आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा प्रथम महाधिवेशन

रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ

आइतबार, ०७ असार २०८३, १९ : ५४
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा उद्घाटन गर्‍यो।
  • महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख प्रतिपक्षी दलका नेताहरूसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति थियो।
  • महाधिवेशनस्थलमा अत्यधिक गर्मीका कारण मोही र दही लिनको लागि तछाडमछाड देखियो भने कार्यक्रमस्थल डुबानमा परेपछि उद्घाटन दुई घण्टा ढिलो भएको थियो।

चितवन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतबार चितवनमा भव्य रूपले गर्‍यो ।

जिल्ला प्रहरी कार्यालयको अगाडिपट्टि रहेको गेस्ट हाउस चौरमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले घन्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा आमन्त्रित पाहुनाहरूले पनि संयुक्त रूपमा घन्टी बजाउँदा महाधिवेशनमा उपस्थितहरूले ताली बजाएर स्वागत गरेका थिए । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अभूतपूर्व नतिजा निकालेर सत्ताको नेतृत्व गरेको रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो ।

उद्घाटन समारोहमा सबैभन्दा आकर्षणको केन्द्र सभापति रवि र वरिष्ठ नेता बालेन नै थिए । रास्वपामा समायोजन भएपछि पार्टी गतिविधिमा विरलै देखिएका बालेन महाधिवेशनमा सहभागी हुन्छन् कि हुँदैनन् ? सहभागी भएपछि सम्बोधन गर्छन् कि गर्दैनन् भन्नेमा धेरैको चासो थियो । 

उसो त मञ्चमा बसिरहँदा रवि र बालेनले आपसमा खासखुस गरिरहेको दृश्य दर्शदीर्घबाट उत्सुकताका साथ हेरिरहेका थिए । महाधिवेशनको उद्घाटन सत्रका क्रममा केही रोचक दृश्य पनि देखिए । 

रवि र बालेनको डमी

रूपन्देहीका विष्णु घिमिरे बालेनको गेटअपमा महाधिवेशनमा सहभागी हुन आएका थिए । सँगै रविको गेटअपमा अर्का एक युवा थिए । दुवै जनाले आफ्नो परिचय दिन मानेका थिएनन् । अन्त्यमा बालेनका डमीले आफू बालेनको फ्यान भएर गेटअफ नक्कल गरेको जवाफ दिए ।

रविको डमीले भने प्रतिक्रिया दिन मानेनन् । एकसाथ डमी रवि र बालेन देखिँदा फोटो खिच्नेको तँछाडमछाड थियो । तर तल दर्शक दीर्घबाट डमी रवि–बालेनले वास्तविक रवि बालेनलाई नै नियालिरहेका थिए ।

मोहीको मोह

महाधिवेशनस्थलमा श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले बाँडेको मोही लिन तँछाडमछाड भइरहेको दृश्य पनि रोचक थियो । अत्यधिक गर्मीका कारण मोही, दहीको माग बढेको थियो । त्यही मोही नेतादेखि महाधिवेशन प्रतिनिधिसम्मलाई वितरण गरिएको थियो । 

गर्मीसँगै वर्षा

वर्षाका कारण कार्यक्रमस्थल डुबानमा परेपछि दुई घण्टा ढिलो गरी उद्घाटन समारोह सुरु भएको थियो । मञ्च व्यवस्थापनको काम नसकिँदै शनिबार बेलुका आएको वर्षाले कार्यक्रस्थल जलमग्न भएको थियो । मोटरबाट पानी तान्दासमेत नसुकेपछि क्रसरको चिप्स ल्याएर बिछ्याइएको थियो ।

कार्यक्रममा शुभकामना दिन आएका पाउनामध्ये अधिकांसले रास्वपा समर्थकहरूबाट स्वागत पाउँदा एमालेका नेता प्रदिप ज्ञवाली बोल्दा भने केही विरोध जनाएका थिए । कार्यक्रममा पूर्वप्रधामन्त्री भट्टराई, सीके राउत, वर्षमान पुन, गगन थापाबाट सकारात्मक सुझाव आएको रास्वपा नेता तथा कार्यकर्ताहरूले प्रतिक्रिया दिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप