आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?

आइतबार, १४ असार २०८३, १८ : २३
आइतबार, १४ असार २०८३

सारांश

  • सन् २०२६ को विश्वकपमा अफ्रिकी राष्ट्रहरूको ऐतिहासिक र कीर्तिमानी सफलता हात पारेका छन्, जसमा ९ टोली नकआउट चरणमा पुगेका छन् ।
  • फिफाको विस्तारित ४८-टोलीको विश्वकप ढाँचाले अफ्रिकाका लागि १० टोलीको ढोका खोल्यो, जसमध्ये ९ टोलीले समूह चरण पार गरे ।
  • युरोपेली लिगमा खेलाडीहरूको अनुभव, शारीरिक शक्ति र आधुनिक रणनीतिको संयोजन, र कतार विश्वकपको 'मोरोक्कन इफेक्ट' जस्ता कारणले अफ्रिकी टोलीहरूको प्रदर्शन अब्बल भएको छ ।

काठमाडौँ । समूह चरण पार गर्दै फिफा विश्वकपमा अफ्रिकी राष्ट्रहरूको ऐतिहासिक र कीर्तिमानी सफलता हात पारेका छन् । 

विश्वकपको इतिहासमा यसअघि कुनै पनि एउटा संस्करणमा दुईभन्दा बढी अफ्रिकी टोलीहरू एकैपटक नकआउट चरणमा पुग्न सकेका थिएनन् । तर सन् २०२६ मा नकआउट चरणमा पुग्ने कुल ३२ टोलीमध्ये २८ प्रतिशतभन्दा बढी (९ टोली) अफ्रिकी महाद्वीपका मात्रै छन् । यस ऐतिहासिक उपलव्धि पछाडिका खास कारणहरू के के हुन् ? किन र कसरी अब्बल भए अफ्रिकी टिमहरू ? र आगामी दिनमा कहाँसम्म पुग्लान् अफ्रिकी टिमहरू ? 

फिफा विस्तार र अफ्रिकाको स्वर्णिम अवसर

विगतका विश्वकपहरूमा अफ्रिकी फुटबल महासंघ (सीएएफ) बाट कुल ५३ राष्ट्रहरूमध्ये केवल ५ वटा टोलीलाई मात्र विश्वकप खेल्ने अनुमति दिइने गरिन्थ्यो । यो असमान कोटा प्रणालीका कारण धेरै उत्कृष्ट अफ्रिकी देशहरू विश्वमञ्चमा पुग्न वञ्चित हुन्थे । तर सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ४८–टोलीको विस्तारित विश्वकप ढाँचाले अफ्रिकाका लागि नयाँ ढोका खोलिदियो । 

नयाँ नियमअनुसार अफ्रिकाले सीधै ९ वटा स्थायी कोटा र अन्तरमहादेशीय प्ले–अफमार्फत थप १ कोटा प्राप्त गरी कुल १० वटा टोली विश्वकपको मैदानमा उतार्न सफल भयो । जब यी १० टोलीहरू उत्तर अमेरिका आइपुगे, उनीहरूले विश्व फुटबललाई स्तब्ध पार्दै समूह चरणमा असाधारण दबदबा कायम गरे । समूह चरणको समाप्तिमा केवल ट्युनिसिया मात्र बाहिरियो भने बाँकी ९ टोलीले नकआउटको टिकट पक्का गरे ।

नकआउट चरण मा पुग्ने ९ अफ्रिकी टोलीहरूको समग्र प्रदर्शन 

अफ्रिकी महाद्वीपका विभिन्न क्षेत्रहरू (उत्तर, पश्चिम, दक्षिण र मध्य अफ्रिका) बाट आएका टोलीहरूले आफ्नो कौशल प्रमाणित गरेका छन् । उनीहरूको समूह चरणको यात्रा यस प्रकार रह्योः 

क) मोरक्को (समूह सी– दोस्रो स्थान)ः सन् २०२२ को कतार विश्वकपमा सेमिफाइनल पुगेर इतिहास बनाएको मोरक्कोले सन् २०२६ मा पनि आफ्नो लय कायम राख्यो । समूह ‘सी’ मा ब्राजिल जस्तो बलियो टोलीलाई कडा चुनौती दिँदै र स्कटल्याण्ड तथा हाइटीलाई पराजित गर्दै मोरक्कोले ७ अंकसहित दोस्रो स्थानमा रहेर नकआउट यात्रा तय गर्‍यो । मोरक्को अहिले फिफा विश्वकपको इतिहासमा सबैभन्दा बढी खेल जित्ने अफ्रिकी राष्ट्रसमेत बनेको छ । उसले कुल ७ जित दर्ता गरेको छ ।

ख) इजिप्ट (समूह जी – दोस्रो स्थान)ः स्टार खेलाडी मोहम्मद सालाहको कप्तानीमा रहेको इजिप्टले समूह ‘जी’ मा अपराजित रहँदै ऐतिहासिक सफलता प्राप्त गर्‍यो । बेल्जियमसँग गोल अन्तरमा मात्र पछि पर्दै इजिप्टले ५ अंक जोडेर समूहको दोस्रो स्थान हासिल गर्‍यो र पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने कीर्तिमान रच्यो । 

fifa2026 (1)

ग) केप भर्डे (समूह एच – दोस्रो स्थान)ः जम्मा ६ लाख मात्र जनसङ्ख्या भएको र विश्वकपकै तेस्रो सबैभन्दा सानो राष्ट्र केप भर्डे यस प्रतियोगिताको सबैभन्दा ठुलो आश्चर्य बनेको छ । समूह ‘एच’ मा स्पेनसँग ऐतिहासिक बराबरी खेल्दै र उरुग्वे तथा साउदी अरबलाई स्तब्ध पार्दै केप भर्ड ३ अङ्क र उत्कृष्ट प्रदर्शनका साथ समूहको दोस्रो स्थानमा रहँदै पहिलो पटक नकआउट पुग्यो ।

घ) आइभरी कोस्ट (समूह ई – दोस्रो स्थान)ः अफ्रिकन कप अफ नेसन्स (एएफसिओएन) को विजेता आइभरी कोस्टले समूह ‘ई’ मा जर्मनी र इक्वेडरको सामना गर्‍यो । आफ्नो शारीरिक र प्राविधिक फुटबलको सन्तुलन मिलाउँदै टोलीले दोस्रो स्थान ओगटेर सहजै अन्तिम ३२ मा स्थान बनायो ।

ङ) दक्षिण अफ्रिका (समूह ए – दोस्रो स्थान)ः बाफाना बाफाना भनिने दक्षिण अफ्रिकी टोलीले समूह ‘ए’ मा आयोजक मेक्सिकोसँगै उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । घरेलु दर्शकको अगाडि खेलिरहेको मेक्सिकोलाई कडा टक्कर दिँदै दक्षिण अफ्रिका समूहको दोस्रो टोली बन्दै अर्को चरणमा प्रवेश गर्‍यो ।

च) घाना (समूह एल – तेस्रो स्थानबाट छनोट) : घानाले इङ्गल्याण्ड र क्रोएसियाजस्ता महारथीहरू रहेको कठिन समूह ‘एल’ बाट अगाडि बढ्ने बाटो निकाल्यो । अन्तिम खेल अगावै ४ अङ्क जोडेर घानाले सुरक्षित रूपमा उत्कृष्ट तेस्रो स्थानका टोलीहरूको सूचीमा पर्दै नकआउटमा स्थान सुरक्षित गरिसकेको थियो । घानाले विश्वकपमा ६ जितको कीर्तिमान सहित नाइजेरियाको बराबरीसमेत गरेको छ । 

छ) प्रजातान्त्रिक गणतन्त्र कङ्गो (समूह के – तेस्रो स्थानबाट छनोट)५२ वर्षको लामो प्रतीक्षापछि (सन् १९७४ पछि पहिलो पटक) विश्वकपमा फर्किएको कङ्गोले इतिहासकै सबैभन्दा अविश्वसनीय यात्रा तय गर्यो । अन्तरमहादेशीय प्ले–अफमा नाइजेरिया र जमैकालाई हराउँदै विश्वकप आइपुगेको कङ्गोले समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानलाई ३–१ ले पाखा लगाउँदै ४ अङ्क र +१ गोल अन्तर का साथ तेस्रो स्थानका टोलीहरूको रैंकिंगमा शीर्ष स्थान हासिल गर्‍यो । 

ज) सेनेगल (समूह आई – तेस्रो स्थानबाट छनोट) : फ्रान्स र नर्वेजस्ता टोलीहरूसँग पराजित भएपछि संकटमा परेको सेनेगलले आफ्नो अन्तिम समूह खेलमा इराकी टोलीलाई ५–० को भारी गोल अन्तरले ध्वस्त पार्यो । यही ५ गोलको विशाल जितका कारण सेनेगलको गोल अन्तर (+२) बन्यो, जसले गर्दा ३ अङ्क मात्र भए पनि उनीहरू इरान र दक्षिण कोरियालाई पछि पार्दै अन्तिम ३२ मा छनोट हुन सफल भए । 

झ) अल्जेरिया (समूह जे – तेस्रो स्थानबाट छनोट) : अल्जेरियाले विश्वकपकै इतिहासमा सबैभन्दा नाटकीय खेल खेल्यो । अस्ट्रिया विरुद्धको अन्तिम खेलमा इन्जुरी समयको ९३ औँ मिनेटमा कप्तान रियाद महरेजले गोल गर्दै अल्जेरियालाई ३–२ को अग्रता दिलाए । ९६ औँ मिनेटमा अस्ट्रियाले बराबरी गोल फर्काए पनि ३–३ को यो रोमान्चक बराबरी अल्जेरियालाई नकआउट चरण पुर्‍याउन पर्याप्त रह्यो, जसले इरानलाई प्रतियोगिताबाटै बाहिर पठायो । 

समूह चरणको अन्तिम वाइल्ड–कार्ड मापदण्ड (तेस्रो स्थानका उत्कृष्ट अफ्रिकी टोलीहरू) 

फिफाको नियम अनुसार १२ वटा समूहका तेस्रो स्थानमा रहने टोलीहरूमध्ये शीर्ष ८ मात्र अगाडि बढ्ने व्यवस्था थियो । अफ्रिकाका तीन वटा तेस्रो स्थानमा रहेका टोलीहरूले विश्वका अन्य महाद्वीपका टोलीहरूलाई अंक तथा गोल अन्तरका आधारमा यसरी पछि पारेका थिएः 

१. डीआर कङ्गो –अफ्रिका४(+१)छनोट 
२. स्वीडेन –युरोप४ (०)छनोट 
३. घाना –अफ्रिका४ (०) छनोट 
४. बोस्निया–हर्जगोभिना –युरोप४ (–१)छनोट
५.पाराग्वे –दक्षिण अमेरिका४ (–१) छनोट 
६.सेनेगल – अफ्रिका३ (+२) छनोट 
७. इक्वेडर – दक्षिण अमेरिका४ (०)छनोट 
८. अल्जेरिया ४ (०)छनोट 
९.इरान – एसिया ३ (०) बाहिरिएको 

अफ्रिकी फुटबलको यो अभूतपूर्व सफलताका मुख्य कारणहरूअफ्रिकी देशहरूको यो सामूहिक र ऐतिहासिक सफलता कुनै संयोग मात्र होइन, विश्लेषकहरूका अनुसार यसका पछाडि मुख्य चारवटा कारणहरू रहेका छन्ः 

क) युरोपेली लिगहरूमा युवा खेलाडीहरूको बढ्दो अनुभववर्तमान समयमा अधिकांश अफ्रिकी खेलाडीहरू युरोपका शीर्ष ५ लिगहरू (इङ्ग्लिस प्रिमियर लिग, ला लिगा, सिरिए, बुन्डेसलिगा, र लिग १) मा मुख्य खेलाडीका रूपमा खेलिरहेका छन् । 

यो उच्चस्तरको व्यावसायिक अनुभवले गर्दा उनीहरू विश्वकपमा फ्रान्स, स्पेन वा ब्राजिलजस्ता ठुला टोलीहरूसँग खेल्दा डराउँदैनन् । डीआर कङ्गोका योआने विस्सा र नोआ सादिकीजस्ता युवा प्रतिभाहरूले टोलीमा चाँडै स्थान बनाएर परिपक्व प्रदर्शन गरिरहेका छन् । 

ख) शारीरिक शक्ति र आधुनिक रणनीतिको संयोजनपहिले अफ्रिकी फुटबल केवल शारीरिक शक्ति र गतिको लागि मात्र चिनिन्थ्यो । तर वर्तमान समयमा अफ्रिकी प्रशिक्षक र ट्याक्टिसियनहरूले टोलीलाई आधुनिक रक्षात्मक रणनीति र काउन्टर–अट्याकिङ फुटबलमा निपुण बनाएका छन् । मोरक्को र आइभोरी कोस्ट यसको ज्वलन्त उदाहरण हुन्, जसले विश्वका शक्तिशाली देशहरूको आक्रामक रणनीतिलाई पूर्ण रूपमा असफल बनाउन सक्छन् । 

ग) कतार २०२२ को ‘मोरोक्कन इफेक्ट’ र बढ्दो आत्मविश्वाससन् २०२२ मा मोरक्कोले विश्वकपको सेमिफाइनल पुगेर इतिहास बनाएपछि सम्पूर्ण अफ्रिकी महाद्वीपको मानसिकतामा ठूलो परिवर्तन आएको छ । डीआर कङ्गोका खेलाडी विस्साले भनेका छन्, ‘कतारमा मोरक्कोले सेमिफाइनल खेलेपछि अब हरेक अफ्रिकी टोलीले ठूलो सपना देख्न थालेका छन् ।’ यो आत्मविश्वासकै कारण केप भर्ड र कङ्गो जस्ता तुलनात्मक रूपमा साना टोलीहरूले पनि ठूला मञ्चमा निडर भएर ऐतिहासिक नतिजाहरू निकालेका छन् । 

fifa2026 (2)

नकआउट चरणमा अफ्रिका

अबको नकआउट चरणको समीकरण अफ्रिकाका लागि निकै चुनौतीपूर्ण तर रोमान्चक छ । केही मुख्य खेलहरू यस प्रकार तय भएका छन्ः 

दक्षिण अफ्रिका विरुद्ध क्यानडा (इंगलवुड) : दक्षिण अफ्रिकाका लागि क्यानडाको गतिलाई रोक्दै इतिहास रच्ने ठूलो अवसर हुनेछ ।
मोरक्को विरुद्ध नेदरल्याण्ड्स (मोन्टेरे) : यो चरणको सबैभन्दा प्रतिक्षित खेल हो । मोरक्कोसँग नेदरल्याण्ड्स जस्तो युरोपेली शक्तिलाई ढाल्ने रणनीति र क्षमता दुवै छ । 
आइभोरी कोस्ट विरुद्ध नर्वे (अर्लिंगटन) : अर्लिंगटनमा हुने यस खेलमा आइभोरी कोस्टको शारीरिक रक्षापंक्ति र नर्वेको आक्रमणबिच कडा प्रतिस्पर्धा हुनेछ ।
इङ्गल्याण्ड विरुद्ध डीआर कङ्गो (एटलान्टा) : कङ्गोका लागि यो खेल ऐतिहासिक हुनेछ, जहाँ उनीहरूले कुनै दबाब बिना इङ्गल्याण्ड जस्तो विशाल टोली विरुद्ध आफ्नो बलियो चुनौती प्रस्तुत गर्नेछन् ।
बेल्जियम विरुद्ध सेनेगल (सिएटल) : समूह चरणमा ५ गोल गरेर फर्किएको सेनेगलले बेल्जियमको गोल्डेन जेनेरेशनलाई स्तब्ध पार्ने दाउ हेर्नेछ ।
अर्जेन्टिना विरुद्ध केप भर्ड (मियामी) : लियोनेल मेस्सीको टोली अर्जेन्टिना विरुद्ध मैदान उत्रिँदा केप भर्डका गोलकिपर र डिफेन्डरहरूले आफ्नो जीवनकै सबैभन्दा ठुलो परीक्षा दिनुपर्नेछ ।

के अब अफ्रिकाले विश्वकप जित्न सक्छ ? 

सन् २०२६ को विश्वकपको समूह चरणले एउटा कुरा स्पष्ट पारेको छः अन्तर्राष्ट्रिय फुटबलमा अब परम्परागत शक्तिहरूको मात्र एकलौटी एकाधिकार सकिएको छ । अफ्रिकी राष्ट्रहरूको यो अभूतपूर्व र कीर्तिमानी उदयले विश्व फुटबलको शक्ति सन्तुलनलाई स्थायी रूपमा बदलिदिएको छ । १० मध्ये ९ टोली नकआउटमा पुग्नुले अफ्रिकी फुटबलको सामर्थ्य र गुणस्तर उच्चस्तरमा पुगेको प्रमाणित गर्छ । 

अबको नकआउट यात्रा सहज पक्कै छैन, तर मोरक्को, इजिप्ट, सेनेगल र आइभोरी कोस्टजस्ता टोलीहरूको वर्तमान लय हेर्दा, कुनै एक अफ्रिकी राष्ट्रले यो संस्करणको फाइनलसम्मको यात्रा तय गरेर वा विश्वकप जित्दै इतिहास रचेमा पनि अब कसैले यसलाई आश्चर्य मान्ने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप