मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इतिहास

यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना

मङ्गलबार, ०९ असार २०८३, १३ : ३९
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • २०१८ सालमा चितवनको गेष्टहाउस चौरमा भएको घटनामा १८ जनाको मृत्यु भएको र १५ जना बेपत्ता भएको कांग्रेस चितवनले स्मारिका प्रकाशित गरेको छ ।
  • तत्कालीन सरकारले पञ्चायती शासन व्यवस्था विरुद्ध आन्दोलन गरिरहेका कांग्रेस कार्यकर्तामाथि सेना परिचालन गरी हत्या गरेको थियो ।
  • घटनास्थलमा मारिएका केही आन्दोलनकारीका शव गाडिएको र केहीलाई नारायणी किनारमा ग्राभेलले पुरेको तथ्य पत्ता लागेको छ ।

काठमाडौँ । २०१७ साल पुस १ गते तत्कालीन जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार अपदस्थ गरेर पञ्चायती शासन व्यवस्था सुरु गरेपछि त्यसविरुद्ध कांग्रेसले आन्दोलन सुरु गरेको थियो ।

२०१८ सालको सुरुवातमै नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरको नेतृत्वमा सुरु गरिएको ‘सशस्त्र क्रान्ति’का क्रममा चितवनमा तनहुँ, गोरखा, लमजुङ र धादिङका कांग्रेस नेता–कार्यकर्ता भेला भएर ७२ घण्टासम्म त्यहाँका सरकारी कार्यालयहरू नियन्त्रणमा लिए ।

त्यसपछि नेपाली सेना आएर कांग्रेस कार्यकर्तामाथि दमन गरेको थियो । प्रजातन्त्रको पुनःस्थापनाका लागि आन्दोलन गरिरहेका र चारतारे झण्डा हातमा लिएर ‘जय नेपाल’ भन्दै सरकारी कार्यालय कब्जा गरेका कांग्रेस नेता–कार्यकर्तालाई सेना परिचालन गरी तत्कालीन सरकारले हत्या गरेको थियो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार त्यो घटना अहिले भएको गेस्ट हाउस चौर र सँगै जोडिएको हाल यातायात विभागले प्रयोग गरेको भवन रहेको स्थानमा भएको थियो । यस घटनाबारे अध्ययन गरेका सभापति खनालले सेनाले काटेर मारेका केही आन्दोलनकारीका शवलाई त्यही चौरमा गाडिएको र केही शवलाई त्यहाँबाट नारायणी किनारमा लगेर १ हजार ट्रयाक्टर ग्राभेलले पुरिएको तथ्य पत्ता लागेको जानकारी दिए ।

यो विषयलाई कांग्रेस सभापति गगन थापाले आइतबारबाट त्यही चौरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिँदैगर्दा कोट्याएका थिए ।

त्यो घटनामा कति मारिए र कतिलाई बेपत्ता बनाइयो भन्ने अहिलेसम्म यकिन छैन । यद्यपि कांग्रेस चितवनले पटक–पटक खोज अनुसन्धान गर्दा मारिएका र बेपत्ता भएका केहीको नामावली सङ्कलन गरेको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समिति, क्षेत्र नम्बर २ चितवनले २०५७ सालमा ‘जय नेपाल’ नामक स्मारिका प्रकाशित गरेको थियो । त्यो स्मारिकामा ०१८ सालमा भएको रेस्टुरेन्ट चौर घटनामा मृत्यु भएका १८ जना र बेपत्ता भएका १५ जनाको नाम समावेश भएको कांग्रेस चितवन सभापति खनालले रातोपाटीलाई बताए ।

त्यो स्मारिकामा प्रकाशित भएको र खनालले रातोपाटीलाई उपलब्ध गराएको सूची अनुसार त्यो घटनामा मृत्यु भएका अहिलेसम्म पत्ता लागेका १८ जनाको नामावली यसप्रकार छ ।

१) हरिप्रसाद गुरूङ

२) जगत प्रकाशजंग शाह

३) लालध्वज गुरूङ

४) सर्वसिंह गुरुङ

५) शमशेरबहादुर गुरुङ

६) टेकबहादुर गुरुङ

७) हस्तबीर गुरुङ

८) भरत गुरुङ

९) खेमबहादुर गुरुङ

१०) ईमानसिंह गुरुङ

११) बुद्धसिंह राना

१२) खम्बसिंह तामाङ

१३) सिंहबहादुर तामाङ

१४) छेज्जु तामाङ

१५) तुलबहादुर तामाङ

१६) पन्चु गुरुङ

१७) रामबहादुर तामाङ

१८) आशबहादुर लामा

त्यो आन्दोलनका क्रममा बेपत्ता पारिएकाहरू

१) श्रीहर्ष खनाल

२) वैकुण्ठ अधिकारी

३) खड्गसिंह गुरुङ

४) टेकबहादुर गुरुङ

५) बाबुलाल थिङ तामाङ

६) देउबहादुर तामाङ

७) ध्वजबहादुर गोले तामाङ

८) भुवन लामा

९) रामविलास यादव

१०) वालदेव यादव

११) भोला साह कानु

१२) सुलेमान मिँया

१३) चन्द्रबहादुर प्रजा

१४) भीमबहादुर प्रजा

१५) बुद्धिमान तामाङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप