आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रोबोट नै भिख माग्न बसेपछि...

आइतबार, ०७ असार २०८३, १९ : ४२
आइतबार, ०७ असार २०८३

सारांश

  • कृत्रिम बौद्धिकतामा आधारित रोबोटहरूले चीनका सडकमा भिख माग्न थालेका छन्।
  • रोबोटहरूलाई वास्तविक भिखारीजस्तै मुद्रामा राखिएको र डिजिटल भुक्तानीका लागि क्यूआर कोड समेत राखिएको छ।
  • यस घटनाले कृत्रिम बौद्धिकताको बढ्दो हस्तक्षेपबारे व्यापक बहस सिर्जना गरेको छ।

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई)मा आधारित एजेन्ट र रोबोटहरूले मानिसहरूको रोजगारी खोस्न सक्ने चर्चा लामो समयदेखि हुँदै आएको छ। 

तर अब सडकमा भिख माग्ने कामसमेत रोबोटले गर्न थालेको दृश्य देखिन थालेपछि धेरै मानिस अचम्ममा परेका छन् । हङकङस्थित समाचार वेबसाइट एचके०१ का अनुसार हालै बेइजिङ, छेङ्दु र फुजोउ लगायतका चिनियाँ सहरका सडकमा मानवरूपी रोबोटहरू भिख मागिरहेको अवस्थामा देखिएका छन् । यसले यो घटना कुनै एक स्थानमा सीमित नभई सम्भावित नयाँ प्रवृत्तिको सङ्केत हुन सक्ने अनुमान गरिएको छ।

तस्बिरहरूमा रोबोटहरूलाई वास्तविक भिखारीजस्तै मुद्रामा राखिएको देखिन्छ । केही रोबोट घुँडा टेकेर टाउको झुकाएर बसेका छन् भने केही आफ्ना मानव मालिक अगाडि झुकेर बसेका छन्।

उनीहरूको अगाडि राखिएका सन्देशहरूमा ‘मेरो फोन चार्ज गर्न पैसा छैन’, ‘कृपया मेरो बिजुलीको बिल तिरिदिनुस्’ जस्ता वाक्यहरू लेखिएका छन्। 

साथै, डिजिटल भुक्तानीका लागि क्यूआर कोड समेत राखिएको देखिन्छ । रोबोट भिखारीका तस्बिरहरू चीनमा सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएका छन्।

यसले एआई र रोबोट प्रविधिले मानव जीवनका हरेक क्षेत्रमा हस्तक्षेप गर्न थालेको भन्दै व्यापक बहस सिर्जना गरेको छ। एक पक्षले यसलाई भविष्यप्रतिको चिन्ताजनक सङ्केतका रूपमा हेरेको छ भने अर्को पक्षले यस्ता दृश्य वास्तविक नभई प्रचारात्मक वा कलात्मक प्रदर्शन मात्र हुन सक्ने तर्क गरेको छ।

विशेषज्ञहरूका अनुसार युनिट्री कम्पनीका जी–१ र एच–२ जस्ता मानवरूपी रोबोटहरू बजारका अत्याधुनिक मोडेलमध्ये पर्छन्। तर यस्ता रोबोटको मूल्य निकै महँगो हुने भएकाले तिनलाई सडकमा भिक्षा माग्न प्रयोग गर्नु आर्थिक रूपमा तर्कसङ्गत देखिँदैन ।

केही विश्लेषकहरूले यो ध्यान आकर्षित गर्ने उद्देश्यले गरिएको प्रदर्शन हुन सक्ने बताएका छन्। कतिपयले यी अनौठा दृश्यहरूलाई आर्ट इन्स्टलेसनको रूपमा व्याख्या गरेका छन्। 

उनीहरूका अनुसार यसको उद्देश्य मानिस र कृत्रिम बुद्धिमत्तायुक्त रोबोटबिच विकसित हुँदै गएको जटिल तथा कहिलेकाहीँ हास्यास्पद सम्बन्धबारे सोच्न बाध्य पार्नु हुन सक्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप