रुसी सेनामा १३१ नेपालीको मृत्यु, ९५ बेपत्ता र ९ जना युक्रेनमा बन्दी
सारांश
- परराष्ट्रमन्त्रीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ र नेपाली मौलिक पहिचान, संस्कृति र उत्पादनको विश्वव्यापी प्रवर्द्धन गर्न 'ब्राण्ड नेपाल' अभियान सञ्चालन गरिनेछ ।
- रुसी सेनामा हालसम्म १३१ जना नेपालीको मृत्यु भएको, ९५ जना बेपत्ता रहेको र ९ जना युक्रेनमा बन्दी रहेको मन्त्रीले जानकारी दिएका छन् ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम र बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन् ।
सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । नेपाललाई सूचना प्रविधि, शिक्षा र स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन तथा ऊर्जा एवं पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षण गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिने मन्त्री खनालले जानकारी दिए । यसका साथै ‘ब्राण्ड नेपाल’ अभियानमार्फत नेपाली मौलिक पहिचान, संस्कृति र उत्पादनको विश्वव्यापी प्रवर्द्धन गर्ने नीति लिइएको छ ।
मन्त्रालयले राहदानी र कन्सुलर सेवालाई पूर्ण रूपमा डिजिटलाइज गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । विदेशमा रहेका नेपालीको सीप र पुँजीलाई राष्ट्रिय विकासमा जोड्न ‘डायस्पोरा विज्ञ सञ्जाल’ र ‘ज्ञान बैंक’ स्थापना गर्ने तयारी भइरहेको छ ।
यस्तै, पहिलो पटक विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि छुट्टै बजेट विनियोजन गरिएको मन्त्री खनालले बताए । छिमेकी मुलुकहरूसँगको सम्बन्धका बारेमा बोल्दै मन्त्री खनालले भारतसँगको सीमा विवादलाई ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । चिया निर्यातमा देखिएका समस्या समाधान भइसकेको र चीनसँगका विभिन्न व्यापारिक नाकाहरूलाई थप व्यवस्थित र सुदृढ बनाउन पहल भइरहेको जानकारी उनले दिए ।
रुसी सेनामा भर्ना भएका नेपालीका सम्बन्धमा संसद्लाई जानकारी दिँदै मन्त्री खनालले परम्परागत सम्झौता भएका मुलुकबाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको प्रस्ट पारे । हालसम्म रुसी सेनामा रहेका १३१ जना नेपालीको मृत्यु भएको, ९५ जना बेपत्ता रहेको र ९ जना युक्रेनमा बन्दी अवस्थामा रहेको उनले बताए ।
मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र नेपालीलाई सेनामा भर्ना नगर्न रुसी सरकारसँग औपचारिक रूपमा आग्रह गरिएको उनको भनाइ छ । नेपालको ‘सौम्य शक्ति’ विस्तारका लागि लुम्बिनी फेलोसिप, अन्तर्राष्ट्रिय संवाद शृङ्खला र सगरमाथा संवाद जस्ता कार्यक्रमहरू सञ्चालन गरिने मन्त्रालयको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण