सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै

सोमबार, ०८ असार २०८३, ०३ : ३६
सोमबार, ०८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को समूह 'एच' अन्तर्गत आज दक्षिण अमेरिकी टोली उरुग्वे र अन्डरडग केप भर्डेबीच खेल हुँदैछ ।
  • स्पेनलाई बराबरीमा रोक्दै विश्वलाई चकित पारेको केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हा आज आमाकै अगाडि उरुग्वेका स्ट्राइकरहरूलाई रोक्ने दाउमा हुनेछन् ।
  • आजको खेल जित्ने टोली ४ अंकका साथ शीर्ष स्थानमा रहनेछ र अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को प्रतीक्षित खेलमा आज दक्षिण अमेरिकी शक्ति राष्ट्र उरुग्वे र यसै विश्वकपको ‘अन्डरडग’ टोली केप भर्डे बिच प्रतिस्पर्धा हुँदैछ । मियामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार सोमबार बिहान ३ः४५ बजे सुरु भएकाे हाे ।

पहिलो पटक विश्वकपमा सहभागिता जनाइरहेको केप भर्डेले आफ्नो पहिलो खेलमै युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेर विश्वलाई चकित पारेको थियो । उक्त खेलमा ४० वर्षीय अनुभवी गोलरक्षक भोजिन्हाले सातवटा उत्कृष्ट बचाउ गर्दै टोलीलाई ऐतिहासिक अंक दिलाएका थिए । ४० वर्षभन्दा बढी उमेरमा एउटै खेलमा यति धेरै बचाउ गर्ने उनी सन् १९८६ मा १० वटा सेभ गर्ने उत्तरी आयरल्यान्डका प्याट जेनिङ्सपछिका दोस्रो गोलरक्षक बनेका छन् ।

आजको खेल गोलरक्षक भोजिन्हाका लागि विशेष र भावनात्मक हुनेछ । आर्थिक कारणले भिसा शुल्क तिर्न नसक्दा अमेरिका आउन नपाएकी उनकी आमा आना क्यान्डिडा एभोरा आज मियामी स्टेडियमको प्यारापिटमा उपस्थित हुनेछिन् । अमेरिकी नेता हाकिम जेफ्रीज र विदेशमन्त्री मार्को रुबियोको पहलमा उनलाई विशेष भिसा र यात्राको व्यवस्था मिलाइएको हो । पहिलो खेलमा आमाको अनुपस्थिति खड्किएको बताएका भोजिन्हा आज आमाकै अगाडि उरुग्वेका स्ट्राइकरहरूलाई रोक्ने दाउमा हुनेछन् ।

यसअघि आइतबार राति भएको यही समूहको खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० को सानदार जित निकाल्दै २ खेलबाट ४ अंकका साथ शीर्ष स्थान ओगटेको छ । उरुग्वेले आफ्नो पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको थियो ।

आजको खेल जित्ने टोली ४ अंकका साथ स्पेनसँगै शीर्ष स्थानमा रहनेछ । केप भर्डे आफ्नो रक्षात्मक रणनीति र भोजिन्हाको ‘म्याजिक’ मार्फत पुनः सुखद नतिजा निकाल्न चाहन्छ भने उरुग्वे आफ्नो पहिलो जितको खोजीमा छ । पहिलो खेलमा १ अंक जोडेको उरुग्वे र ऐतिहासिक डेब्यु गरेको केप भर्डे दुवैका लागि यो खेल अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन निकै महत्त्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप