बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’

परीक्षाका लागिमात्र होइन, जीवन र पेसाका लागि सिकाउने शिक्षण शैली हाम्रो प्राथमिकता हो : प्रा. डा. आचार्य
बिहीबार, १८ असार २०८३, ०६ : ३०
बिहीबार, १८ असार २०८३

सारांश

  • नेपाल विश्वविद्यालयले स्नातकोत्तर तहमा 'पब्लिक पोलिसी' कार्यक्रम सुरु गरेको छ र स्नातक तहमा विद्यार्थी भर्ना तथा कक्षाहरू सञ्चालनको चरणमा छ।
  • विश्वविद्यालयले विद्यार्थी केन्द्रित शिक्षणलाई प्राथमिकता दिँदै विश्वस्तरको शिक्षा प्रदान गर्ने, पाठ्यक्रममा नवीनता ल्याउने र विद्यार्थीलाई रोजगारीका लागि सिपयुक्त बनाउने योजना बनाएको छ।
  • विश्वविद्यालयले प्राध्यापक छनोटमा निर्ममता अपनाउने, विद्यार्थीको सिकाइलाई प्राथमिकता दिने र गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीलाई बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ।

नेपाल विश्वविद्यालयको औपचारिक घोषणा भएको दुई वर्ष पुग्न थालेको छ । विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘पब्लिक पोलिसी’ मा दुई वर्षे कार्यक्रम सुरु गरेको छ । शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तहमा विद्यार्थी भर्ना सुरु भइसकेको छ भने स्नातक तहका कक्षाहरू समेत सञ्चालनको चरणमा छन् ।

विश्वविद्यालयले विद्यार्थी केन्द्रित शिक्षणलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । यसै सन्दर्भमा नेपाल विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.सूर्यराज आचार्यसँग गरिएको कुराकानीको सारसंक्षेपः

  • नेपाल विश्वविद्यालयको स्थापनाको पृष्ठभूमि बताइदिनुहोस् न ?

नेपालको शिक्षामा चासो राख्ने प्रबुद्ध बुद्धिजीवी, सामाजिक व्यक्तित्वहरूको बिचमा सात–आठ वर्ष अगाडि नेपालको उच्च शिक्षामा धेरै समस्या देखियो भनेर चर्चा भयो । नेपाली विद्यार्थी बाहिर जाने, यहीँ भएका विश्वविद्यालयका क्लासहरूमा विद्यार्थी नपुग्ने समस्या देखियो । एउटा बौद्धिक समुदायमा विश्वविद्यालय र प्राज्ञहरूले जस्तो भूमिका खेल्नुपर्ने हो, हाम्रा भविष्यका लिडर विद्यार्थीहरूमा बाहिर जाने प्रवृत्ति हाबी भयो । ट्यालेन्टेड विद्यार्थीहरू स्नातकदेखि नै बाहिर जाने भएपछि त्यसलाई कसरी रिटेन गर्न सकिन्छ भन्नेबारे छलफल हुँदा दुई–तीनवटा कुरामा निष्कर्ष रह्यो ।

एउटा, अब विश्वविद्यालय केवल डिग्रीमात्र बाँड्ने निकाय नभएर एउटा बौद्धिक अभ्यासको थलो हुनुपर्‍यो । खाली त्यो ट्युसन पढाउने केन्द्रजस्तो नभएर राष्ट्र र समाजको एउटा बौद्धिक चिन्तन हुने, नयाँ कुरा सिक्ने, सिकाउने थलो हुनुपर्‍यो । अहिले भइरहेका विश्वविद्यालयहरूमा यस्तो किसिमको संरचनात्मक परिवर्तनको महसुस भयो । स्वायत्तता, गुणस्तर, बौद्धिक इकोसिस्टम, पठनपाठनको हिसाबले साँच्चिकै विद्यार्थीले म यहीँ एउटा विश्वस्तरको शिक्षा हासिल गर्न सक्छु भन्ने विश्वास प्रदान गर्न हाम्रा विश्वविद्यालयहरूलाई सुधार गरेर त्यहाँसम्म पुर्‍याउन समय लाग्छ । त्यो सुधार्नै कठिन छ । अहिले भएको उच्च शिक्षामा देखिएका समस्याहरूको समाधान गर्ने मात्र होइन, त्यसमा एउटा नमुना हुन सक्ने क्लासरुम कस्तो हुनुपर्छ ? पाठ्यक्रम कस्तो हुनुपर्छ ? पाठ्यपुस्तक कस्तो हो ? एउटा प्राध्यापक भनेको नितान्त जागिरेमात्र होइन, प्राज्ञिक निष्ठा र बौद्धिक चेत सहित समाजलाई दिशा निर्देश गर्ने समुदाय पनि हो । त्यो बनाउन राजनीतीकरण नहुने स्वायत्तता सहितको विश्वविद्यालय महसुस भयो, जुन अहिले नेपाल विश्वविद्यालयको ऐनमा त्यो प्रावधान छ । नेपाल विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान छैन । त्यो स्वायत्त, बोर्ड अफ ट्रस्टीबाट चल्नेछ ।

  • विश्वविद्यालयको पाठ्यक्रम कस्तो छ ?

पाठ्यक्रममा पनि नयाँपन दिएका छौँ । खासगरी विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा आएको पाठ्यक्रम । संसारमा एआईको विकास भएपछि विश्वविद्यालयको पढाइ नै जरुरी छ कि छैन भन्ने बहस हुन थालेको छ । एआई र प्रविधि विकासले विश्वविद्यालय नै नचाहिने होइन, अझ धेरै चाहिन्छ, तर विश्वविद्यालयमा के पढाउने, कसरी पढाउने, विद्यार्थी विश्वविद्यालयबाट निस्किएपछि कस्तो ज्ञान र क्षमता, बौद्धिक व्यक्तित्व लिएर जाने भन्नेमा ठुलो फेरबदल चाहिन्छ । त्यो तहमा संसारभरि नै बहस चलिरहेको छ । हामीले यसलाई एउटा अवसरको रूपमा लिएर त्यो काम नयाँ विश्वविद्यालयले मात्र गर्न सक्छ भन्ने निष्कर्ष निकाल्यौँ ।

मैले सन् १९८० को जेनेरेसनमा इन्जिनियरिङ पढेँ । म इन्जिनियरको राम्रै विद्यार्थी थिएँ, तर अहिले त्यही इन्जिनियरिङमा पनि जे नयाँ प्रविधि विकास भयो, नयाँ उपकरण आए । नयाँ पुस्ताले ती सबै कुरा पढेर आउँछन् । ती सबै कुरा मैले ह्यान्डल गर्न सक्दिनँ, नयाँ पुस्ताकै जनशक्ति चाहिन्छ । त्यो सोचले खाली एउटा नयाँ विश्वविद्यालय नम्बरमा थप्नेमात्र हिसाब नभएर नितान्त भिन्न प्रकृतिको र यो अहिलेको नेपाली समाजको उच्च शिक्षामा देखिएका केही समस्या र ग्यापहरूलाई पनि फुलफिल गर्ने र महत्त्वपूर्ण कुरा हाम्रा मेधावी, जेहेन्दार १२ कक्षा सकेका विद्यार्थीहरूलाई एक तहको अन्तर्राष्ट्रिय तहको एजुकेसन दिने योजना बनाएका छौँ । त्यही अनुसार लागि परेका छौँ ।

  • अन्तर्राष्ट्रिय सञ्जाल र सहकार्यबारे पनि बताइदिनुहोस् न ?

मास्टर र पीएचडी गर्न विदेशमा गयो भने अब धेरै फर्केर आउने हुन्छन् । किनभने स्नातक तहको हाईस्कुल यहाँ पढिसकेको छ भने कहीँ न कहीँ यहाँको समाजमा भिजिसकेको हुन्छ । उसको बौद्धिकता फर्केर पनि यहाँ कम्पिटेटिभ हुन सक्छ । हरेक क्षेत्रमा कन्ट्रीब्युट गर्न सक्छ । तर, स्नातक तहमै १२ क्लास पढ्ने बित्तिकै विदेश पठाउँदा त्यो विद्यार्थीले त्यहाँ विषयवस्तु मात्रै सिक्दैन, त्यहाँको मूल्य, मान्यता, समाज, राष्ट्रबारे बुझ्छ र ऊ कसरी पीआर लिने, कसरी नागरिकता लिने र त्यही समाजमा बस्ने भन्ने सोच्छ । त्यो व्यावहारिक कुरा हामी सबैले हाम्रो घरपरिवारमै देखेकै हो ।

सात–आठ वर्षदेखि सामाजिक, बौद्धिक र पेसागत हिसाबले प्रबुद्ध व्यक्तित्वहरू बसेर गहन छलफल गरी मुलुक र समाजको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेका हौँ । एउटा सामूहिक प्रयास गर्‍यौँ भने यो गर्न सकिन्छ पनि । यहाँ देशभित्रको मात्र होइन, देश बाहिरको अन्तर्राष्ट्रिय, विदेशी, नेपाली मूलको ठुलो प्राज्ञिक समुदाय पनि संलग्न छ । त्यो सबै प्रयासबाट नयाँ विश्वविद्यालय मात्र होइन, गुणस्तर सहितको र प्रभाव पर्ने, ‘नेपालमा पनि यस्तो पढाइ हुँदोरहेछ’ भन्ने खालको उदाहरण दिने अठोट र आत्मविश्वास सहितको यो पहल हो ।

  • यहाँको परीक्षा प्रणाली कस्तो रहने छ ?

हामी गुणस्तरको कुरा गर्छौं, विद्यार्थीलाई राम्रो पढाउँछौँ, रोजगारीमूलक हुन्छ भन्ने त सबैको बेसिक कुरा नै हो । एउटा सर्भे गर्दाखेरि हामीले के पायौँ भने मध्यम वर्गले आफ्नो सन्ततिको पढाइमा ठुलो लगानी गर्छ । त्यो लगानी चाहे निजी स्कुलमा खर्च गर्ने कुरा होस् अथवा १२ क्लास पढिसकेपछि विदेश पठाउनमा होस् । अस्ट्रेलिया, क्यानडा, अमेरिका, युरोप, जापान, कोरिया पठाउनमा होस्, ठुलो पैसा खर्च गर्छ । अझै केही विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका निजी कलेज छन् । त्यहाँ ठुलो विकृति छ, शुल्क महँगो छ । त्यो विदेशी सम्बन्धन भएका कलेजहरू कति नामै नसुनिएका पनि छन् । त्यहाँ नियमन केही छैन । तर, उनीहरूका एकदम राम्रो बिल्डिङ छन्, मार्केटिङ छ, प्रचारप्रसार छ ।

एकातिर समाजले र परिवारले उच्च शिक्षामा पैसा खर्च गरेको पनि छ, राज्यले पनि लगानी गरेको छ, तर त्यो अनुसारको परिणाम आएको छैन । डिस्टिङ्सन आएको, बीए पास गर्‍यो, एमए पास गर्‍यो, एमफिल गरेपछि कोरियन भाषा सिकेर कोरिया जाने लाइनमा लाग्छ । नेपालमा उच्च शिक्षा जसरी हामीले सञ्चालन गर्दैछौँ, उही पुरानै करिकुलम, पुरानै शैली, अनि त्यसलाई विद्यार्थीलाई एक्जाम पास गर्ने, उसलाई सिकाउने भन्दा पनि एक्जामको लागि तयारी गर्ने । एउटा जीवन जगतमा भोलि गएर पेसागत जीवनमा आइपर्ने एउटा बौद्धिकले एउटा पढेलेखेको मान्छेले के कुरा सामना गर्नुपर्ने हो, कस्तो सिप लिने हो, विश्वविद्यालयको क्लासबाट के सिक्ने हो भन्ने कुरामा तयारी गर्ने भन्दा पनि सेमेस्टरको परीक्षा, वार्षिक परीक्षाको लागि तयारी गर्ने ।

केही दशकदेखि हामीले उच्च शिक्षामा अभ्यास गरेको यही हो । परीक्षाको लागि विद्यार्थी तयारी गर्ने । अहिले निजी कलेजहरूले पनि यो परीक्षामा यति ग्रेड ल्यायो, १२ क्लासमा यति जनाले डिस्टिङ्सन ल्यायो भनेर फ्लेक्समा लेख्यो, विद्यार्थी र अभिभावक पनि त्यसमा दङ्ग पर्ने, तर अन्ततोगत्वा जति डिभिजन ल्याए पनि उसले जब(जागिर) नपाउने, अनि त्यसपछि त्यो डिग्री काम नगर्ने ।

  • कतिपयले अहिलेको शिक्षा प्रणाली बजारको माग अनुसार भएन भनेर आरोप लगाइरहेका छन् ? यसलाई कसरी चिर्नुहुन्छ ?

नेपालकै अहिलेको अवस्थामा पनि एउटा युनिभर्सिटी पास भएको मान्छेलाई रोजगारी नभएको भन्ने कुरा होइन । रोजगारीको सम्भावना नेपालमा छ, तर चाहिने रोजगारीको सप्लाइ भएको छैन । नेपाल विश्वविद्यालयको नीति के छ भने निजी क्षेत्रसँग, सीएनआई, एफएनसीसीआई जस्ता छाता सङ्गठनहरूसँग हामीले एक–डेढ वर्ष अगाडि नै एमओयु गर्‍यौँ र उहाँहरूसँग निरन्तर हाम्रो संवाद छ । त्यो केका लागि भने एउटा औद्योगिक प्रतिष्ठानलाई तपाईंले मान्छे लिनुपर्‍यो भने कस्तो सिप चाहिन्छ ? मिटिङमा उहाँहरूले भन्नुभयो, ‘हेर्नुस् डिग्री त यहाँबाट पास गरेको त छ, जागिर दियो, अब ६ महिनापछि निकाल्नुपर्छ किनकि ऊसँग त्यस अनुसारको सिप छैन ।’

त्यसैले पाठ्यक्रम हामीले दुई वर्ष लगाएर बनायौँ । संसारका बेस्ट युनिभर्सिटीको हेरेर र केही विदेशी प्राध्यापक पनि आउनुभयो । हाम्रो पाठ्यक्रममा इन्डस्ट्रिसँग इन्टर्नसिपको लागि, रोजगारीको लागि तेस्रो वर्ष देखि नै, उसले ग्रयाजुएट हुनु एक–दुई वर्ष अगाडि देखि नै उसलाई इन्टर्नसिपमा पठाउने योजना छ ।

एउटा उदाहरण दिऊँ, बीबीए पढेको बैंकमा जाने हुन्छ । तर, एक्सेल चलाउन आउँदैन कतिपयलाई । एमबीए गरेको छ, कम्प्युटर चलाउन, डाटा इन्ट्रीको ज्ञान छैन । अहिले त एआई नै जान्नुपर्‍यो । अहिले भइरहेका विश्वविद्यालय, कलेजहरूमा जे चलिरहेको छ, हामीले त्यो गलत गर्नुभयो भनेको होइन । त्यसमा नयाँ गर्ने कुरा, विश्वको अनुभवबाट सिकेर, अरू देशले के–के गरेका छन्, राम्रा विश्वविद्यालयले के गरेका छन्, हामी त्यो नयाँपन ल्याउने योजनामात्र होइन, तयारी पनि छ ।

नेपाल विश्वविद्यालयमा तपाईं प्राध्यापक हुन इच्छुक हुनुहुन्छ भने तपाईंले पहिला के निर्क्यौल गर्नुस् भने क्लासरुममा हुँदाखेरि नेपाल विश्वविद्यालयको भाइस चान्सलरले र रजिस्ट्रार र डिनले तपाईंलाई मन पराएर मानेको छैन, तपाईंले पढाएको विद्यार्थीले तपाईंलाई मन पराउनुपर्‍यो । हामी टेस्ट गर्छौं । विद्यार्थीले पढाएको चित्त बुझाएन भने तपाईको तीन महिनापछि जब रिन्यु हुँदैन, परीक्षण कालमा । हो, त्यो निर्ममताका साथ तपाईं एकदम क्वालिफाइड फ्याकल्टी मात्रै राख्नुस् । अक्सफोर्ड विश्वविद्यालयमा पढाउने पाठ्यपुस्तक नेपालको विश्वविद्यालय पढाउन पाइँदैन भन्ने छैन नि ।

  • भनेपछि विद्यार्थी केन्द्रित शिक्षण पद्धति तपाईंहरूको प्राथमिकता हो ?

हामीले क्लास सुरु गर्नुभन्दा पहिला फ्याकल्टीहरूलाई ट्रेनिङ दिन्छौँ । प्रश्नपत्र कसरी निकाल्ने हो ? हाम्रा प्राध्यापकहरूलाई त्यो तालिम नै छैन । किनभने प्रश्नपत्र कसरी बनाउने हो भन्ने छुट्टै विज्ञान छ । छुट्टै सिप छ । त्यसमा तालिम दिनुपर्छ । एकैपटक पढेर आएको हुँदैन, पीएचडी गरेर आएकाका लागि । त्यसैले हामीले त्यो गुणस्तर र हाम्रो विद्यार्थीले भोलि मार्केटमा गएपछि प्रतिस्पर्धी हुन्छ भन्ने हाम्रो दाबीमात्र होइन । हामी केमा सचेत छौँ भने त्यो दाबीलाई एउटा मूर्त रूप दिन तयारी के–के गर्नुपर्छ, के–के कुरा भयो भनेमात्रै त्यसरी निस्किन्छ ? गुणस्तरीय शिक्षा भएपछि हाम्रो ग्य्राजुएटले मार्केट कमान्ड गर्न सकोस्, उसलाई दुई–तीन ठाउँमा जब अफर होस् । हामी विद्यार्थी केन्द्रित शिक्षण पद्धतिमा जोड दिन्छौँ ।

नेपाल विश्वविद्यालयको ब्रान्डिङ राम्रो बिल्डिङ भएर, बोर्ड अफ ट्रस्टीका मान्छेहरू प्रख्यात मान्छेहरू भएर, डिन र भाइस चान्सलरहरू ठुलाठुला मान्छे भएर मात्र काफी हुँदैन । शासकीय लेभलमा, नेतृत्वमा पनि एक तहको निष्ठा, आदर्श, समर्पण चाहिन्छ । तर, महत्त्वपूर्ण कुरा के हो भने विश्वविद्यालय कतिखेर सफल हुन्छ भन्दा त्यहाँका ग्य्राजुएटहरू, त्यहाँबाट पढेर निस्किएका विद्यार्थीले एउटा न्यूनतम आत्मविश्वास सिकोस्, आवश्यक ज्ञान होस्, विषयको दक्षता होस्, समाज र तपाईंको बजारमा सहजै बिक्न सकोस्, प्रतिस्पर्धी होस् । हो, त्योसम्म हामीले सुरुदेखि अन्तिमसम्मको तयारीमा कतै कसर छोडेका छैनौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रशान्त वली
प्रशान्त वली
लेखकबाट थप