मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

लयमा फर्किँदै घरजग्गा कारोबार : राजस्व र कारोबार रकम बढ्यो, काठमाडौँमा सबैभन्दा धेरै वृद्धि

मङ्गलबार, २३ असार २०८३, १० : २२
मङ्गलबार, २३ असार २०८३

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा घरजग्गा कारोबारमा उत्साहजनक वृद्धि देखिएको छ।
  • यस अवधिमा कुल कारोबार सङ्ख्या, क्षेत्रफल, कुल मूल्य र राजस्व संकलनमा उल्लेख्य सुधार आएको छ।
  • काठमाडौँ महानगरपालिकामा घरजग्गा कारोबार सङ्ख्या सबैभन्दा धेरै १०८.४२ प्रतिशतले बढेको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ विषयक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा घरजग्गा कारोबारमा उत्साहजनक वृद्धि देखिएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष कारोबार सङ्ख्या, क्षेत्रफल, कुल मूल्य र राजस्व संकलनमा उल्लेख्य सुधार आएको प्रतिवेदनको तथ्याङ्कले देखाएको छ।

राष्ट्रियस्तरको तथ्याङ्क हेर्दा समीक्षा अवधिमा कुल कारोबार सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या ४.५२ प्रतिशतले घटेको थियो।

यसैगरी लिखतपारित अन्तर्गतको कारोबार ०.६२ प्रतिशतले र राजीनामा कारोबार १२.१७ प्रतिशतले बढेको छ। कारोबार भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ। अघिल्लो वर्षको यसै अवधिमा यो रकम १०० अर्ब ७ करोड रुपैयाँ मात्र थियो। 

कारोबार बढेसँगै सरकारको राजस्व संकलन पनि २३.७२ प्रतिशतले वृद्धि भएको छ। पुँजीगत लाभकरमा समेत ३१.४२ प्रतिशतको उछाल आएको छ। यद्यपि घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंक कर्जाको वृद्धिदर भने अघिल्लो वर्षको ७.५२ प्रतिशतको तुलनामा यस वर्ष केही घटेर ५.५५ प्रतिशतमा सीमित भएको छ।

प्रादेशिक अवस्थाको विश्लेषण गर्दा बागमती प्रदेशमा घरजग्गा कारोबार सबैभन्दा बढी फस्टाएको देखिन्छ। यस प्रदेशमा राजीनामा कारोबार सङ्ख्या ३३.०१ प्रतिशतले बढेको छ। मधेस प्रदेशमा भने यस्तो कारोबार ४.७९ प्रतिशतले घटेको छ। बाँकी सबै प्रदेशमा कारोबार बढेको छ।

कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतको वृद्धि देखिएको छ भने मधेस प्रदेशमा ९.३३ प्रतिशतले गिरावट आएको छ। कारोबारको कुल मूल्यमा भने सातवटै प्रदेशमा वृद्धि भएको छ। जसमा बागमती प्रदेशमा सर्वाधिक १३१.५२ प्रतिशत र मधेस प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले मूल्य बढेको छ।

जग्गाको आकारको हकमा सातवटै प्रदेशमा साढे दुईदेखि १० आना क्षेत्रफल भएका प्लटहरूको कारोबार सबैभन्दा धेरै भएको छ। अघिल्लो वर्ष मधेस प्रदेशमा २० आनाभन्दा ठूला प्लट धेरै बिक्री हुने गरेकोमा यसपटक प्रवृत्ति फेरिएको छ।

देशका छवटै महानगरपालिकामा घरजग्गा कारोबारको अवस्था निकै सकारात्मक छ। काठमाडौँ महानगरपालिकामा कुल कारोबार सङ्ख्या सबैभन्दा धेरै १०८.४२ प्रतिशतले बढेको छ। त्यसपछि क्रमशः पोखरामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगञ्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशतले कारोबार वृद्धि भएको छ।

महानगरपालिकाहरूमा कारोबार भएको कुल क्षेत्रफल र कुल मूल्य पनि बढेको छ। क्षेत्रफल र मूल्य दुवैमा काठमाडौँ महानगरपालिका अग्रस्थानमा छ। काठमाडौँमा क्षेत्रफल ११९.८९ प्रतिशत र कारोबार मूल्य २२३.१२ प्रतिशतले बढेको तथ्याङ्कले प्रष्ट पारेको छ।

उपमहानगरपालिकाहरूको तथ्याङ्कले पनि घरजग्गा कारोबारमा सुधार आएको सङ्केत गरेको छ। कलैया उपमहानगरपालिका बाहेक अन्य सबै उपमहानगरपालिकामा कारोबार सङ्ख्या बढेको छ। बुटवलमा सर्वाधिक ५६.७९ प्रतिशतले कारोबार सङ्ख्या बढ्दा कलैयामा ६.९५ प्रतिशतले घटेको छ।

कुल कारोबार क्षेत्रफलको आधारमा कलैया र नेपालगञ्ज बाहेक सबै उपमहानगरपालिकामा वृद्धि भएको छ। तुलसीपुरमा क्षेत्रफल ४२.७४ प्रतिशतले बढ्दा नेपालगञ्जमा ६८.२९ प्रतिशतले घटेको छ। यद्यपि कारोबारको कुल मूल्य भने देशका ११ वटै उपमहानगरपालिकामा बढेको छ। मूल्य वृद्धिको सन्दर्भमा तुलसीपुर उपमहानगरपालिका १३४.४६ प्रतिशतको वृद्धिसहित सबैभन्दा अगाडि देखिएको छ।

739508941_4454792441427765_7685886239628309145_n739252441_1041168401779870_4245753333877676942_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप