शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’

शुक्रबार, १२ असार २०८३, १२ : २१
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको बृहत् एकता र हितलाई प्राथमिकता दिँदै महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
  • बुर्लाकोटीले दर्जन उम्मेदवारबीच प्रतिस्पर्धा गर्नुभन्दा राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने बेला पार्टीभित्र विभाजनको अवस्था सिर्जना हुन नदिन आफू पछि हटेको बताएका छन् ।
  • उनले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी निर्वाचनमा समझदारी कायम होस् र पार्टीमा सकारात्मक एकता प्रवर्द्धन होस् भन्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले पार्टीको बृहत् एकता, समझदारी र संगठनको हितलाई सर्वोच्च प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।

बुर्लाकोटीले एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवारबीच प्रतिस्पर्धामा रहनु आफ्नो चाहनाको विषय नभएको उल्लेख गर्दै राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने बेला पार्टीभित्र विभाजनको अवस्था सिर्जना हुन नदिन आफू पछि हटेको बताएका छन्।

उनले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी केन्द्रीय पदाधिकारी निर्वाचनमा समझदारी कायम होस् र पार्टीमा सकारात्मक तथा बृहत् एकताको चिन्तन प्रवर्द्धन होस् भन्ने उद्देश्यले व्यक्तिगत तथा पार्टीका शुभचिन्तकहरूसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

बुर्लाकोटीले आफू पार्टीको संस्थापक सदस्य रहेको स्मरण गराउँदै करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री र एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गरेका छन्।

आगामी कार्यकालमा पनि पार्टी सभापतिको नेतृत्वमा निर्वाचित हुने केन्द्रीय समितिमार्फत पार्टी निर्माणका दीर्घकालीन योजनालाई कार्यान्वयन गर्न सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप