धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभाव
सारांश
- मधेसका किसानहरू धान रोपाइँको चटारोमा सिँचाइ र रासायनिक मलको अभाव झेलिरहेका छन् ।
- पर्याप्त वर्षा नहुँदा खेतमा पानीको अभाव छ भने रासायनिक मलको सहज उपलब्धता नहुँदा किसानहरू चिन्तित छन् ।
- प्रदेश सरकारले मल वितरण गरेको दाबी गरे पनि अधिकांश डिपो र उपभोक्तासम्म पुग्न नसकेको गुनासो छ ।
जनकपुरधाम । असार लागेसँगै किसानहरु धान रोपाइँको चटारोमा छन् । मधेसका किसान भने धान रोप्ने समयमै रासायनिक मल र सिँचाइको अभाव झेलिरहेका छन् ।
सिँचाइ सुविधा नभएका क्षेत्रमा आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता हुन्छ । पर्याप्त वर्षा नहुँदा खेतमा आवश्यक पानीको अभाव भएको छ भने रासायनिक मलको सहज उपलब्धता नहुँदा किसानहरू चिन्तित छन् ।
कतिपय स्थानमा सिँचाइ सुविधा भए पनि अधिकांश क्षेत्रमा सिँचाइ प्रणाली कमजोर भएकाले किसानहरू आकाशे पानीको प्रतीक्षामा बस्न बाध्य भएका छन् ।
मधेस प्रदेशका धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा, रौतहट जिल्लामा सबैभन्दा बढी धान खेती हुने गर्दछ ।

यस वर्ष बदलिँदो मौसम र अनियमित वर्षाले किसानको चिन्ता थप बढाएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० का विजयप्रसाद राउत चार बिघा खेतमा धान खेती गर्छन् । उनले भने, 'आज केही खेतमा रोपाइँ गरियो, तर मल कहाँबाट ल्याउने ? रोपिएको धानमा मल आवश्यक छ । डिपोमा जाँदा मल छैन भनेर फर्काइदिन्छन् ।'
यता जनकपुरधाम उपमहानगरपालिका–२४ का बद्री साहले अरूको बोरिङबाट पानी ल्याएर धान रोपाइँ गरे पनि मल पाउन नसेको गुनासो गरे । समयमा पानी र मल उपलब्ध नहुँदा बाली राम्रो नहुने चिन्ताले सताएको उनको गुनासो छ ।
त्यस्तै जलेश्वर उपमहानगरपालिका-१० का राघव ठाकुरले पनि मल र सिँचाइको उपलब्धता नहुँदा खेती गर्न गाह्रो भएको सुनाए ।
बलवा नगरपालिका–७ का सीताशरण पण्डितको गुनासो पनि उस्तै छ । 'भोट माग्ने बेलामा समयमा मल दिन्छु, बोरिङ दिन्छु, सिँचाइको व्यवस्था गर्छु भनेर बाचा गर्छन्, तर अहिले हामी समस्यामा पर्दा कोही आउँदैनन्,' उनले भने ।
मधेस प्रदेशका अधिकांश जिल्लामा यस्तै समस्या देखिएको छ ।

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बर्खे धानलाई लक्षित गर्दै ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी मल प्रदेशका १३६ वटै स्थानीय तहमा वितरण गरिसकेको जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट प्राप्त डीएपी मल स्थानीय तहमा पठाइसकिएको भए पनि अधिकांश स्थानमा डिपो र उपभोक्तासम्म मल पुग्न सकेको छैन ।
जनकपुरधाम उपमहानगरपालिका–२३ का डिपो सञ्चालक कैलाश साहले भने, 'जनकपुर उपमहानगरपालिकाले अहिलेसम्म पत्र दिएको छैन । हामीलाई समयमा मल पनि उपलब्ध गराइएको छैन ।'

पहिलेदेखि बाँकी रहेको अलिअलि मल वितरण गरिरहे पनि त्यो पर्याप्त नभएको उनले बताए ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मलसम्बन्धी गुनासो सुन्ने अधिकारी रवि बस्नेत भने डिपोमा मल पठाइसकेको बताउँछन् ।
'धेरै पालिकाबाट डिपोसम्म मल नपुगेको गुनासो आएको छ । त्यसलाई समन्वय गरेर छिटै प्रत्येक पालिकामा मल पुर्याउने र किसानसम्म समयमै उपलब्ध गराउने हाम्रो प्रयास छ,' उनले भने ।
मधेसमा कतिपय किसानले अर्काको जग्गा बटैयामा लिएर खेती गर्ने गरेका छन् । धनुषाको माछी झिटकैया निवासी रघुवीर यादवले यसरी बटैया लिएर खेती गर्न पनि कठिन भएको बताए । उत्पादनको आधा हिस्सा जग्गा धनीलाई दिनु पर्ने हुन्छ तर सिँचाइ र मल अभावका कारण उत्पादन घट्ने र लागत बढ्ने हुँदा त्यस्ता किसानलाई मर्का पर्ने उनको भनाइ छ ।
सर्लाहीको सलमपुरका गगनदेव झाले भने, 'कहीँ पानी छ, कहीँ सुक्खा छ । कतै खेत तयार छ तर बिउ छैन, कतै बिउ छ तर मजदुर छैनन्, मल छैन । अधिकांश बोरिङ र ट्युबवेल बिग्रिएका छन् । आकाशे पानीको भरमा कहिलेसम्म खेती गर्ने ?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण