आत्मालाेचना गरे प्रचण्डले, औँल्याए आफ्नै कैयौँ कमजाेरी
सारांश
- पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोखरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टी क्रान्तिकारी आदर्श छाडेर व्यक्तिगत पद, प्रतिष्ठा र पैसाको पछि लागेको स्वीकार गरेका छन्।
- उनले पार्टी तत्कालको कार्यनीतिमा व्यस्त भएको र रणनीति तथा विचार ओझेलमा परेको भन्दै नेतृत्व र कार्यकर्तामा चरम व्यक्तिवाद हावी भएको बताए।
- प्रचण्डले पार्टीले श्रमजीवी वर्ग र आफ्नो जगबाट टाढिएको तथा परम्परागत दलहरू जस्तै विकृत देखिएको स्वीकार गर्दै सुधारको संकल्प गरेका छन्।
पोखरा । पुष्पकमल दाहाल 'प्रचण्ड' पोखरा आएका बेला भन्ने गर्थे- यो मेरो घर हो । पोखरा आएपछि किन-किन म अलि भावुक हुन्छु ।
राजनीतिमा आफ्नो थलोबाट राष्ट्रिय समाचार बन्ने गरी वक्तव्य दिने कांग्रेस नेता स्व. गिरिजाप्रसाद कोइरालापछि प्रचण्ड पनि हुन् । त्यसो त, सानै उमेरमा उनको थातथलो उनका अभिभावकले चितवन सारिदिएका हुन्, तर धेरैजसो भावनात्मक घोषणाहरु प्रचण्डले पोखराबाटै गर्दै आएका छन् । उनको जन्मथलो कास्की (पोखराको छिमेकी पालिका) हो । सानैमा उनको परिवार चितवन झरेपछि उनी उतै हुर्के बढे ।
२०३१ मा मार्क्सवादी अध्ययन समूह गठन गरेर सह–संस्थापक भएका उनी २०३५ मा पार्टीको पूर्णकालीन कार्यकर्ता बने । उनी २०३६ मा चितवन जिल्ला समिति सदस्य हुँदै २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव बने ।
प्रचण्ड २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय अध्यक्ष बने भने २०४१ मा नेकपा (मशाल) को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै केन्द्रीय राजनीतिको केन्द्रमा पुगे । त्यसपछि पोलिटब्यूरो सदस्य, महामन्त्री हुँदै २०४८ मा पनि नेकपा (एकताकेन्द्र) को महामन्त्रीमा उनी चयन भए । २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को तेस्रो विस्तारित बैठकपछि नाम परिवर्तन भई बनेको नेकपा (माओवादी) को महामन्त्री भएर उनी २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बने । त्यस यता उनी सर्वोच्च पदभन्दा बाहिर बसेका छैनन् । उनैले २०५२ देखि २०६२ सम्मको जनयुद्ध नेतृत्व गरे । त्यसो त उनको पार्टीको महाधिवेशन विरलै हुने गरेकाे छ ।
तर, महाविधेसनले सधैँ उनैलाई नै नेतृत्त्वमा अनुमोदन गर्दै आएको छ । २०६९ को हेटौंडा राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित उनी २०७० को विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भए । २०७५ जेठ ३ मा उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष भए । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादीबिच एकता भएको थियो ।
तर, नेकपा विघटन भयो र २०७७ फागुन २३ देखि उनी पुरानै नेकपा (माओवादी केन्द्र) को अध्यक्ष बने । अहिले फेरि एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी)सँग एकता गरेर उनी नेपाली कम्युनिष्ट पार्टीको संयोजकको भूमिकामा छन् ।
त्यही बिचमा उनी ५ पटक सांसदका रुपमा निर्वाचित भए । उनी ३ पटक नेपालको प्रधानमन्त्री पनि बने । पटक-पटक प्रधानमन्त्रीका लागि असिस्ट (सहयोग) गरे । जे होस् गणतन्त्र स्थापनापछि उनले नेतृत्व गरेको पार्टी कहिले नेतृत्वमा र कहिले सहयोगीको रुपमा सत्तामा रहिरह्यो ।
राजनीतिक अभियानको ५ दशक बिताएका तथा पार्टी र सत्ताको शिखरबाट (पदका हिसाबले) कहिलै नझरेका प्रचण्ड बुधबार होमग्राउण्ड (पोखरा) मा एकाएक आत्मालोचित सुनिए । उनले दर्जनौँ प्रश्न आफैँलाई गरे, आफूलाई सही बाटो नदेखाएकोमा भेलामा सहभागी आम नेता-कार्यकर्तालाई थप आधा दर्जन प्रश्न गरे ।
आत्मालोचनामा के-के भने प्रचण्डले ?
क्रान्तिको मूल रणनीति अर्थात् विचार र सिद्धान्तलाई ओझेलमा पारेर पार्टी तत्कालको कार्यनीतिमा व्यस्त भएको प्रचण्डले स्वीकार गरे । खासगरी सत्ता समीकरण, सरकार र संसद्को भूलभुलैयामा अलमलिएको आत्मस्वीकार उनले गरेका छन् । ‘पहिले हामी रणनीतिमा केन्द्रित हुन्थ्यौँ र रणनीति अनुसारको कार्यनीति बनाउँदै अगाडि बढ्थ्यौँ,’ उनले भने, ‘तर अहिले रणनीति र विचार भनेको भन्नको लागि, सिरानीमा घुसाएर राख्नको लागि मात्रै भयो ।’
पद, प्रतिष्ठा र पैसाको आशक्ति बढ्यो
जनयुद्ध र जनआन्दोलनबाट आएको नेतृत्व पंक्ति क्रान्तिकारी आदर्श छाडेर व्यक्तिगत पद, प्रतिष्ठा, पैसा र सुविधाको लुछाचुँडीमा फसेको उनले स्वीकारे । उनले भने, ‘हामी क्रान्तिकारी आदर्श र सामूहिक हितलाई बिर्सेर आफ्नै पद प्राप्तिको निम्ति, सुविधा प्राप्तिको निम्ति र पैसा प्राप्तिको निम्ति तछाडमछाड गर्ने भयौँ । हाम्रो सम्पूर्ण ध्यान व्यक्तिगत पद र प्रतिष्ठाको आशक्तिमा मात्रै केन्द्रित हुन पुग्यो ।’
भनाइ र गराइमा अन्तर देखायौँ
मुखले समाजवाद र क्रान्तिकारी विचारको रटान लगाउने तर व्यावहारिक रूपमा व्यक्तिवादी, पुँजीवादी र अराजक आचरण प्रदर्शन गर्ने आत्मकेन्द्रित चरित्र आफू र समकालीनहरुमै देखिएको प्रचण्डले बताए । ‘हामीले भन्न त समाजवाद भनिराख्यौँ, भन्नको लागि त भनियो,’ उनले थपे, ‘तर हाम्रो व्यवहार भने पूरै पुँजीवादी र व्यक्तिवादी भयो । यसरी हाम्रो भनाइ एउटा र गराइ अर्को हुने द्वैध चरित्र देखियो, गल्ती त्यहाँ भयो ।’
परम्परागत दलहरू जस्तै विकृत देखियौँ
पार्टीको भिन्न पहिचान स्थापित गर्न नसक्दा र व्यवहारमा कांग्रेस–एमाले जस्तै देखिँदा जनताले आफूहरूलाई अन्य परम्परागत दलभन्दा फरक ठम्याउन नसकेको यथार्थ उनले कार्यकर्तामाझ राखे । ‘हामी अरू परम्परागत पार्टी भन्दा फरक हुनुपर्ने ठाउँमा, झन् उनीहरू भन्दा बढी पद र प्रतिष्ठाका निम्ति, पैसाका निम्ति जे पनि गर्न तयार हुने शक्ति जस्तो देखियौँ,’ आत्मालोचित हुँदै उनले आफ्नै गल्ती अघि सारे, ‘जनताले हेर्दा त हामी कांग्रेस र एमालेभन्दा पनि बढी विकृत देखिन पुग्यौँ ।’
श्रमजीवी वर्ग र आफ्नो जगबाट टाढिँदै गयौँ
उत्पीडित वर्ग, मजदुर र किसानको अधिकारका लागि लडेको पार्टी सत्तामा पुगेपछि आफ्नो आधारभूत वर्ग र जगबाट टाढिएको तथा वर्ग आन्दोलनलाई बिर्सिएको टिप्पणी प्रचण्डले गरे । ‘हामीले नै प्रतिनिधित्व गरेको र हिजो जसको मुक्तिका निम्ति लडेको हो, आज त्यही उत्पीडित वर्ग हामीदेखि निराश भयो । हामी उनीहरूबाट टाढा भयौँ र उनीहरूलाई पनि यिनीहरूबाट पनि केही हुँदो रहेनछ भन्ने गहिरो निराशा पैदा गरायौँ,’ उनले भने ।
चरम व्यक्तिवाद र स्वार्थ केन्द्रित भयौँ
सामूहिक हित र कम्युनिष्ट आन्दोलनको बृहत्तर लक्ष्यभन्दा माथि उठेर नेतृत्व र कार्यकर्ताहरू चरम व्यक्तिवादी बन्दै गएको प्रचण्डले बताए । ‘हामी सामूहिक क्रान्तिकारी आचरण त्यागेर चरम व्यक्तिवादी र स्वार्थी भयौँ । हामीले समाजवादी हुन त बिल्कुलै छोड्यौँ र हरेक कुरामा आफ्नै क्षणिक स्वार्थ पूर्ति गर्ने दिशातिर मात्र केन्द्रित भयौँ,’ प्रचण्डले भने ।
तात्कालिक सत्ता र सुविधालाई पहिलो प्राथमिकता दियौँ
उनले अन्तिममा स्विकारेको गल्ती सत्ताको भुलभुलैयामा रामाउनु हो । जुनसुकै परिस्थितिमा पनि सत्ता र सरकार टिकाउन विभिन्न शक्तिहरूसँग सम्झौता गर्दा आफ्ना क्रान्तिकारी मूल्य र मान्यताहरू बलि चढाएको उनकै मुखबाट सुनियो । ‘हामीले गल्ती कहाँ गर्यौँ भन्दा हामी कार्यनीतिको भूलभुलैयामा र तात्कालिक क्षणिक स्वार्थ पूर्ति गर्ने कुरामा अल्झियौँ,’ उनले भने, ‘हामी सबै व्यक्तिवादी भयौँ, समाजवादी हुन छोड्यौँ । भन्न त समाजवाद भनिराखियो, तर व्यवहार सबै पुँजीवादी र व्यक्तिवादी गरियो । गल्ती त्यहाँ भयो ।’
उनले आफूलाई त प्रश्न गरे र गल्ती भएको पनि स्वीकारे, आम कम्युनिष्ट पार्टी र यसका नेताहरुले पनि रुपान्तरण भुलेर सत्ता र पदमा केन्द्रित भएको आरोप पनि लगाए । कम्युनिष्ट पार्टी र यसका नेताहरू क्रान्तिकारी रूपान्तरण भुलेर सत्ता, सुविधा र पद प्राप्त गर्ने होडबाजीमा मात्र सीमित भएका तथा मजदुर, किसान, दलित, महिला र उत्पीडितहरूको प्रतिनिधित्व गर्ने दाबी गर्ने कम्युनिष्टहरू सत्तामा पुगेपछि उनीहरूकै मुद्दा र अधिकार रक्षा गर्न उदासीन देखिएकोमा उनको प्रश्न छ ।
कार्यकर्ताले प्रश्न गर्नुपर्थ्यो, उल्टै गलत काम पछ्याए
सँगै आम पार्टी नेता कार्यकर्ताहरुले नेतृत्वलाई प्रश्न गर्नुपर्ने ठाउँमा नगरेको भन्दै उनले गुनासो पनि गरे । उनले आम नेता तथा कार्यकर्ताहरूले नेतृत्वको गलत कदम वा प्रवृत्तिमाथि प्रश्न गर्नुको साटो त्यसैलाई पछ्याएको र अनुकरण गरेको आरोप लगाए ।
केन्द्रमा नेतृत्वले सत्ताका लागि अपवित्र गठबन्धन गर्दा तलका कार्यकर्ताले त्यसको विरोध वा प्रश्न गर्नुको साटो आ–आफ्नो तहमा त्यही सिको गरेको प्रचण्डले बताए । ‘यो गल्ती माथिबाट भयो । यो गल्ती लिडरसिपबाटै भयो । लिडरसिप प्रधानमन्त्री पटक–पटक हुनचाहिँ कहिले कांग्रेस, कहिले एमाले, कहिले मधेसी, कहिले कोसँग गर्छ भने तपाईंहरू पनि प्रदेशमा या पालिकामा या वडामा मिल्न थाल्नुभयो । आफ्नो निम्ति अब सबै व्यक्तिवादी भइयो,’ उनले भने ।
उनले कार्यकर्ताहरूले क्रान्तिकारी वैचारिक विचलन वा रणनीतिक गल्तीहरूमा नेतृत्वलाई प्रश्न नगरेको आरोप लगाए । ‘४५ जनाको कमिटी बनेपछि गण्डकी प्रदेशका पनि केही सिनियर कम्रेडहरूले मलाई आएदेखि भनिराख्नुभएको छ, हामी त छुट्यौँ नि कमरेड, हामीलाई के भनेर पारिएन ? हामी पर्न नपर्ने के कारण छ भन्नुभएको छ । म चाहिँ किन छुटेँ ? तर यो परिस्थिति कसरी आयो र यसको गम्भीरता के हो भन्नेमा ध्यान छैन,’ उनले भने ।
उनी आफूलाई र आम कार्यकर्तालाई प्रश्नमात्रै गरेर गएनन्, पार्टीको पुनर्जागरणका लागि सुधारिएर जानुपर्ने सङ्कल्प पनि गरेर जहाजमा उडे । तात्कालिक कार्यनीतिको भूलभुलैया र पदको आशक्तिबाट निस्किएर पुनः क्रान्तिकारी विचार र रणनीतिलाई केन्द्रमा राख्नुपर्ने उनको तर्क छ ।
धेरैपछि उनले पार्टीलाई पुनर्जीवित गर्न मजदुर, किसान, दलित, जनजाति र उत्पीडित समुदायसँगको सम्बन्धलाई तल्लो तहदेखि नै सजीव र सुदृढ बनाउनुपर्नेमा जोड दिए । दक्षिणपन्थी र प्रतिगामी शक्तिहरूले कम्युनिष्टहरूलाई सिध्याउन १०–२० वर्षको दीर्घकालीन योजना बनाएर प्रहार गरिरहेकाले कम्युनिष्टहरूले पनि रक्षात्मक मात्र नभई रणनीतिक तयारी गर्नुपर्ने प्रचण्डको उद्घोष छ । तर, कस्तो तयारी गर्ने भन्ने उनले खुलाएनन् ।
अन्तिममा प्रचण्डले वर्तमान सरकारबाट भइरहेको संविधान संशोधनको बहसलाई संविधान र संघीयता सिध्याउने हर्कत भन्न भ्याए । यसका विरुद्ध दृढतापूर्वक उभिन उनले अपिल गरे । अरु बेला उतिसारो चासो नराख्ने प्रचण्डले यसपालि जनयुद्धकालका पूराना साथीहरुलाई सम्झिएछन्, त्यो पनि पोखरा झरिसकेपछि । पार्टीभित्र निराशा र उदासीनताका कारण पुराना सहयात्रीहरू भेलामा उपस्थित नहुने उनले आकलन गरेका थिए।
‘मैले यहाँ आएर सोधेँ, केही पुराना साथी सम्झेँ । होइन, उहाँहरू त आउनुभएको छैन कि क्या हो ? उहाँहरूलाई त आउने जाँगर नलागेको हो कि क्या हो ?’ उनले मनमनै सोधेछन् । तर, सोधखोज गर्ने क्रममै हलको पछिल्लो भागमा केहीलाई भेलामा देखेपछि उत्साह देखाए ।
‘पछाडि एकजना कमरेड त उभिएको मैले देखेँ, आउनुभएको रहेछ । खुसी लाग्यो,’ उनले भने, ‘जे होस्, हिजो जनयुद्धको तयारीदेखि जनयुद्ध र जनआन्दोलनको बेलामा महत्त्वपूर्ण भूमिका खेल्ने कमरेडहरू पनि आउनु चाहिँ भएको छ भनेपछि गण्डकी प्रदेश त्यति धेरै निराश भएको रहेनछ भन्ने पर्या छ अहिले मलाई ।’
उनले इङ्गित गर्न खोजेको सहयात्रीबारे प्रस्ट पारेनन्। सम्बोधनमा भनेजस्तो कति उत्साही भित्रैबाट भएका छन् यसै भन्न सकिएन, तर प्रचण्डले पोखरामा आफ्ना गल्तीमा प्रस्टैसँग आलोचित बने । उनले केलाएका गल्तीहरू नदोहोरिनेमा कार्यकर्ताहरू चाहिँ आश्वस्त देखिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
-
मोटरसाइकल दुर्घटना, पाँच जना घाइते
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण