कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
सारांश
- कांग्रेसभित्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि चर्किएको विवाद समाधानका लागि सभापति गगन थापाले विभिन्न नेतालाई जिम्मेवारी दिएर प्रयास जारी राखेका छन् ।
- सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई विवाद मिलाउने जिम्मेवारी दिए पनि अहिलेसम्म उपलब्धि शून्य छ ।
- क्रियाशील सदस्यता अद्यावधिक र महाधिवेशन आयोजक समिति गठन जस्ता विषयमा संस्थापन पक्ष र इतर समूहबीच मतभेद कायमै छ ।
काठमाडौँ । तत्कालीन सभापति शेरबहादुर देउवा र उनी नेतृत्वको केन्द्रीय समितिको असहमतिका बिच गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि चर्किएको कांग्रेसभित्रको विवाद अझै साम्य भएको छैन ।
तथापि काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाले विवाद समाधानका लागि वार्ता र संवाद गर्न नयाँ–नयाँ नेतालाई जिम्मेवारी दिएर प्रयास भने जारी राखेका छन् ।
पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न वार्ताको प्रयास गरिरहेका सभापति थापाले विवाद मिलाउने जिम्मा उपसभापति शर्मालाई तोकेरै दिएका छन् । त्यो बाहेक महामन्त्री प्रदीप पौडेललाई सहमतिका विभिन्न प्रस्ताव लगेर इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूह)का नेताहरूसँग पठाउने गरेका थिए ।
शुक्रबार त्यो भन्दा पनि फरक रणनीति सभापति थापाले अपनाएका छन् । उनले अर्का महामन्त्री गुरुराज घिमिरेलाई शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा नेता डा. शेखर कोइरालालाई भेट्न पठाएका छन् । महामन्त्री घिमिरे आफैले नेता डा. कोइरालासँग भेट भएको र पार्टीको आन्तरिक राजनीतिबारे कुराकानी भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा.शेखर कोइरालासँग भेटघाट र छलफल,’ फेसबुकमा डा. कोइरालासँगको तस्बिरसहित महामन्त्री घिमिरेले लेखेका छन् ।
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसविरुद्ध देउवा र डा. शेखर समूह सर्वोच्च अदालतमा रिट लिएर पुगे । तर, सर्वोच्चले पनि गत वैशाख ४ गते विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई नै आधिकारिकता दियो ।
त्यसपछिबाट शुक्रबारसम्म भएका भेटमा संस्थापनबाट ४ नेता खटिए पनि उपलब्धि भने अहिलेसम्म शून्य छ ।
सर्वोच्चबाट आफ्नो पक्षमा फैसला आएपछि थापाले वैशाख ६ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए ।
थापाले आफै आन्तरिक विवाद समाधानका लागि नेता डा. कोइराला र खड्कालाई भेटिसकेका छन् । डा. कोइरालालाई एक पटक भेटको थापाले खड्कालाई २ पटक भेटेका छन् । खड्कालाई वैशाख ६ र २३ गते उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए ।
कोइरालालाई भने थापाले एक पटक वैशाख २२ गते कोइरालाकै सम्पर्क कार्यालय विशालनगरमा पुगेर भेटेका थिए ।
त्यस्तै कोइरालालाई महामन्त्री प्रदीप पौडेलले चैत २२ गते विशालनगरमै भेटेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
कोइरालालाई अर्का महामन्त्री गुरु घिमिरेले भने आज दोस्रो पटक भेटेका छन् । घिमिरेले जेठ ३० गते र आज विराटनगरस्थित कोइराला निवासमा पुगेर भेटेका हुन् ।
नेता खड्कालाई उपसभापति शर्माले पनि दुई पटक भेटेका छन् । वैशाख २३ गते सभापति थापासँग संगै र जेठ २२ गते एक्लै भेटेका खड्काको सचिवालयले जानकारी दिएको छ ।
जेठ १६ गते संस्थापनका तर्फबाट आन्तरिक सहमतिका लागि भन्दै उपसभापति शर्माले ७ बुँदे सहमतिको प्रस्ताव पठाएका थिए । त्यसमा जवाफ नभएपछि शर्मा खड्कालाई भेट्न पुगेका थिए ।
शर्माको प्रस्तावमा देउवा र शेखर समूहले मुख्यगरी महाधिवेशन आयोजक समिति, अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक, विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति मातहत रहने गरी दुवै समूहलाई मिलाएर महाधिवेशन आयोजक समिति बनाउने विषयमा असहमति जनाएका थिए ।
शर्माले महाधिवेशन तयारी क्रमको पहिलो चरण क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियालाई निर्धारित समयभित्र पूरा गर्ने’ भन्ने उल्लेख थियो । त्यसमा देउवा र शेखर समूहले चित्त बुझाएनन् ।
डा. कोइरालाले जेठ ११ गते पार्टी एकताका लागि भन्दै ५ प्रस्ताव सार्वजनिक गरेका थिए । त्यो प्रस्तावमा डा. कोइरालाले ‘१५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने,’ भन्ने लेखेका छन् ।
अर्कोतर्फ देउवा समूहले पनि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य गर्ने कार्यको विरोध गरेको छ । निवर्तमान कार्यवाहक सभापति खड्काले जेठ २४ गते सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकाहरूलाई अद्यावधिक नगरेको निहुँमा कसैलाई १५औँ महाधिवेशनमा भाग लिन कसैले वञ्चित गर्न/गराउन नसक्ने लेखेका थिए ।
अर्को विवादित र मिल्न नसकेको विषय विशेष महाधिवेशनबाट चयन भएको र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मिलाएर १५औँ महाधिवेशन आयोजक समिति बनाउने विषय हो । उपसभापति शर्माले सात बुँदे प्रस्तावमा ‘केन्द्रीय समितिको अङ्ग रहने गरी बैठकबाट १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने’ लेखेका थिए । तर, देउवा र शेखर समूहले भने विशेष महाधिवेशनबाट चयन भएको समिति र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति पूरैलाई मिसाएर आयोजक समिति बनाउनुपर्ने बताइरहेका छन् ।
त्यसबाहेक निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान संशोधन समिति आपसी सहमतिमा बनाउने र त्यसमा विशेष महाधिवेशनपछि बनेको संस्थापनको नेतृत्व हुनेमा देउवा र शेखर समूह सहमत छन् । तर, सम्मानजनक उपस्थिति हुनुपर्ने उनीहरूको भनाइ छ ।
महामन्त्री प्रदीप पौडेलले विवाद समाधानका लागि प्रयास भइरहे पनि कुरा नमिलेको बताए । ‘प्रयास भइरहेको छ मिलिसकेको छैन,’ केही दिन अघि महामन्त्री पौडेलले रातोपाटीसँग भनेका थिए, ‘हामीले क्रियाशील सदस्यता अद्यावधिक गरेर पार्टीका एकता निर्माण गर्ने आधार तय गर्न आग्रह गरेका थियौँ । उहाँहरूले यसलाई राजनीतिक विषय बनाउनुभयो । त्यसले कुरा मिल्न सकेको छैन ।’
गत जेठ २२ गते उपसभापति शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेका थिए । त्यसपछि जेड ३० गते महामन्त्री घिमिरेले नेता डा. कोइरालालाई भेटे । आज पनि महामन्त्री घिमिरेले नेता डा. कोइरालालाई भेटे तर विवाद समाधान हुन सकेको छैन । विवादित विषय ज्यूका त्यूँ छन् ।
इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूह)का नेताहरू भने संस्थापन पक्षले पार्टीलाई एकजुट बनाउने विषयमा चासो नै नदिएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण