बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बुधबार, २४ असार २०८३, ०८ : ५१
बुधबार, २४ असार २०८३

सारांश

  • देशभर भइरहेको अविरल वर्षा र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् ।
  • मेची राजमार्गको इलाम खण्ड, मध्य पहाडी लोकमार्गको भोजपुर खण्ड, बिपी राजमार्गको खुर्कोट-नेपालथोक खण्ड, कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड, कान्ति लोकपथ, र बेनी-जोमसोम सडक खण्ड अवरुद्ध वा प्रभावित भएका छन् ।
  • कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोरमा पनि बाढीका कारण सडक अवरुद्ध भएको छ ।

काठमाडौँ । देशभर भइरहेको अविरल वर्षा र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बिहान साढे ८ बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन् ।

कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भए पनि हाल त्यहाँ एकतर्फी यातायात सुचारु गरिएको छ । 

बागमती प्रदेशमा बिपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा बाढीको सम्भावना रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड यो महिनाको २५ गतेसम्मका लागि पूर्ण रूपमा बन्द रहने जानकारी दिइएको छ । यस्तै, ललितपुरको पाङदुरमा पहिरो खसेका कारण कान्ति लोकपथ पनि ठप्प भएको छ ।

गण्डकी प्रदेशको म्याग्दी जिल्लामा दुई स्थान, बैसेरी र घुमाउने भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोरमा पनि बाढीका कारण सडक अवरुद्ध भएको छ । 

742111161_2514861102291895_2313073751576565527_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप