एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
सारांश
- पछिल्लो रिपोर्ट अनुसार एक हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ र ६ महिनाको अवधिमा दुई जनाको मृत्यु भएको छ ।
- हालसम्म ७१ जिल्लामा डेंगु संक्रमण देखिएको छ, जसमा कोशी प्रदेशमा २९२ र बागमती प्रदेशमा २६४ जना संक्रमित छन् ।
- सरकारले डेंगु नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ र 'खोज र नष्ट गर' अभियानमा जोड दिएको छ ।
काठमाडौँ । पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारीजन्य रोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गत पुस १७ देखि हालसम्म एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
यो ६ महिनाको अवधिमा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । इडीसीडीका अनुसार हालसम्म ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । झापा, सुनसरी, कास्की, चितवन, काठमाडौँ, ओखलढुंगा, मकवानपुर, पाल्पा, चितवन सहितका जिल्लामा डेंगुका बिरामी देखिएका छन् ।
कुल सङ्क्रमित सङ्ख्यामध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा २९२ जना र बागमती प्रदेशमा २६४ जना भेटिएका छन् । यस्तै मधेस प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बिनी प्रदेशमा १६७ जना, कर्णाली प्रदेशमा ३७ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लागत रूपमा हेर्दा झापा १३८ केससहित सबैभन्दा बढी प्रभावित बनेको छ भने काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा ५०, कास्कीमा ४४, ओखलढुङ्गा र चितवनमा ३९, पाल्पामा ३४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
इडीसीडीका एक अधिकारीले भने, ‘डेंगुको लक्षण सामान्य देखियो भने पारासिटामोल, झोलिलो खानेकुरा खाएपछि निको हुन्छ । कडा लक्षण देखियो भने उपचारका लागि स्वास्थ्य संस्था पुग्नुपर्छ ।’
उनका अनुसार अत्यधिक पेट दुखाई, रक्तश्राव, बेहोस हुनु डेंगुका कडा लक्षण हुन् । स्वास्थ्य वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालभर ५४ हजार ३५० जना डेंगुबाट संक्रमित भएका थिए । २०८०/०८१ मा ४८ हजार ८८३ जना र त्यसअघिको वर्ष २०७९/०८० मा ५६ हजार ३३८ जना सङ्क्रमित भएका थिए, जसले डेंगु सङ्क्रमणको सङ्ख्या वर्षैपिच्छे उतारचढाव भइरहेको देखाउँछ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.अनुज भट्टचनले डेंगु नियन्त्रणका लागि पूर्वतयारीमा जोड दिइएको बताए । उनले भने, ‘किटजन्य रोगका रूपमा रहेको डेंगु नियन्त्रणका लागि नजिकबाट नियालिरहेका छौँ । खोज र नष्ट गर अभियानमा विद्यार्थी, सुरक्षाकर्मी, निजी क्षेत्र लगायतलाई परिचालन गर्ने योजनामा छौँ । जिल्ला स्वास्थ्य कार्यालय, पालिकाले पनि सचेतनामूलक कार्यक्रम गर्दै आउनुभएको छ ।’
- सरकार के गर्दैछ ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि सरकारले आगामी आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । आगामी आर्थिक वर्षमा स्थानीय तहहरूमा डेंगु सङ्क्रमण फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अर्थात् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
साथै, जिल्लास्तरमा स्थानीय तहसँग समन्वय कायम गर्न प्रत्येक जिल्लाका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । लामखुट्टे नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने र व्यक्ति स्वयं पनि सजग र सचेत हुनुपर्ने सङ्क्रामक रोग विशेषज्ञ बताउँछन् ।

- सार्वजनिक स्वास्थ्यमा चुनौती बन्दै डेंगु
विगत केही दशकदेखि विश्वभरि नै डेंगु रोगको सङ्क्रमण अत्यधिक बढ्दै गइरहेको छ । नेपालमा पहिलोपटक सन् २००४ मा विदेशी व्यक्तिमा डेंगु सङ्क्रमण भेटिएको थियो । वार्षिक स्वास्थ्य प्रतिवेदन २०८१/०८२ अनुसार एडिस इजिप्टी र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने डेंगु रोग नेपालमा क्रमशः फैलिँदै गएको छ । इडीसीडीले २०६२/०६३ देखि २०६६/०६७ सालसम्म गरेको सर्वेक्षणमा कैलाली, दाङ, चितवन, पर्सा र झापाका सहर नजिकका क्षेत्रमा एडिस इजिप्टी लामखुट्टे भेटिई स्थानीय सङ्क्रमण पुष्टि भएको थियो । यसपछि २०६८/०६९ देखि २०७१/०७२ सालसम्म बिच–बिचमा सङ्क्रमण देखिँदै वार्षिक प्रकोपको रूप लिँदै गएको थियो ।
२०७५/०७६ सालमा ठुलो प्रकोप आएर ७७ मध्ये ६८ जिल्लामा १७ हजार ९९२ जना सङ्क्रमित भएका थिए । कोभिड–१९ महामारीको बेला (२०७६/०७७–२०७७/०७८) केही समय सङ्क्रमण घटे पनि २०७९ सालमा नेपालमा अहिलेसम्मकै ठुलो प्रकोप देखिएको थियो, जसमा ५४ हजार ७८४ जना सङ्क्रमित र ८८ जनाको मृत्यु भएको थियो । डेंगुले सार्वजनिक स्वास्थ्यमा गम्भीर चुनौती खडा गरेको प्रतिवेदनले औँल्याएको छ ।
भेक्टर बर्न डिजिज रिसर्च एन्ड ट्रेनिङ सेन्टर (भीबीडीआरटीसी) को हालैको अध्ययनले एडिस इजिप्टी र एडिस एल्बोपिक्टस दुवै प्रजातिका लामखुट्टे नेपालमा डेंगु सार्ने कुरा पुष्टि गरेको छ ।

- डेंगु के हो ?
सरुवा रोग विशेषज्ञहरूका अनुसार यो लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । एडिस एजिप्टाई/एलबोपिक्टसए जातको संक्रमित लामखुट्टेको टोकाईबाट मात्रै यो रोग सर्छ । जुनसुकै उमेर समूहलाई पनि यो रोग लाग्न सक्छ ।
- बच्न के गर्ने ?
इडिसिडिका अनुसार डेंगीबाट बच्न पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्नुपर्छ । यस्तै, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानहरूमा फालिएका काम नलाग्ने भाँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जम्न सक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ । छाला तथ अन्य स्थानमा जथाभावी फालिएका सवारी साधनका टायरलाई पानी जम्न नपाउने गरी छोपेर राख्नुहोस् वा आकाशे पानीको पहुँचबाट टाढा हुनुपर्छ ।
घर बाहिर वा भित्र राखिएका फूलका गमला वा गमला मुनिका प्लेटमा जमेको पानी कम्तीमा हप्ताको एक पटक फालेर गमला तथा प्लेटलाई राम्रोसँग सफा गर्नुपर्ने इडीसीडीको सूचनापाटीमा उल्लेख छ । बिहान, दिउँसो, राति जुनसुकै बेला सुत्दा पनि झुलको प्रयोग गर्नुपर्ने, घरभित्र लामखुट्टे छिर्न नदिन सम्भव भएसम्म झ्याल तथा ढोकामा सानो प्वाल भएको जाली प्रयोग गर्ने र पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउन इडीसीडीले सुझाव दिएको छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न विज्ञले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण