चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
सारांश
- चिकित्सा शिक्षा अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा रिक्त पदाधिकारी तुरुन्त नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।
- डा केसीले अयोग्य तथा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरेर ऐन र आयोगकै अस्तित्व समाप्त पार्ने खेल भइरहेको आरोप लगाएका छन् ।
- योग्य पदाधिकारी नियुक्त नभए असार २५ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने चेतावनी डा केसीले दिएका छन् ।
काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा लामो समयदेखि रिक्त रहेका पदाधिकारीहरू तुरुन्त नियुक्त गर्न सरकारसँग माग गरेका छन् । उनले अन्तर्वार्ता सम्पन्न भएको लामो समय बितिसक्दा र अन्य संस्थानहरूमा नियुक्ति भइसक्दा पनि आयोगलाई नेतृत्वविहीन राख्नुले सरकारको नियतमाथि शङ्का उब्जाएको बताएका हुन् ।
अयोग्य तथा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरेर ऐन र आयोगकै अस्तित्व समाप्त पार्ने खेल भइरहेको आरोप लगाउँदै डा केसीले निजी क्षेत्र वा राजनीतिसँग आबद्ध नभएका, योग्य र दक्ष उम्मेदवारलाई मात्र चयन गर्न आग्रह गरे ।
सोमबार विज्ञप्ति जारी गर्दै डा केसीले वर्तमान सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई थप गुणस्तरहीन र महँगो बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे । अमेरिका जस्ता पुँजीवादी मुलुकमा समेत शिक्षा र स्वास्थ्यलाई गैरनाफामूलक क्षेत्र मानिने उदाहरण दिँदै उनले नियमनकारी निकायलाई कमजोर बनाएर माफियाकरण प्रश्रय दिन खोजिए कडा प्रतिरोध गर्ने चेतावनी दिए।
उनले आगामी असार २४ गतेभित्र योग्य पदाधिकारी नियुक्त नगरिए असार २५ गतेदेखि विगतका मागहरू सहित पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण