विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन गुटबन्दी अन्त्य गर्न असफल भएको छ, जहाँ नेतृत्व तहले गुटबन्दी नगर्न चेतावनी दिए पनि सार्वजनिक रूपमै छताछुल्ल गुटबन्दी देखिएको छ ।
- महाधिवेशनमा नेतृत्व छनोटको चरणसम्म आइपुग्दा रवि–बालेनले दिएको निर्देशन खण्डित भइसकेको थियो र पदाधिकारीका ६ सिटका लागि भएको मतदान अगाडि नेतृत्व तहले गुटबन्दीलाई संस्थागत रूपमै प्रारम्भ गरेको प्रतिनिधिहरूले अथ्र्याए ।
- महाधिवेशन व्यवस्थापनमा नेतृत्वको कमजोरी र आन्तरिक प्रतिस्पर्धामा देखिएको गुटबन्दी रास्वपाको राजनीतिक भविष्यका लागि खतराको घन्टी भएको निष्कर्ष निकालिएको छ, जसले गर्दा २५ प्रतिशतभन्दा बढी प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन् ।
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशन गुटबन्दी अन्त्य गर्न असफल देखिएको छ । चितवनको भरतपुरमा निर्धारित मिति (असार ७–९) भन्दा तीन दिन ढिला गरी असार १२ गते सम्पन्न महाधिवेशनमा गुटबन्दी सार्वजनिक रूपमै छताछुल्ल भयो ।
नेतृत्व तहमा जोकोहीले उम्मेदवारी दिन नसक्ने गरी आवेदन दस्तुर र समर्थक संख्या अत्यधिक राख्नु, संस्थापक पक्षभित्रै गुटबन्दीको झल्को दिनेगरी प्रतिस्पर्धी उम्मेदवारबिच मोर्चाबन्दी हुनु, र बालेन समूहको हवाला दिएर सीमित उम्मेदवारलाई जिताउन आन्तरिक सूचना प्रवाह गरिनुजस्ता गतिविधिले स्वच्छ आन्तरिक प्रतिस्पर्धामाथि गम्भीर प्रश्न उठाएको छ ।
_7jwwIipDLX.jpg)
- रवि–बालेनको चेतावनी तर छताछुल्ल गुटबन्दी
असार ६ गते बसेको रास्वपाको अन्तिम केन्द्रीय समिति बैठकले महाधिवेशनमा प्यानल बनाउन रोक लगाएको थियो । यदि पार्टीको निर्णय विपरीत गुटबन्दी गरेको वा कुनै उम्मेदवारलाई सहयोग गर्न प्रचार गरेको पाइएमा कारबाही गर्ने निर्देशनात्मक चेतावनीसमेत दिइएको थियो । त्यसको भोलिपल्ट गेस्ट हाउस चौरमा भएको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं काठमाडौँ महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले गुटगत समूह नबनाउन आग्रह गरेका थिए ।
त्यस्ता गुटको बीउ अहिले नै रोपियो भने पछि रूख बनेपछि फाँड्नुपर्ने भन्दै उनीहरूले नेता तथा कार्यकर्तालाई सचेत गराएका थिए ।

बालेनले भनेका थिए, ‘तपाईंहरूलाई स्पष्ट के भन्न चाहन्छु भने, एउटा राम्रो नेता र राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्छ, कुनै एक समूहको मायाले मात्र पुग्दैन । त्यसैले समूह बनाउने पछाडि नलाग्नुहोला । त्यस्तो बीउ अहिल्यै नरोप्नुहोस्, जुन भोलि रूख बनेर बिचबाट फाँड्नु परोस् । यस्तो बीउ रोप्ने र रूख बनाउने काम हामी नगरौँ, पुराना नेताहरूबाट यो कुरा सिकौँ ।’
बालेनको विचारलाई समर्थन गर्दै सभापति रविले गुटबन्दीको बीउले भोलि विषालु फल दिने भन्दै सचेत गराएका थिए । ‘गुट र उपगुटको राजनीति गर्ने प्रचलन कतै हामीभित्र पनि नपसोस् । यदि हामीले गुटबन्दीको बीउ रोप्यौँ भने त्यसले भोलि विषालु फल दिनेछ । वरिष्ठ नेताज्यूले भन्नुभएझैँ, त्यस्तो अवस्था आएमा हामीले त्यो वृक्ष नै काट्नुपर्ने हुन सक्छ,’ रविले भनेका थिए, ‘हामी अहिले सही समयमा छौँ र कस्तो बीउ रोप्ने भन्ने निर्णय हाम्रै हातमा छ । यदि हामी गुटबन्दीबाट मुक्त भएर अगाडि बढ्यौँ भने रास्वपालाई लडाउन सक्ने कुनै शक्ति हुनेछैन ।’

तर, नेतृत्व छनोटको चरणसम्म आइपुग्दा रवि–बालेनले दिएको निर्देशन खण्डित भइसकेको थियो । असार १२ गते पदाधिकारीका ६ सिटका लागि भएको मतदान अगाडि नेतृत्व तहले जुन खालको भूमिका देखायो, त्यसले पार्टीभित्र गुटबन्दी संस्थागत रूपमै प्रारम्भ गरेको प्रतिनिधिहरूले अथ्र्याए । संगठनमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री पदका लागि संस्थापक रास्वपाभित्र जुन खालको अस्वस्थ प्रतिस्पर्धा देखियो, त्यसले आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने अधिकांशको भनाइ थियो । आवश्यकता अनुसार समूहगत अभ्यास गरेको भए पनि बन्द कोठाभित्र गरेको भए पार्टीका लागि हितकर हुने उनीहरूको बुझाइ थियो । मिडियामार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेपछि समर्थनबारे मौन बसेको भए निर्वाचन निष्पक्ष हुने र सन्देश सकारात्मक प्रवाह हुने प्रतिनिधिहरूको बुझाइ थियो । उनीहरूले यस्ता संवेदनशील विषयमा नेतृत्व चुकेको विश्लेषण गरे ।
- नेतृत्व छनोटमा रस्साकस्सी र ’संस्थापन’ पक्षको मोर्चाबन्दी
एक महामन्त्री पदका लागि अघिल्लो दिनसम्म चुनावी मैदानमा पाँच जना मात्र प्रतिस्पर्धामा थिए । जब केन्द्रीय सदस्यहरूको चुनावी परिणाम घोषणा भयो, पदाधिकारीमा आकांक्षीहरू ह्वात्तै बढे । आकांक्षीहरू सोचेभन्दा बढी देखिएपछि सहमतिमै नेतृत्व छनोट गर्न सभापति रविले दोस्रो चरणको अघिल्लो दिन रातभर प्रयास गर्दा पनि सफल भएनन् । सहमति पनि नहुने र निर्वाचन प्रक्रिया पनि अगाडि बढ्न नसकेपछि आक्रोशित प्रतिनिधिहरूले निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई घेरा हाली कि सहमति गर्न, कि मतदान प्रक्रिया तत्काल अगाडि बढाउन दबाब दिए । प्रतिनिधिहरूलाई आश्वस्त पार्ने क्रममा बुर्लाकोटीले आफू चुनावी प्रक्रियाबाट अगाडि बढ्न तयार भए पनि स्वार्थप्रेरित केही व्यक्तिका कारण सहमति हुन नसकेको निरीह जवाफ दिएका थिए ।
‘हामीले धेरै मेहनत गरेर पार्टी निर्माण गरेका हौँ । आन्तरिक एकतालाई सुदृढ गरी अझै शक्तिशाली पार्टी निर्माण गर्नका लागि म चुनावी प्रतिस्पर्धाबाट पछि हट्न तयार छु । तर, केही साथीहरू यस्ता देखिए कि उम्मेदवारी फिर्ता लिए भने त्यसको बदलामा मैले के पाउँछु भन्नुभयो,’ निरीहता व्यक्त गर्दै उनले भनेका थिए, ‘अघिल्लो दिनसम्म मैदानमा नदेखिएका केहीले केन्द्रीय सदस्यमा अत्यधिक मत ल्याएपछि उम्मेदवारी दिने घोषणा गरे । सभापतिले रातभर बसेर सहमतिमै छनोट गर्ने प्रयास गर्नुभयो, तर कसैले पनि उम्मेदवारी फिर्ता लिन मान्नुभएन ।’

सहमतिमै नेतृत्व छनोट गर्ने प्रयास असफल भएपछि निर्वाचन समितिले प्रक्रिया अगाडि बढायो । महामन्त्री पदका लागि निवर्तमान महामन्त्री बुर्लाकोटी, सहमहामन्त्री विपिन कुमार आचार्य, प्रवक्ता मनिष झा, सचिवालयका निवर्तमान सदस्य शिशिर खनाल, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की, रञ्जु दर्शना, प्रमोद न्यौपाने, राजुराज पाण्डे र पूर्वमन्त्री जगदीश खरेलले उम्मेदवारी दिएका थिए । मतदानका लागि प्रतिनिधिहरू बन्दसत्र हलमा प्रवेश गरिरहँदा बुर्लाकोटी, पराजुली, न्यौपाने र दर्शनाले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरे । अघिल्लो दिनमै उम्मेदवारी फिर्ता लिएका खनाल र खरेलको पनि समर्थन आचार्यलाई नै भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । तर संस्थापन पक्षकै झा र कार्कीले उम्मेदवारी फिर्ता लिएनन् । पत्रकार सम्मेलनमा झाले रास्वपामा जुन खालको समूहगत अभ्यास भयो, त्यो नेतृत्वको अभिव्यक्ति विपरीत भएको जिकिर गरे ।
‘सभापतिले समूहगत अभ्यास नगर्नू भन्नुभयो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिलाई जानकारी छैन र त्यसले बदनाम गरिरहेको छ भनेर बुझ्न सकिन्छ । म मनिष झाको विरुद्ध वा कसैको समर्थनमा भन्दा पनि समूहगत अभ्यासको विरोध गरौँ,’ उनले प्रष्ट पारेका थिए । सहमतिमा जान आफूलाई नेतृत्वबाट जानकारी आए पनि त्यसलाई अस्वीकार गरेको जिकिर गर्दै झाले सहमति भनेको त्याग मात्र नभई कहिलेकाहीँ प्राप्ति पनि भएको तर्क गरे ।
निवर्तमान सचिवालयका एक सदस्यले सहमति वा निर्वाचन जुनसुकै प्रक्रियामा गए पनि महामन्त्रीमा विपिन आचार्यको जित सुनिश्चित भएको दाबी ‘रातोपाटी’ सँग गरेका थिए । सभापतिको रोजाइ अनुसार नै आचार्य महामन्त्री बन्ने ती सदस्यको जिकिर थियो । ‘सहमति भएमा विपिनजी शतप्रतिशत महामन्त्री बन्नुहुन्छ । सहमति भएन भने प्रतिस्पर्धाबाट जित्न उनलाई मुस्किल पर्छ । रविजी जसरी पनि महामन्त्रीमा विपिनलाई ल्याउने पक्षमा हुनुहुन्छ र त्यसका लागि समूहगत अभ्यास हुन सक्छ,’ ती सदस्यले भनेका थिए ।

ती नेताले संकेत गरे अनुसार नै आचार्य महामन्त्रीमा विजयी हुँदा नेतृत्वको निष्पक्ष भूमिकामाथि प्रश्न उठेको छ । ग्यालेक्सी टेलिभिजनदेखि नै आचार्य रविको विश्वासपात्रको रूपमा रास्वपा वृत्तमा चर्चा हुने गरेको छ । यद्यपि उनी बाहिर एक्सपोज नभए पनि पर्दा पछाडि बसेर व्यवस्थापकीय जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका व्यक्ति हुन् । उनी अध्ययनशील, शालीन तथा कूटनीतिक नेताका रूपमा चिनिन्छन् । अर्का एक महामन्त्री बालेन समूहका लागि व्यवस्था गरिएको र चुनावी प्रतिस्पर्धामा जाँदा रविकै रोजाइको पात्र नआउने देखिएपछि संस्थापन नेताहरू एक ठाउँमा उभिएको पार्टीभित्र चर्चा छ । झा र कार्की संस्थापन पक्षकै भए पनि आलोचनात्मक चेत राख्ने नेतामा पर्छन् । राजनीतिक सुझबुझ भएका झा लामो समय पत्रकारितामा सक्रिय रहेका र कांग्रेस पृष्ठभूमिका व्यक्ति मानिन्छन् । विवेकशील साझा पृष्ठभूमिबाट आएका कार्की पार्टीभित्र स्थायी प्रतिपक्ष मानिन्छन् । सागर ढकाल बालेन समूहबाट भर्खर रास्वपामा प्रवेश गरेका हुन् । विवेकशील साझाबाट रास्वपामा आएकी समीक्षा बास्कोटा र रञ्जु दर्शनाले एकाएक उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुको पछाडि नेतृत्व तहबाट आएको दबाब रहेको राजनीतिक वृत्तमा चर्चा छ । बिहानसम्म दर्शनाले उम्मेदवारी फिर्ता नलिने जिकिर गरेकी थिइन्, तर हलभित्र मतदान चलिरहँदा उनले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्न पुगिन् । पत्रकार सम्मेलन गर्दा दर्शनाले निकै दबाब महसुस गरेकी थिइन् ।
महामन्त्रीमा मात्र होइन, अन्य पदमा पनि प्रतिस्पर्धा भयो । तीन मध्ये दुई पदका लागि भएको निर्वाचनमा अर्थमन्त्री रहेका डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए । एक महिला उपसभापतिमा समीक्षा बास्कोटा, कानुनमन्त्री सोविता गौतम, पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की, निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र पूर्व उपसभामुख इन्दिरा राना मगर आकांक्षी थिए । सहमतिमै मन्त्री गौतमलाई उपसभापति बनाउने नेतृत्वको प्रयासलाई डा. कार्कीले चुनौती दिइन् । चुनावी प्रतिस्पर्धामा पराजित भए पनि राजनीतिक रूपमा कार्कीले जितेको विश्लेषण गरिएको छ । सचिवालयको पूर्व सदस्य, सांसद र मन्त्री भएर पनि फेरि सोही पदमा आकांक्षा देखाएकोमा गौतमको आलोचना भइरहेको छ । उपसभापतिमा कार्कीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको भए मन्त्री गौतमको राजनीतिक कद बढ्ने रास्वपा नेताहरूको बुझाइ थियो । संस्थापनको बदमासी विरुद्ध खरो रूपमा उत्रिएकै कारण कार्की पार्टी र सत्ताबाट वञ्चित भएको मत राख्नेहरू पनि धेरै छन् ।

सभापतिको शपथ ग्रहण समारोहमा मलिन अनुहार लिएर पुगेकी उनले निकटस्थसँग भनेकी थिइन्, ‘म हारेको होइन, हराइएको हो । पराजित भए पनि सत्ता र शक्तिको गलत प्रवृत्तिसँग निरन्तर लडिरहनेछु र पार्टीलाई रिफर्म गराएरै छाड्छु ।’
यी सबै परिदृश्य र अधिकांश प्रतिनिधिहरूको मनोभावना बुझ्दा, महाधिवेशन व्यवस्थापनमा नेतृत्वको कमजोरी र आन्तरिक प्रतिस्पर्धामा देखिएको गुटबन्दी रास्वपाको राजनीतिक भविष्यका लागि खतराको घन्टी हो भन्दा अतिशयोक्ति नहोला । पार्टी स्थापनाको चार वर्षमै ५१ लाख ८५ हजार लोकप्रिय मत प्राप्त गरी शक्तिशाली दल बन्नु चानचुने कुरा होइन । जनताले चाहे भने जस्तोसुकै शक्तिशाली बादशाहलाई पनि घोडाबाट खसाल्न सक्छन् भन्ने ज्वलन्त उदाहरण गत वर्ष भदौ २३ र २४ मा भएको ‘जेनजी’ विद्रोह थियो । करिब ८० वर्ष राजनीतिमा खारिएका कांग्रेस–एमाले गठबन्धनको दुई तिहाइ सरकारलाई जेनजी युवा पुस्ताले २८ घण्टामै ढालेर कीर्तिमान बनाएको थियो । त्यही विद्रोहको जगमा उभिएर शक्तिशाली बनेको रास्वपाको महाधिवेशनमा पुरानै पार्टीहरूको पुनरावृत्ति देखिँदा प्रतिनिधिहरू नेतृत्वप्रति सन्तुष्ट देखिएनन् । यद्यपि, केही प्रतिनिधिहरूले राजनीतिक अनुभव नभएकाले विस्तारै सिक्दै जाने हुँदा अहिले नै नेतृत्वको आलोचना गर्न नहुने तर्क गरे । तर अर्को पटक यस्तै गल्ती दोहोरिएमा छुट नदिने पक्षमा उनीहरू दृढ देखिन्थे ।
नयाँ नीति र नेतृत्व छान्न चर्को घाममा तीन दिनसम्म बस्दा पनि बन्दसत्रको प्रक्रिया अगाडि नबढेपछि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू भोट नै नहाली घर फर्किए । रास्वपाको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ३ हजार ८९८ प्रतिनिधि बन्दसत्रमा सहभागी थिए । ती मध्ये ७५.९१ प्रतिशत मात्र पहिलो चरणको निर्वाचनमा सहभागी भए । पदाधिकारी छनोटका लागि भएको दोस्रो चरणको निर्वाचनमा कुल प्रतिनिधि मध्ये ३३.०७ प्रतिशत अर्थात् १ हजार २८९ जना मात्र सहभागी भए । २ हजार ७०९ अर्थात् ६६.९३ प्रतिशत महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन् ।

- व्यवस्थापकीय कमजोरी र सांगठनिक भविष्यको चिन्ता
महाधिवेशन अवधिभर करिब तीन सय प्रतिनिधिहरूसँगको संवादमा उनीहरूको एउटै चिन्ता नेतृत्वको व्यवस्थापकीय क्षमतामा देखिएको कमजोरी थियो । उद्घाटन सत्रमा गुटबन्दीविरुद्ध भाषण गर्ने तर बन्दसत्रमा नेतृत्व तहबाटै त्यसलाई प्रोत्साहन गर्नु पार्टीका लागि घातक भएको प्रतिनिधिहरूको निष्कर्ष थियो । रास्वपाका एक केन्द्रीय विभाग प्रमुखले ‘मास बेस’ बाट उदाएको पार्टी ‘क्याडर बेस’मा जानु आत्मघाती हुने बताए । उनले भने, ‘हामी मास बेसबाट शक्तिशाली बनेका हौँ । २०७९ को निर्वाचनमा रविलाई हेरेर नै जनताले भोट हालेका हुन् । २०८२ को निर्वाचनमा पनि रवि–बालेनलाई हेरेर लोकप्रिय मत दिएका हुन् । यी नतिजाले नेपालमा अब क्याडर बेस पार्टीको आवश्यकता छैन भन्ने देखाउँछ । असफल भइसकेको क्याडर बेसमा रास्वपा जान खोज्नु भविष्यका लागि आत्मघाती बन्न सक्छ ।’
महाधिवेशनमा सहभागी अधिकांशको गुनासो डिजिटल प्लेटफर्मबाट उदाएको पार्टी पुरानै प्रचार शैली र म्यानुअल गतिविधिमा केन्द्रित भएकोमा थियो । गत फागुनको निर्वाचनमा अभूतपूर्व नतिजा ल्याएको रास्वपा पहिलो महाधिवेशनका केही बिर्सनलायक गतिविधिले बेथितिको चक्रव्यूहमा फस्न पुगेको देखिन्छ । बन्दसत्रमा रविले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको सांगठनिक जीवनमा समूहवाद, गुटबन्दी र व्यक्तिवादलाई प्रवृत्तिगत समस्याको रूपमा स्वीकार गरिएको छ । तर, आफ्नै समूहभित्रको समूहवाद अन्त्य गर्न उनी असफल देखिएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘स्थापना भएको चार वर्ष पुगे पनि रास्वपा अझै राजनीतिक अभियानबाट संस्थागत राजनीतिक दलमा रूपान्तरण भइरहेको संक्रमणकालमै छ । लोकप्रियता मात्र दीर्घकालीन आधार हुन सक्दैन, त्यसका लागि वैचारिक स्पष्टता र विधिमा आधारित नेतृत्व अपरिहार्य छ । तर, जिम्मेवारी र अनुशासनमा आधारित संगठन निर्माणमा चुनौतीहरू देखिएका छन् ।’ रविले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानाका नाममा खेल्ने प्रवृत्ति, गुटगत मानसिकता र व्यक्ति–केन्द्रित सोचले एकतालाई चुनौती दिएको स्विकारेका छन् ।
उनले प्रतिवेदनमा लेखेका छन्, ‘समूहगत संरक्षणवादले योग्य सदस्यहरूलाई निरुत्साहित बनाएको गुनासो छ । मुहान जे भए पनि हामी एउटै नदीका हिस्सा हौँ भन्ने भावनामा कमजोरी देखिएको छ । संगठन विधिभन्दा व्यक्तिमा निर्भर होला कि भन्ने चिन्ता पनि बढेको छ ।’ महाधिवेशनपछि पूर्व समूह भन्ने र निजी स्वार्थका लागि मुहान खोज्ने काम बन्द हुनुपर्ने र नेतृत्व चयन खुला, पारदर्शी र योग्यतामा आधारित हुनुपर्नेमा उनले जोड दिएका छन् । समापन समारोहमा पनि रविले कुनै गुटगत प्रतिस्पर्धा भएको भए त्यसलाई हलमै विसर्जन गरेर अघि बढ्न आग्रह गरेका थिए ।
महामन्त्रीमा विजयी भएका आचार्यले समूहगत सहकार्यको बचाउ गर्दै उन्नत लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु र त्यसअघि सहकार्य हुनु स्वाभाविक प्रक्रिया भएको जिकिर गरे । उनले भने, ‘यसले मलाई अझ बल मिलेको छ । म पार्टीलाई अझ लोकतान्त्रिक बनाउन र रास्वपाप्रति जनताको अपेक्षा पूरा गर्न खरो उत्रिनेछु ।’
राजनीतिक विश्लेषक डम्बर खतिवडा रास्वपामा गुटबन्दी संस्थागत भयो वा भएन भन्दा पनि मूल नेतृत्वलाई निर्विरोध गराएर अन्य पदमा मात्र प्रतिस्पर्धा गराउने कार्यले आन्तरिक लोकतन्त्रलाई साँघुरो बनाएको तर्क गर्छन् । उनले भने, ‘कुनै पनि दलमा गुट बन्ने र भत्किने प्रक्रिया चल्छ, तर सभापति र वरिष्ठ नेता जबरजस्ती निर्विरोध गराउने र आफ्नो रोजाइको मान्छेलाई महामन्त्री जिताउने काम निष्पक्ष भएन । नेतृत्वको नजरमा सबै नेता र कार्यकर्ता बराबर हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण