शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
अदालत

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा यातायातका तत्कालीन अधिकृत गौतम दोषी ठहर, १ वर्ष कैद सजाय

शुक्रबार, ०५ असार २०८३, १६ : २९
शुक्रबार, ०५ असार २०८३

सारांश

  • यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
  • विशेष अदालतले गौतमलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना र गैरकानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ ।
  • अदालतले गौतमको २०५५ देखि २०७९ सम्मको आय-व्यय विश्लेषण गर्दा वैध आयभन्दा १ करोड ८ लाख रुपैयाँभन्दा बढी व्यय भएको निष्कर्ष निकालेको छ ।

काठमाडौँ । यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार गौतमलाई १ वर्ष कैद र १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँभन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले गैरकानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति जफत हुने पनि फैसला गरेको छ ।

यस्तै, ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम गौतमबाट ४ लाख ३२ हजार ७३ रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउनुपर्ने आदेश दिएको छ ।

अदालतले गौतमको सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५५ वैशाख ६ गतेदेखि २०७९ चैत २४ गतेसम्मको आय–व्यय विश्लेषण गरेको थियो । सो क्रममा गौतमको कुल वैध आय ३ करोड ४७ लाख ८६ हजार ३८२ रुपैयाँ ३१ पैसा रहेको र कुल व्यय ४ करोड ५५ लाख ८८ हजार २२० रुपैयाँ ५५ पैसा पुगेको निष्कर्ष निकालिएको छ ।

वैध आयभन्दा व्यय बढी देखिएपछि अदालतले १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ २४ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरिएको ठहर गरेको हो ।

फैसलाअनुसार गौतमले हार्भेस्टर भाडा, सुन बिक्री तथा घरका कवाडी सामान बिक्रीबाट भएको भनिएको केही आम्दानीलाई अदालतले स्वीकार गरेको छ । तर वैधानिक स्रोत पुष्टि हुन नसकेको ठूलो रकमलाई भ्रष्टाचारजन्य आम्दानी मानेको छ ।

गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरीत गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा साढे २ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले २०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको अख्तियारको ठहर थियो ।

मुद्दामा गौतमकी पत्नी सरला नेपाललाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति श्रीमतीको नाममा राखी सम्पत्ति विवरणमा लुकाइएको अख्तियारको आरोप थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप