मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

मोहम्मद सलाह र इजिप्टको ‘स्वर्णिम पुस्ता’को अधुरो सपना

मङ्गलबार, २३ असार २०८३, १० : २७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • मोहम्मद सलाहको नेतृत्वमा इजिप्टले २०२६ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप यात्रा तय गरेको छ ।
  • इजिप्टले २०२५ अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पनि स्थान बनाएको छ ।
  • हालै सम्पन्न विश्वकपमा इजिप्टले समूह चरणमा न्युजिल्यान्डलाई पराजित गर्दै विश्वकप इतिहासमा पहिलो जित दर्ता गरेको छ ।

कतिपय इजिप्टेली फुटबल समर्थकका लागि मोहम्मद सलाहले इजिप्टलाई सन् २०१८ र २०२६ मा विश्वकपमा पुर्‍याएको उपलब्धिले पनि एउटा पीडा मेटाउन सकेको छैन । त्यो पीडा हो– सन् २००६, २०१० र २०१४ मा इजिप्टको चर्चित ‘स्वर्णिम पुस्ता’ ले विश्वकप खेल्ने अवसर नै नपाउनु ।

पूर्वराष्ट्रिय टोलीका खेलाडी तथा अहिले मोडर्न एमटीआई टीभीका विश्वकप विश्लेषक अहमद एलशेखले अल जजिरासँग भने, ‘यी दुई पुस्ताको तुलना गर्नु न्यायसङ्गत हुँदैन ।’

उनले थपे, ‘स्वर्णिम पुस्ताले विश्वकपमा पुग्नबाहेक सबै कुरा हासिल ग¥यो । उनीहरूले त्यतिबेलाका विश्वविजेता इटालीलाई समेत हराएका थिए, तर विश्वकप छनोटको ड्रले उनीहरूलाई साथ दिएन ।’

सलाहमाथि ठुलो अपेक्षा र दबाब

हालको इजिप्ट टोलीका कप्तान हुन् मोहम्मद सलाह । लिभरपुलमा नौ वर्ष बिताउँदा उनले क्लबस्तरमा जित्न मिल्ने सबै प्रमुख उपाधि जिते । साथै उनी इंग्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडी बने ।

यस्तो सफल करियरका बाबजुद पनि सन् २०१० यता इजिप्टले अफ्रिका कप अफ नेसन्स (एफकोन) जित्न नसक्नुको दोष धेरै समर्थकले सलाहलाई नै दिए ।

रुसमा भएको २०१८ विश्वकपमा इजिप्टलाई पु¥याएको उनको उपलब्धिलाई पनि धेरैले महत्त्व दिएनन्, किनभने इजिप्ट प्रतियोगिताबाट सबैभन्दा पहिले बाहिरिने टोली बनेको थियो ।

यूईएफए च्याम्पियन्स लिगको फाइनलमा काँधको चोट बोकेर विश्वकप पुगेका सलाहले दुई गोल गरे पनि इजिप्टले तीन वटै खेल हा¥यो, जसमा साउदी अरेबियाविरुद्धको हार पनि समावेश थियो ।

लगातार असफलताले बढाएको निराशा

सन् २०२१ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगलसँग पेनाल्टी सुटआउटमा इजिप्ट पराजित भयो । १३ महिनापछि विश्वकप प्लेअफमा फेरि सेनेगलकै सामना भयो र परिणाम उस्तै रह्यो ।

पहिलो सुटआउटमा सलाह पाँचौँ पेनाल्टी प्रहारकर्ताका रूपमा तोकिएका थिए, तर त्यतिन्जेलसम्म इजिप्ट हारिसकेकाले उनले पेनाल्टी हान्ने अवसर नै पाएनन् ।

दोस्रो सुटआउटमा पहिलो पेनाल्टी हान्न आएका सलाह स्वयं चुके । यद्यपि उनी प्रिमियर लिगका उत्कृष्ट खेलाडीमध्ये एक थिए । इजिप्टका समर्थकहरू निराश थिए ।

त्यसैले उनीहरूले २००६, २००८ र २०१० मा लगातार अफ्रिकी च्याम्पियन बनेको टोलीको सम्झनामा सान्त्वना खोजे । त्यो टोलीका नायक थिए महान् मिडफिल्डर मोहम्मद अबुट्रिका, जो आफ्नो उत्कृष्ट पहिलो टचका लागिमात्र होइन, ‘गाजाप्रति सहानुभूति राखौँ’ लेखिएको टी–सर्ट लगाएर ऐक्यबद्धता व्यक्त गरेका कारण पनि प्रसिद्ध छन् ।

सम्बन्ध टुट्ने अवस्था, तर...

समर्थकहरूको निराशा यति गहिरो थियो कि राष्ट्रिय टोलीप्रतिको विश्वास नै हराउन थालेको थियो । सन् २०२३ को अफ्रिका कप अफ नेसन्समा सलाह घाइते भएपछि उपचारका लागि लिभरपुल फर्किएका थिए । उनले टोली फाइनल पुगे आफू फर्किने बाचा पनि गरेका थिए ।

तर त्यसको केही समयमै इजिप्ट अन्तिम–१६ मा पेनाल्टी सुटआउटमा हार्दै प्रतियोगिताबाट बाहिरियो । त्यतिबेला इजिप्टेली टेलिभिजनमा विश्लेषक रहेका वर्तमान प्रशिक्षक होसाम हसनले भनेका थिए, ‘यदि सलाहले मेरो प्रशिक्षणमा यस्तो गरेको भए, म उनलाई फेरि राष्ट्रिय टोलीमा कहिल्यै बोलाउने थिइनँ ।’

तर केही सातापछि रुई भिटोरियाको बर्खास्तीपछि हसन स्वयं इजिप्टका मुख्य प्रशिक्षक नियुक्त भए ।

त्यतिबेला धेरैले विदेशी प्रशिक्षक ल्याउन आर्थिक सङ्कटले नदिएका कारण मात्रै हसनलाई नियुक्त गरिएको अनुमान गरेका थिए । अहमद एलशेख भन्छन्, ‘खेलाडीका रूपमा होसाम हसनले कल्पना गर्न सकिने सबै सफलता हासिल गरेका छन् । उनले इजिप्टका लागि कीर्तिमानी ६९ गोल गरे र तीन वटा अफ्रिका कप उपाधि जिते ।’

उनी थप भन्छन्, ‘प्रशिक्षकका रूपमा भने उनको नतिजा खासै राम्रो थिएन । उनले धेरै विवाद पनि सिर्जना गरेका थिए ।’

होसाम हसनको प्रशिक्षक जीवन समर्थकसँगको झगडा र विभिन्न विवादले भरिएको थियो, तर उनको नियुक्ति अन्ततः अप्रत्याशित रूपमा सफल निर्णय साबित भयो ।

हसनको नेतृत्वमा पुनर्जीवित सलाह

सबैको अनुमानविपरीत हसन र सलाहबिच उत्कृष्ट सम्बन्ध बन्यो । सलाहले भोगिरहेको दबाब सबैभन्दा राम्रोसँग बुझ्ने व्यक्ति सम्भवतः हसन नै थिए । उनले पनि खेलाडी जीवनभर त्यस्तै दबाब सामना गरेका थिए ।

AFP__20260703__B98J437__v1__HighRes__FblWc2026Match88AusEgy-1783345926

एलशेख भन्छन्, ‘हसनमा कप्तानजस्तो व्यक्तित्व छ । उनी अत्यन्त ऊर्जावान छन् । रणनीतिक रूपमा उनी सबैभन्दा उत्कृष्ट नहुन सक्छन्, तर टोलीलाई बलियो रक्षात्मक आधार दिन सक्छन् ।’

हसनको प्रशिक्षणमा सलाह पुनः उत्कृष्ट लयमा फर्किएका छन् । इजिप्टले २०२६ विश्वकप छनोटमा कुनै खेल नहारिकन १० मध्ये ८ खेल जित्दै विश्वकप यात्रा तय ग¥यो ।

टोलीले २०२५ अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल पनि खेल्यो, तर त्यसले पनि आलोचकलाई पूर्ण रूपमा चुप गराउन सकेन ।

अब अर्जेन्टिनाको चुनौती

निःसन्देह, इजिप्ट केवल सलाहको टोलीमात्र होइन । म्यानचेस्टर सिटीका ओमार मार्मुश र अल अह्लीका इमाम आशोरजस्ता प्रतिभाशाली खेलाडी पनि टोलीमा छन् ।

अब अपराजित इजिप्टले मंगलबार विश्वकपको अन्तिम–१६ मा साविक विजेता अर्जेन्टिनाको सामना गर्दैछ । यस चरणसम्म पुग्न इजिप्टले निकै कठिन यात्रा तय गरेको छ ।

समूह चरणमा न्युजिल्यान्डविरुद्ध दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेर इजिप्टले विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको थियो ।

इरानविरुद्धको अन्तिम समूह खेलमा ह्यामस्ट्रिङमा चोट बोकेका सलाहले अन्तिम–३२ मा अस्ट्रेलियाविरुद्ध भने पूरा १२० मिनेट खेले । पेनाल्टी सुटआउटमा उनले अस्ट्रेलियाका गोलरक्षक म्याट रायनविरुद्ध उत्कृष्ट पानेन्का शैलीमा गोल गरे ।

अबुट्रिकाको भावुक सन्देश

अस्ट्रेलिया माथिको जितपछि अहिले बीआईएन स्पोट्र्सका विश्लेषक रहेका अबुट्रिकाले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गरे ।

दुई गोल गरेका इमाम आशोरले आफूलाई अबुट्रिकासँग तुलना गरिनु गर्वको विषय भएको भन्दै ‘उनीजत्तिको आधा वा चौथाइमात्र राम्रो खेलाडी बन्न पाए पनि खुसी हुने’ बताएका थिए ।

त्यसपछि स्टुडियोमा अबुट्रिकाले भावुक हुँदै भने, ‘तिमी मभन्दा राम्रो खेलाडी हौ । तिमीले विश्वकपमा दुई गोल गरिसकेका छौ ।’

उनले यो रातलाई ‘इजिप्ट फुटबल इतिहासकै सबैभन्दा महान् रात’ समेत बताए ।

तर सबैजना त्यसमा सहमत छैनन् । खेल, शक्ति र राजनीतिबिचको सम्बन्धबारे लेख्ने लेखक करिम जिदान भन्छन्, ‘यो इजिप्ट टोली धेरै वर्ष यताकै सबैभन्दा बलियो हो, तर अझै पनि आश्चर्यजनक रूपमा कमजोर मानसिक अवस्थाबाट मुक्त हुन सकेको छैन ।’

यसबिच सलाहलाई फेरि एकपटक ‘इजिप्टका इतिहासकै महान् खेलाडी को हुन् ?’ भन्ने प्रश्न सोधियो ।

उनको उत्तर भने फेरि उस्तै थियो । ‘यस विषयमा कुनै बहस नै छैन । मोहम्मद अबुट्रिकाकै नाम आउँछ ।’

अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप