शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य

शुक्रबार, १२ असार २०८३, ११ : ४८
शुक्रबार, १२ असार २०८३

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै मेमोरी र स्टोरेज चिपको अभाव भएपछि अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना लोकप्रिय उत्पादनहरूको मूल्य वृद्धि गरेको छ ।

कम्पनीले तत्काल लागू हुने गरी इन्ट्री लेभलको म्याकबुक नियोको मूल्य ५९९ अमेरिकी डलरबाट बढाएर ६९९ डलर पुर्‍याएको छ । त्यसैगरी सबैभन्दा सस्तो आइप्याडको मूल्य ३४९ डलरबाट ४४९ डलर तथा आइप्याड मिनीको मूल्य ४९९ डलरबाट बढाएर ५९९ डलर बनाइएको छ ।

यसका अतिरिक्त एप्पल टिभीको मूल्य १२९ डलरबाट १९९ डलर, एप्पल भिजन प्रो हेडसेटको मूल्य ३ हजार ४९९ डलरबाट ३ हजार ६९९ डलर तथा होमपड स्पिकरको मूल्य २९९ डलरबाट ३४९ डलर पुर्‍याइएको छ । बढेको मूल्य बिहीबारदेखि एप्पलको आधिकारिक अनलाइन स्टोरमा लागू गरिएको छ । यद्यपि केही तेस्रो पक्षका विक्रेताले भने अझै पुरानै मूल्यमा उत्पादन सूचीबद्ध गरेका छन् ।

कम्पनीले जारी गरेको वक्तव्यमा एआई डेटा सेन्टरहरूको तीव्र विस्तारका कारण मेमोरी र स्टोरेज चिपको माग असाधारण रूपमा बढेको र त्यसले चिपको मूल्यमा अप्रत्याशित वृद्धि गराएको जनाएको छ । एप्पलका अनुसार अब उत्पादनको मूल्य नबढाई विकल्प नभएकाले म्याकबुक र आइप्याडलगायतका केही उत्पादनको मूल्य समायोजन गरिएको हो। कम्पनीले ग्राहकलाई पर्ने असर कम गर्न वैकल्पिक उपाय खोज्ने प्रयास जारी रहेको पनि जनाएको छ ।

मूल्य वृद्धि सार्वजनिक भएपछि एप्पलको शेयर मूल्य बिहीबार ६ दशमलव १ प्रतिशतले घटेको छ । यो पछिल्लो एक वर्षभन्दा बढी अवधिकै सबैभन्दा ठूलो दैनिक कमी हो । यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले पनि मेमोरी चिपको अभावका कारण मूल्य वृद्धि अपरिहार्य भएको बताएका थिए । विश्वभर एआई डेटा सेन्टरको तीव्र विस्तारसँगै मेमोरी चिपको माग र मूल्य दुवै बढेकाले उपभोक्ता विद्युतीय उपकरण उद्योग नै यसको प्रभावमा परेको विश्लेषण गरिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप