शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

शुक्रबार, १२ असार २०८३, २० : २३
शुक्रबार, १२ असार २०८३

काठमाडौँ। देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ ।

जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा (२१४ मिलीमिटर) को ६९.६ प्रतिशत मात्रै हो । हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विशेषगरी महिनाको सुरुआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन । मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो । कमजोर मनसुनका कारण कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

हालसम्म देशभर मनसुन विस्तार हुन सकेको छैन । पाँच प्रदेशका केही भूभागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने मौसमविद् ढकालले बताएका छन् । विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ ।

विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप