राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?
सारांश
- सांसदहरूले राष्ट्रिय सभाको शून्य समयमा मुलुकको आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या र अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
- सांसदहरूले इन्धनको मूल्यवृद्धि, निर्माण सामग्रीको मूल्यवृद्धिले जनजीवन कष्टकर बनेको र पूर्वाधार विकास अवरुद्ध भएको विषय उठाए ।
- सुकुम्बासी व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कर वृद्धिको विषयमा सांसदहरूले सरकारको आलोचना गर्दै ध्यानाकर्षण गराए ।
काठमाडौँ । सांसदहरूले मुलुकको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या र अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका विभिन्न मुद्दा उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्दै सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा समेत नेपालमा समायोजन नभएकोमा आपत्ति जनाए । इन्धनको चर्को मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तु, औषधि र सार्वजनिक यातायातको भाडा बढ्दा आम नागरिकको जनजीवन कष्टकर बनेको उनले उल्लेख गरे । निर्माण सामग्रीको मूल्यवृद्धिले पूर्वाधार विकास अवरुद्ध भएको र मजदुरहरूको रोजगारी गुमेको बताउँदै उनले तत्काल मूल्य घटाएर जनतालाई राहत दिन माग गरे ।
यस्तै सांसद पदमबहादुर परियारले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूले साङ्गीतिक प्रस्तुतिमार्फत गर्दै आएको जीविकोपार्जनमा सरकारले अवरोध पुर्याएको विषय उठाए । तिलगंगा क्षेत्रबाट उनीहरूलाई समातेर होल्डिङ सेन्टरमा राखिएको र सोही कारण उनीहरू माइतीघरमा धर्ना बस्न बाध्य भएको जानकारी दिँदै उनले उनीहरूको पुनःस्थापना र निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरे ।
सुकुम्बासी व्यवस्थापनको विषयमा पनि सदस्यहरूले सरकारको तीव्र आलोचना गरेका छन् । सांसद रेणु चन्दले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाइन् । सरकारले सीमा र सङ्घीयताका विषयमा गैरजिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उनको तर्क थियो ।
अर्की सांसद विष्णुकुमारी सापकोटाले सुरक्षित स्थानको पूर्वतयारीबिना डोजर लगाएर सुकुम्बासीलाई सडकमा ल्याउनु अमानवीय भएको बताइन् । २५ हजार रुपैयाँ राहत दिएर होल्डिङ सेन्टर खाली गराउने निर्णय न्यायोचित नभएको भन्दै उनले संविधानप्रदत्त मौलिक हकको रक्षा गर्न र स्थायी आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन् ।
सांसद विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लङ्घन भएको बताए । ६० दिनभित्र लालपुर्जा दिने प्रतिबद्धता विपरीत वर्षाको समयमा बालबालिका र वृद्धवृद्धालाई अलपत्र पार्ने कार्य तुरुन्त बन्द गर्न उनीहरूले चेतावनी दिए ।
यस्तै सांसद सावित्री मल्लले होल्डिङ सेन्टरमा रहेका ९३ प्रतिशत महिला र ४४ प्रतिशत दीर्घ रोगीहरूको अवस्था नाजुक रहेको जानकारी गराइन् । सरकारले ६० दिनभित्र समाधान दिने आश्वासन दिए पनि हालसम्म कुनै ठोस काम नभएको र उल्टै शिविर छोड्न सूचना जारी गरेकोमा उनले असन्तुष्टि व्यक्त गरिन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्तावप्रति सांसद विष्णुदेवी पुडासैनीले आपत्ति जनाइन् । उनले शिक्षा र स्वास्थ्यमा लगाइएको ३५ प्रतिशत कर फिर्ता लिन आग्रह गर्दै गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावको स्वागत गरिन् । साथै सुन्दरीजलदेखि गुह्येश्वरीसम्मको बागमती कोरिडोर सञ्चालन गर्न गोकर्ण रिसोर्टको पर्खाल व्यवस्थापन गरी ट्राफिक जाम कम गर्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण