पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको करिब तीन वर्ष आठ महिनापछि भएको निर्वाचनमा करिब दुई तिहाइ बहुमतसहित सरकार गठनको अवस्थामा पुग्नु लोकतान्त्रिक प्रतिस्पर्धाको इतिहासमा अत्यन्त दुर्लभ घटना मानिन्छ ।
- विश्वभरका राजनीतिक दलहरूको इतिहास हेर्दा रास्वपा विश्वमै सबैभन्दा छिटो सरकारको नेतृत्वमा पुगेको भन्ने दाबी त्रुटिपूर्ण देखिन्छ ।
- टर्कीको एकेपी, इटालीको नेशनल फासिस्ट पार्टी, अफगानिस्तानको तालिबान, क्युबाको २६ जुलाई आन्दोलन र सिंगापुरको पीएपी जस्ता दलहरूले पनि छोटो अवधिमै सत्ता हासिल गरेका छन् ।
काठमाडौँ । अहिले चितवनमा नेपालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चलिरहेको छ । महाधिवेशनका क्रममा अहिले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुन बाहेक प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सबै सदस्य चितवनमै उपस्थित छन् ।
वि.सं. २०७९ असार ७ गते स्थापना भएको रास्वपाले स्थापनाको चार वर्षभन्दा कम अवधिमै प्रतिनिधि सभामा करिब दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्ने जनादेश प्राप्त गरेको छ ।
यसै सन्दर्भलाई लिएर जारी महाधिवेशनमा रास्वपालाई आफ्नो स्थापना पश्चात विश्वस्तरमै सबैभन्दा छिटो सरकारको नेतृत्वमा पुग्ने दलको रूपमा चर्चा गरिँदैछ । विश्वभर राजनीतिक आन्दोलन, दलहरूको उदय र सत्तारोहणबारेका तथ्यहरू नियाल्दा रास्वपा सर्वाधिक छिटो सरकारमा पुगेको दाबी भने त्रुटिपूर्ण देखिन्छ ।
वि.सं. २०८२ भदौ २३ र २४ गते देशव्यापी आन्दोलन र त्यसपछि भएको व्यापक राजनीतिक उथलपुथलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले फागुन २१ गते सम्पन्न गराएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी १८२ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको हो ।

निश्चय पनि रास्वपाको सफलताको यात्रालाई हेर्दा नेपालको पछिल्लो राजनीतिक इतिहासमा अभूतपूर्व घटनाका रूपमा देख्न सकिन्छ । स्थापना भएको केही महिनापछि सम्पन्न २०७९ को आमनिर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २२ सिट जित्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको थियो ।
चार वर्ष नपुग्दै देशको प्रमुख राजनीतिक शक्तिका रूपमा यो पार्टी उदाउनु धेरै विश्लेषकका लागि समेत आश्चर्यको विषय बनेको छ ।
राजनीतिक इतिहासका अध्येताहरूका अनुसार नयाँ दल वा आन्दोलनले छोटो समयमा सत्ताको नेतृत्व हासिल गरेका उदाहरण विश्वमा सीमित छन् । यद्यपि हुँदै नभएको भने होइन ।
२१औँ शताब्दीमा सबैभन्दा छिटो सत्तामा पुग्ने दलका रूपमा टर्की (हाल टर्कीय) को ‘अदालेत वे कलिनामा पार्टीसी’ अर्थात ‘एकेपी’ हो । सन् २००१ को १४ अगष्टमा स्थापना भएको सो दलले करिब १५ महिनापछि २००२ को १८ नोभेम्बरमा सम्पन्न निर्वाचन जितेर सरकार गठन गरेको थियो ।

त्यसबेला टर्कीएमा अब्दुलाह गुल प्रधानमन्त्री बनेका थिए । त्यसयता लगातार टर्कीएको सत्तामा रहेको एकेपीबाट अहिले रेसेप तैयप एर्दोगानले राष्ट्रपतिका रूपमा सत्ताको नेतृत्व गरिरहेका छन् ।
सर्वाधिक छिटो अवधिमा सत्तामा पुग्ने मामलामा २०औँ शताब्दीको उदाहरणका रूपमा हामी इटालीमा बेनिटो मुसोलिनीले अगुवाई गरेको दल ‘नेशनल फाशिष्ट पार्टी’ लाई लिन सक्छौँ । औपचारिक रूपमा ९ नोभेम्बर १९२१ मा स्थापना भएको एक वर्ष नपुग्दै बेनिटो मुसोलिनीको ‘मार्च अन रोम’ अभियानले सत्ताको बागडोर आफ्नो हातमा ल्याएको थियो ।
३१ अक्टोबर १९२२ मा उनले सत्ताको नेतृत्व गरेका थिए । तर मुसोलिनीको पार्टी भने निर्वाचनको माध्यमबाट नभएर सडकमा प्रस्तुत राजनीतिक दबाबको आडमा राजाको नियुक्तिबाट सरकारमा पुगेको थियो ।

दक्षिण एसियामा केन्द्रीय सरकारमै छिटो सत्तारोहणको उदाहरण अफगानिस्तानको ‘तालिबान’ हो । सुरुमा इस्लामी आन्दोलनको रूपमा रहेको तालिबानको थालनी सन् १९९४ मा भएको थियो । स्थापनाको करिब दुई वर्षमै उसले राजधानी सहर काबुल कब्जा गर्दै सन् १९९६ मा सत्ता हात पारेको थियो ।

आन्दोलनबाट सत्ताको नेतृत्व हात पार्ने मामलामा क्युबाको ‘२६ जुलाई आन्दोलन’ पनि अग्रपंक्तिमा आउँछ । फिडेल क्याष्ट्रोले अगुवाई गरेको त्यस आन्दोलनले आफ्नो स्थापनाको करिब चार वर्ष सशस्त्र सङ्घर्ष गर्दै सन् १९५९ मा तत्कालीन बाटिस्टा सरकार विस्थापित गरी सत्ता आफ्नो हातमा लिएको थियो ।
सिंगापुरको पिपुल्स एक्शन पार्टी (पीएपी) पनि निर्वाचनमार्फत छिट्टै सत्तामा पुग्ने दलहरूको सूचीमा पर्छ । सन् १९५४ मा स्थापना भएको उक्त दलले साढे चार वर्षपछि सन् १९५९ को निर्वाचन जितेर ली क्वान यूको नेतृत्वमा सरकार गठन गरेको थियो ।
प्रादेशिक निर्वाचनको दृष्टिमा भने भारतमा सन् २०१२ को अक्टोबरमा जन्मिएको ‘आम आदमी पार्टी’ लाई लिन सकिन्छ । उसले अन्ना आन्दोलन हुँदै निर्वाचनमार्फत सन् २०१३ डिसेम्बरमा भारतको राजधानी दिल्लीको प्रादेशिक सरकारको नेतृत्व गरेको थियो ।
सुरुमा अल्पमतको सरकारका रूपमा रहेको प्रदेश सरकार लगत्तै भएको निर्वाचन पश्चात सो पार्टी सहज बहुमतमा पुगेको थियो ।
यी अन्तर्राष्ट्रिय उदाहरणहरूसँग तुलना गर्दा रास्वपाको उपलब्धि उल्लेखनीय नै देखिन्छ । स्थापना भएको करिब तीन वर्ष आठ महिनापछि भएको निर्वाचनमा करिब दुई तिहाइ बहुमतसहित सरकार गठनको अवस्थामा पुग्नु लोकतान्त्रिक प्रतिस्पर्धाको इतिहासमा अत्यन्त दुर्लभ घटना मानिन्छ ।
अझ नेपालजस्तो बहुदलीय, गठबन्धन–प्रधान, मिश्रित निर्वाचन प्रणाली तथा राजनीतिक रूपमा अनेक विविधतमा विभाजित समाजमा यस्तो परिणाम झनै असाधारण हो । तथापि विश्व इतिहासमै रास्वपा सबैभन्दा छिटो सरकारको नेतृत्वमा पुगेको तथ्य भने गलत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण