कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
सारांश
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी, उद्योग र फर्म दर्ताको विवरण 'रियल टाइम'मा हेर्न सकिने गरी नयाँ 'ड्यासबोर्ड' सञ्चालनमा ल्याएको छ ।
- यस ड्यासबोर्डमार्फत अब जोकोहीले पनि कम्पनी तथा उद्योग दर्तासम्बन्धी जानकारी सहजै प्राप्त गर्न सक्नेछन् ।
- यस प्रणालीले मन्त्रालयको कामकारबाहीलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने विश्वास गरिएको छ ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणलाई सहज रूपमा सूचना प्रवाह गर्ने उद्देश्यले नयाँ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ । उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सक्रियतामा मन्त्रालयमा सुरु भएको यस ड्यासबोर्डमार्फत अब दैनिक रूपमा हुने कम्पनी, उद्योग तथा फर्म दर्तासम्बन्धी विवरणहरू ‘रियल टाइम’ मै अद्यावधिक हुने भएका छन् ।
यसअघि नेपालमा हालसम्म कति उद्योग तथा कम्पनी दर्ता भएर सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्क र जानकारी सर्वसाधारणले सहजै प्राप्त गर्न निकै कठिन हुने गरेको थियो। तर, यो ड्यासबोर्ड सञ्चालनमा आएपछि अब जोकोहीले पनि उक्त जानकारी सहजै प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले गर्ने दैनिक कामकारबाही र सेवा प्रवाहबारे सर्वसाधारणलाई सुसूचित गराउनु नै यसको मुख्य उद्देश्य हो ।
मन्त्रालयको कार्यालयमा राखिएको उक्त ड्यासबोर्डमा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीहरूलाई जोडिएको छ । यसका लागि सम्बन्धित विभागका प्रणालीहरूलाई ‘एपीआई’ मार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, आफ्नै सूचना प्रविधि प्रणाली नभएका अन्य निकायहरूको विवरणसमेत ‘डाइनामिक फर्म’ को माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मन्त्रालयले गरेको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा हुने कम्पनी तथा उद्योग दर्तासम्बन्धी विवरणलाई समेत यसै ड्यासबोर्डमा समावेश गर्ने योजना बनाएको छ ।
यो प्रणालीको सुरुवातसँगै मन्त्रालयको कामकारबाही थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री हुने विश्वास लिइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण