काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
सारांश
- उपत्यकाको ट्राफिक चाप व्यवस्थापनका लागि सातदोबाटो र एकान्तकुनामा आगामी आर्थिक वर्ष २०८३/०८४ देखि अन्डरपास र ओभरपास निर्माण प्रक्रिया सुरु हुने भएको छ ।
- सातदोबाटोमा ७२ करोड ७९ लाख रुपैयाँ लागतमा ५४०.७८ मिटर लामो अन्डरपास र चापागाउँ दोबाटो चोकमा पुल निर्माण गरिनेछ ।
- एकान्तकुनामा ६१ करोड ४१ लाख रुपैयाँ लागतमा ३०० मिटर लामो अन्डरपास र ३६.३ मिटर लामो आकाशे पुलसहित र्याम्प निर्माण गरिनेछ ।
काठमाडौँ । उपत्यकाको बढ्दो ट्राफिक चापलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले चक्रपथका थप दुई प्रमुख स्थानमा अन्डरपास र ओभरपास निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि चर्चामा रहेका ललितपुरको सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड सडक संरचना निर्माणको काम आगामी आर्थिक वर्ष (२०८३/०८४) देखि सुरु गर्ने तयारी गरिएको छ ।
सडक विभागका प्रवक्ता श्यामबहादुर खड्ककाका अनुसार उक्त ओभरपास र अण्डरपास गुणस्तर अनुसन्धान तथा विकास केन्द्रद्वारा निर्माण गरिने छ । यसअघि केन्द्रले ग्वार्कोमा ओभरपास निर्माण गरिसकेको छ ।
सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमार्फत नै ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास वा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको थियो । यद्यपि ग्वार्कोमा मात्र ओभरपास निर्माण गरियो ।
अन्य दुई स्थानमा भने पाँच वर्षअघि नै अध्ययनको काम सम्पन्न भइसके पनि निर्माण सुरु भएको थिएन । आगामी आर्थिक वर्ष यी दुवै स्थानमा ओभरपास र अण्डरपास निर्माणका लागि सरकारले १२ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षभित्रै एकान्तकुनामा ओभरपास र सातदोबाटो चोकमा अण्डरपास निर्माण गरिनेगरी अध्ययन भएको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
सातदोबाटो चोकमा अण्डरपास र ग्रेड सेपरेटेड सडक बनाउने
ट्राफिक जामका कारण अस्तव्यस्त बनेको सातदोबाटो चोकमा ग्रेड सेपरेटेड (अण्डरपास र ओभरपास) सडक संरचना निर्माण गर्ने गरी अध्ययन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सातदोबाटो र चापागाउँ दोबाटो चोकको ट्राफिक व्यवस्थापनका लागि यो योजना अघि सारिएको हो ।
परामर्शदाता कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अनुसार, यो आयोजनाका लागि ७२ करोड ७९ लाख ३६ हजार १२१ रुपैयाँ (भ्याट, आकस्मिक कोष र अन्य खर्चसहित) लाग्ने अनुमान गरिएको छ । यो पाँच वर्ष अघिको लागत अनुमान हो । अहिले अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको पेट्रोलियम पदार्थ, डलरको मूल्यलगायतका कारण थप लागत बढ्नसक्ने आयोजनाले जनाएको छ ।
_Rixzr7IRPc.png)
आयोजना अन्तर्गत सातदोबाटो र चापागाउँ दोबाटो चोकमा विभिन्न प्राविधिक कार्यहरू गरिनेछन् । प्रतिवेदन अनुसार, यस आयोजनाको मुख्य आकर्षण ५४०.७८ मिटर लामो अण्डरपास निर्माण गर्ने योजना छ । यसमा विभिन्न प्रकारका पाइल वाल र प्लम रिटेनिङ वालहरूको प्रयोग गरिनेछ ।
पुलको संरचनाका सम्बन्धमा छोटो स्पानका लागि १७.६५ मिटर (चापागाउँ दोबाटो) र १७.८ मिटर (सातदोबाटो) तथा लामो स्पानका लागि ११.० मिटर (चापागाउँ दोबाटो) को इन्टिग्रल ब्रिज निर्माण गर्ने योजना छ । पुलको कुल चौडाइ २१ मिटर रहनेछ र यसलाई बक्स स्ट्रक्चर प्रविधिबाट निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै निर्माण कार्यमा पैदलयात्रीको चाप, सवारीको भार र भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै डिजाइन गरिएको छ । जगको लागि १०/४० र पाइल, पाइल क्याप तथा पुलको मुख्य संरचनाका लागि ३०/२० ग्रेडको कङ्क्रिट प्रयोग गरिनुपर्ने उल्लेख छ ।
एकान्तकुनामा अण्डरपास र आकाशे पुल
एकान्तकुना चोकमा अण्डरपास र ओभरहेड ब्रिज (आकाशे पुल) निर्माण गर्ने योजनाका साथ अध्ययन गरिएको छ । सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रको प्राविधिक सहयोग र रेखदेखमा यस आयोजनाको विस्तृत अध्ययन तथा डिजाइनको कार्य सम्पन्न भएको छ ।
विस्तृत अध्ययन प्रतिवेदनअनुसार ग्रेड सेपरेटेड सडक संरचना निर्माणसम्बन्धी उक्त आयोजनाको कुल लागत करिब ६१ करोड ४१ लाख १३ हजार ८६ रुपैयाँ अनुमान गरिएको छ । यसमा मूल्य अभिवृद्धि कर, कन्टिन्जेन्सी (भैपरी आउने खर्च) र मूल्य समायोजन रकमसमेत समावेश गरिएको छ । तर, पाँच वर्ष अघि अध्ययनका क्रममा तयार पारिएको हुनाले थप लागत बढ्न सक्ने केन्द्रको भनाइ छ ।
यस आयोजनाको टोपोग्राफिकल सर्भे, ट्राफिक अध्ययन, माटो परीक्षण र विस्तृत डिजाइन परामर्शदाता कम्पनी जियोकम–बीडीए–रेज जेभीले गरेको हो ।
_kXQE4sWF1K.png)
अध्ययन प्रतिवेदनअनुसार यो आयोजना नख्खु/भनिमण्डल चोकमा अण्डरपास र इन्टिग्रल ब्रिज निर्माण गरिनेछ । यस स्थानमा ३०० मिटर लामो अण्डरपास निर्माण गरिनेछ । अण्डरपासको सुरक्षाका लागि दुवैतर्फ पाइल वाल र प्लम रिटेनिङ वालको व्यवस्था गरिएको छ । साथै, ११ मिटर चौडाइ र २१.७ मिटर स्पान भएको बक्स स्ट्रक्चर प्रकारको इन्टिग्रल ब्रिज निर्माण गरिने उल्लेख छ ।
एकान्तकुना चोकमा ओभरहेड ब्रिज र र्याम्प ट्राफिक चाप कम गर्न एकान्तकुना चोकमा टी–बिम प्रविधिको ३६.३ मिटर लामो आकाशे पुल निर्माण गरिने छ । उक्त पुलको चौडाइ १६.४ मिटर रहने छ । यस पुलमा सहज पहुँचका लागि बायाँतर्फ १७५ मिटर र दायाँतर्फ २८०.३ मिटर गरी कुल ४५५.३० मिटर लामो र्याम्पसमेत निर्माण गरिने छ ।
यी संरचनाको जग निर्माण गर्दा आरसीसी पाइल फाउण्डेसन प्रविधि अपनाइने छ । आयोजनाको डिजाइनमा पैदलयात्रीको भार, सवारीसाधनको भार र भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै बलियो र दीर्घकालीन संरचना निर्माणमा जोड दिइएको छ । फाउण्डेसनदेखि सुपर स्ट्रक्चरसम्मका लागि तोकिएको मापदण्डअनुसारको आरसीसी ग्रेड प्रयोग गरिने प्रतिवेदनमा उल्लेख छ ।
कहिले निर्माण सुरु हुन्छ ?
केन्द्रले यो दुवै ठाउँका अण्डरपास र ओभरपास निर्माण कार्य आगामी आर्थिक वर्षभित्रै थाल्ने जनाएको छ । केन्द्रका इन्जिनियर विकास लागेका अनुसार यो आयोजना केन्द्रले अधययन गरेको छ । साथै सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिसकेको र अध्ययनको काम पनि सकिएकाले छिटै सुरु हुने उनले बताए ।
पाँच वर्ष पहिले नै अध्ययन र डिजाइन गरिएकाले समयअनुसार केही परिवर्तन हुनसक्ने इन्जिनियर लागेले बताए ।
एक वर्षमा काम नसकिने भएकाले अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति लिएर काम अघि बढाउने तयारी भइरहेको छ । ३/४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आयोजना निर्माणका लागि अघि बढाइने उनले बताए । पाँच वर्ष अघि गरिएको विस्तृत अध्ययनका आधारमा करिब डेढ अर्ब लागत अनुमान गरिए पनि केही परिवर्तन हुनसक्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्ति निर्माण निरन्तर संवाद र जनविश्वासबाट मात्र सम्भव
-
अमेरिका–इरान सम्झौताले इरानी आणविक साइटमा पहुँच दिन्छ : आईएईए
-
पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’
-
९५ प्रतिशत स्थानीय सरकारले ल्याए समयमै बजेट
-
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण