परेराको कीर्तिमान तोड्दै वैभव सूर्यवंशीले रचे इतिहास
सारांश
- किशोर क्रिकेट खेलाडी वैभव सूर्यवंशीले भारत 'ए' का लागि खेल्दै ११ बलमा अर्धशतक प्रहार गरी लिस्ट-ए ५० ओभर क्रिकेटमा नयाँ विश्व कीर्तिमान राखेका छन्।
- सूर्यवंशीले श्रीलंका 'ए' विरुद्धको खेलमा २९ बलमा १० चौका र ८ छक्का प्रहार गर्दै ९४ रनको विस्फोटक इनिङ्स खेले।
- यसअघि ५० ओभर क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान श्रीलङ्काका थिसारा परेराको नाममा १३ बलमा थियो।
नयाँ दिल्ली। किशोर क्रिकेट खेलाडी वैभव सूर्यवंशीले भारत ‘ए’ का लागि खेल्दै केवल ११ बलमा अर्धशतक प्रहार गरेर लिस्ट–ए ५० ओभर क्रिकेट इतिहासकै सबैभन्दा छिटो अर्धशतकको नयाँ विश्व कीर्तिमान बनाएका छन्।
१५ वर्षीय सूर्यवंशीले श्रीलंका ‘ए’ विरुद्ध भारत ‘ए’ का लागि खेल्ने क्रममा २९ बलमा ९४ रनको विस्फोटक इनिङ्स खेले। भारतले ९ विकेट गुमाएर ३७७ रन बनाएको उक्त खेलमा उनले १० चौका र ८ छक्का प्रहार गरे। उनले अर्धशतक पूरा गर्ने क्रममा केवल एक बलमा मात्र रन बनाउन सकेनन्। बाँकी १० बलमा उनले ५ चौका र ५ छक्का प्रहार गर्दै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।
यसअघि ५० ओभर क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान श्रीलङ्काका थिसारा परेराको नाममा थियो। परेराले सन् २०२१ मा श्रीलङ्का आर्मीका लागि खेल्दा १३ बलमा अर्धशतक बनाएका थिए। अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा भने दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र वेस्ट इन्डिजका म्याथ्यु फोर्डले १६–१६ बलमा अर्धशतक बनाएका थिए।
सूर्यवंशीको यो विस्फोटक इनिङ्स त्यही दिन आएको हो, जुन दिन उनलाई इङ्ग्ल्यान्डविरुद्धको आगामी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाका लागि भारतको मुख्य टोलीमा समावेश गरिएको थिएन।
यद्यपि, उनी आगामी महिना आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध हुने टी–२० शृङ्खलाका लागि भने भारतीय टोलीमा परेका छन्। जहाँ उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न सक्ने बलियो सम्भावना छ। यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक रन बनाउने ब्याटर बनेपछि उनको क्रिकेट यात्रा अझ तीव्र गतिमा अगाडि बढेको छ।
अर्कातर्फ, ह्यामस्ट्रिङ चोटबाट निको भएर फिटनेस परीक्षण पार गरेमा अनुभवी ब्याटर विराट कोहली एकदिवसीय टोलीमा फर्किन सक्छन्। टोलीमा तीव्र गतिका बलर जसप्रित बुमराह पनि सामेल छन् तर युवा ब्याटर यशस्वी जैसवाल र अलराउन्डर हार्दिक पाण्ड्या भने यस पटक टोलीमा पर्न सफल भएनन्।
भारत र आयरल्यान्डबिचको पहिलो टी–२० खेल २६ जुनमा हुनेछ। त्यसपछि १ जुलाईदेखि इङ्ग्ल्यान्डविरुद्ध पाँच खेलको टी–२० शृङ्खला सुरु हुनेछ भने तीन खेलको एकदिवसीय शृङ्खला १४ जुलाईदेखि खेलिने तालिका रहेको छ।
इङ्ग्ल्यान्डविरुद्ध भारतको एकदिवसीय टोली:
शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली (फिटनेस स्वीकृतिको अधीनमा), श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), ईशान किशन (विकेटकिपर), वासिङ्टन सुन्दर, अक्षर पटेल, नितिश कुमार रेड्डी, कुलदीप यादव, जसप्रित बुमराह, प्रसिद्ध कृष्णा, हर्षित राणा, अर्शदीप सिंह र गुरनूर बरार।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण