आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
सारांश
- चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ ।
- आयातको तुलनामा निर्यातको आकार सानो हुँदा वैदेशिक व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।
- यस अनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको आयात गरेको देखिन्छ ।
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउनदेखि जेठसम्म) मा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ ।
तर आयातको तुलनामा निर्यातको आकार सानो हुँदा वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १५.६७ प्रतिशतले बढेको छ ।
विभागका अनुसार यस अवधिमा देशको कुल व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।
भन्सार विभागकाअनुसार ११ महिनाको अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको आयातको तुलनामा १५.१६ प्रतिशत बढी हो । अघिल्लो वर्षको यसै अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
यसैगरी, यस अवधिमा नेपालको निर्यात व्यापारमा १२.२८ प्रतिशतको वृद्धि देखिएको छ । २०८१/८२ को ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा, २०८२/८३ को ११ महिनामा निर्यात बढेर २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँ पुगेको छ।
निर्यात बढे तापनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने केही संकुचित भएको छ । कुल व्यापारमा निर्यातको हिस्सा गत वर्ष १३.०८ प्रतिशत रहेकोमा यस वर्ष १२.८० प्रतिशतमा सीमित भएको छ । अर्कोतर्फ, आयातको हिस्सा भने ८६.९२ प्रतिशतबाट वृद्धि भई ८७.२० प्रतिशत पुगेको छ।
आयात र निर्यात दुवै तर्फको वृद्धि सँगै कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको कुल व्यापार (१८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ) को तुलनामा १४.७८ प्रतिशत बढी हो।
व्यापारको खाडल फराकिलो बन्दै जाँदा आयात–निर्यात अनुपात पनि सामान्य बढेको छ । भन्सार विभागका अनुसार अहिले आयात–निर्यात अनुपात ६.८१ पुगेको छ, जुन अघिल्लो वर्षको यसै अवधिमा ६.६४ रहेको थियो।
यस अनुसार नेपालले अहिले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको आयात गरेको देखिन्छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण