गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
कास्की । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारहरूलाई सम्मान गर्ने कार्यको थालनी गरेको छ। पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु रहेका छन्।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई जनही ५० हजार रुपैयाँ राशि, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे। तीन दिनअघि मात्र निधन भएका स्व. पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरू कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे। यही अवसरमा सम्मानित व्यक्तित्वहरूको बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ नामक पुस्तक पनि विमोचन गरिएको छ।
गत १६ असार राति ९१ वर्षको उमेरमा निधन भएका पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक तथा स्वतन्त्रता सेनानी हुन्। अर्का सम्मानित व्यक्तित्व गुभाजू आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन् जसले २०२५ सालदेखि पत्रकारिता थालेका थिए। नवलपुरका प्रेमचन्द्र रौनियार तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् भने तनहुँका विश्वबन्धु भण्डारीले पाँच दशकदेखि पत्रकारिता गर्दै ‘भञ्ज्याङ’ पत्रिका निरन्तर प्रकाशन गरिरहेका छन्। पर्वतकी सरस्वती शर्मा जिज्ञासु समाज परिवर्तनकी अभियन्ता एवं साहित्यकार हुन्।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्र हुनुपर्ने र सत्य लेख्न कसैले छेक्न नपाउने धारणा राखे। प्रविधिसँगै आमसञ्चारजगत्मा चुनौती थपिएको चर्चा गर्दै उनले भने, ‘सामाजिक सञ्जाल र मेनस्ट्रिम पत्रकारिताबीच जनतालाई फरक हो भन्ने बुझाउन सक्नुपर्छ र सरकारका कमीकमजोरीबारे पनि मिडियाले औंल्याइदिनुपर्छ।’
प्रेस रजिष्ट्रार बिमला भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै अग्रज पत्रकारको जीवन, संघर्ष, अनुभव र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रूपमा सुरक्षित गर्ने अभियान प्रारम्भ गरिएको बताइन्। इतिहास अभिलेखीकरणबाट मात्र बाँच्ने भएकाले यो सम्मानको थालनी गरिएको उनको भनाइ थियो। सम्मानित पत्रकारकातर्फबाट विश्वबन्धु भण्डारीले खुसी व्यक्त गरे।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिलेको मिडिया संकटबारे बोल्दै नवीकरण फेल भएका सञ्चारमाध्यमलाई एकपल्ट छुट दिएर नवीकरणको सुविधा दिन माग गरे। कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा गठित छनोट समितिले सम्मानित पत्रकारहरूको नाम चयन गरेको थियो। ‘स्वच्छ प्रेस : समुन्नत गण्डकी प्रदेश’ नाराका साथ आयोजित सो कार्यक्रममा मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआईको विषयमा समेत गहन छलफल भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण