क पाउने छन् । 

केवल ट्र्याक-बी मा मात्र समेटिएका एकदिवसीय र टी-२० खेलाडीले प्रतिमहिना १८ लाख र ट्र्याक-सी का खेलाडीले १२ देखि १५ लाख पाकिस्तानी रुपैयाँ पाउने सम्भावना छ । यद्यपि यस प्रणाली अन्तर्गत कति खेलाडीलाई कन्ट्राक्ट दिइने छ भन्ने कुरा पीसीबीले अझै स्पष्ट पारेको छैन ।

यसपटक कन्ट्राक्ट पाउने खेलाडीहरूको नाम र उनीहरूको ग्रेड सार्वजनिक नगर्ने विषयमा पनि पीसीबीले छलफल गरिरहेको छ । यस्तो निर्णय भएमा पाकिस्तान क्रिकेटको इतिहासमा यो पहिलो घटना हुने छ, तर यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।

अध्यक्ष नकवीले कन्ट्राक्ट पाउनका लागि सबै खेलाडीले घरेलु क्रिकेट खेल्न अनिवार्य गरिएको जानकारी दिएका छन् । खेलाडीको कन्ट्राक्ट र ग्रेड निर्धारण उनीहरूको प्रदर्शन र फिटनेसको स्तरका आधारमा मात्र हुने छ । टोली छनोट प्रक्रियालाई पारदर्शी र उत्कृष्ट बनाउन अब ८५ प्रतिशत महत्त्व डाटा विश्लेषणलाई र १५ प्रतिशत मात्र छनोटकर्ताहरूको सिफारिसलाई दिइने नीति बनाइएको छ । 

क्रिकेट सम्बन्धी मामिलामा पूर्वखेलाडीहरूको भूमिका बढाउन सल्लाहकार प्यानलमा थप ३ देखि ४ जना अन्तर्राष्ट्रिय खेलाडीहरू थप्ने पीसीबीको तयारी छ । हाल यस समूहमा पूर्वकप्तान मिस्बाह-उल-हक र सरफराज अहमद छन् भने युनिस खान र मोहम्मद हफिजको नाम पनि सम्भावित सल्लाहकारको रूपमा हेरिएको छ ।

यसैबिच, पाकिस्तान महिला क्रिकेट टोलीकी पूर्वकप्तान निदा डारले झन्डै एक वर्षको विश्रामपछि क्रिकेटमा पुनरागमनको घोषणा गरेकी छन् । ३९ वर्षकी निदाले गत अप्रिल २०२५ मा मानसिक स्वास्थ्यको कारण देखाउँदै क्रिकेटबाट अनिश्चितकालीन ब्रेक लिएकी थिइन् । 

पाकिस्तानका लागि ११२ एकदिवसीय र १६० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी निदाले सामाजिक सञ्जालमार्फत आफू अब टोलीका लागि उपलब्ध रहेको र आवश्यकता अनुसार आफ्नो उत्कृष्ट प्रदर्शन दिन तयार रहेको बताएकी छन् । उनी अन्तिम पटक सन् २०२४ को महिला टी-२० विश्वकपमा खेलेकी थिइन् र पछि उनलाई सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राखिएको थियो । सन् २०२३ को विश्वकपपछि उनलाई कप्तान बनाइए पनि २०२४ को विश्वकपअघि उनको स्थानमा फातिमा सनालाई कप्तानी सुम्पिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप