शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’

शुक्रबार, १२ असार २०८३, १३ : ३०
शुक्रबार, १२ असार २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

शुक्रबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले पार्टी सभापतिले महाधिवेशन उद्घाटनका क्रममा गरेको भनाइ र पछिल्ला घटनाक्रमबीच विरोधाभास देखिएको बताएका छन्।

उनले महाधिवेशन उद्घाटनका क्रममा सभापतिले “अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य होइन” भनेको स्मरण गराउँदै त्यसको केही समयमै उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गरिएको घटनाले सभापतिको भनाइलाई नै खिल्ली उडाएको टिप्पणी गरेका छन्।

कार्कीले यस्तो अभ्यासले पार्टीले विगतदेखि आलोचना गर्दै आएको गठबन्धन र प्यानल संस्कृतिको झल्को दिएको उल्लेख गर्दै त्यसलाई गलत अभ्यासको संज्ञा दिएका छन्।

उनले चुनाव आउँदै–जाँदै गर्ने प्रक्रिया भए पनि पार्टीको विधि, नीति र चरित्र दीर्घकालीन हुने भएकाले त्यसलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वको रहेको बताएका छन्। नेतृत्वले जालझेल गर्ने वा गुट निर्माण गर्ने काम गर्न नहुने उनको भनाइ छ।

महाधिवेशन प्रतिनिधिहरूले समय, श्रम र आर्थिक खर्च गरेर लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै कार्कीले उनीहरूको स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार कुनै पनि कारणले खोस्न नहुने धारणा व्यक्त गरेका छन्। रास्वपाका केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर विपिन कुमार आचार्यलाई समर्थको घोषणा गरेपछि उनको यस्तो धारणा आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप