सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक

सोमबार, १५ असार २०८३, १२ : ४०
सोमबार, १५ असार २०८३

सारांश

  • रसुवागढी नाकाको मितेरी पुलबाट दुई दिनका लागि मालवाहक सवारीसाधनको आवतजावत रोकिएको छ ।
  • बाढीले पुल बगाएपछि जडान गरिएको बेलीब्रिजको परीक्षण गर्न यो निर्णय गरिएको हो ।
  • स्थानीय बासिन्दा र मानसरोवरका यात्रुलाई भने आवतजावतमा कुनै असर पर्नेछैन ।

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।

अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो । उक्त बेलीब्रिजबाट आगामी वर्षायाममा सवारीसाधन चलाउन मिल्ने वा नमिल्ने भनी परीक्षण गर्न यातायात सञ्चालनमा आज र भोलि रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

स्थानीय बासिन्दा र मानसरोवर कैलासका यात्रुलाई भने आवतजावतमा कुनै असहज नहुने प्रजिअ पन्थीले स्पष्ट पार्नुभयो । नेपालबाट केरूङ र केरूङबाट नेपाल भित्रने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिइएको छ ।

पुलको प्राविधिक परीक्षण सकिएपछि पूर्ववत्रूपमा सञ्चालन हुने इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप