दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश सिंह ठगुन्ना तेस्रो पटक संसदमा पुगेका छन् । नेकपा एमालेबाट निर्वाचित ठगुन्नाले राष्ट्रियता र सीमाका विषयमा संसदमा आवाज उठाइरहन्छन् । पूर्वमन्त्री समेत रहेका ठगुन्नाले कालापानी, लिपुलेक र लिम्पियाधुराका सवालमा जोडदार आवाज उठाइरहन्छन् ।
संसदमा दार्चुलाको आवाज बुलन्द रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका ठगुन्नाले दार्चुलाको विकास, सीमा क्षेत्रको सुरक्षा, सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए । रातोपाटीको ‘सांसदसँग’ स्तम्भका लागि नरेन्द्र रौलेले ठगुन्नासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
दार्चुला भनेपछि भारतसँग सिमाना जोडिएका कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आम नेपालीले सम्झिन्छन् । यस क्षेत्रका विषयमा पहिलेदेखि नै तपाईंले संसदमा आवाज उठाइरहनु भएको छ । पछिल्लो समय प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सिमाना मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिनुभयो, यसलाई कसरी हेर्नुभएको छ ?
प्रधानमन्त्रीले सदनमा बोल्नु भएको अभिव्यक्तिलाई सम्पूर्ण देशवासीले भर्त्सना गरिसकेका छन् । त्यो एकदम गलत, राष्ट्रघाती वक्तव्य हो । सत्तारुढ दल बाहेक हाम्रो पार्टी र सबै राजनीतिक दलहरूले निरन्तर यसबारे आवाज उठाइरहनु भएको छ ।
प्रधानमन्त्रीको जुन अभिव्यक्ति आयो, त्यसप्रति हाम्रो गम्भीर आपत्ति छ । नेपालको सार्वभौमसत्ता, हाम्रो भौगोलिक अखण्डता र हाम्रो देशको अस्मितामा नै सङ्कट उत्पन्न हुने हुनाले अविलम्ब प्रधानमन्त्रीले सदनमा आएर माफी मागेर यो कुरा फिर्ता लिनुपर्छ, संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने कुरा हामीले राखिरहेका छौँ । निरन्तर सदनमा यो कुरा हामीले उठान गरिरहेका छौँ ।
भारतले दार्चुलाको भूभाग हुँदै मानसरोवरसम्म बाटो बनायो भन्ने कुरा सार्वजनिक भइसकेको छ । पछिल्लो समय त्यहाँको अवस्था के छ ?
उनीहरूले कब्जामा राखेको भूमिमा बाटो निर्माण गरिसकेका छन् । त्यसबाट कैलाश मानसरोवर यात्रा पनि सुरु गरिसकेको अवस्था छ ।
दार्चुलावासीलाई बाटो नभएको, सदरमुकाम जान धेरै हिँड्नुपरेको गुनासो सुनिन्छन्, त्यसका लागि सरकारले तत्कालै दार्चुलामा चाल्नुपर्ने कदम के छ ?
त्यसको लागि दुई वटा कुरा गर्नुपर्छ । पहिलो त हाम्रो झन्डै ४ सय वर्ग किलोमिटर भूमि भारतीय कब्जामा छ, त्यसलाई नेपालको प्रशासनिक नियन्त्रणमा ल्याउन सरकारले कूटनीतिक पहल गर्ने कुरा प्रमुख छ । दोस्रो कुरा, त्यो बाहेक अतिक्रमित भूमि नजिक रहेका हाम्रा गाउँ छन्, व्यास गाउँपालिका वडा नम्बर १ का छाङ्गरु र तिङ्कर दुई वटा बस्तीमा राज्यको पहुँच पुर्याउन अविलम्ब सडक यातायात पुर्याउने र त्यहाँका जनताहरूलाई व्यास विशेष कार्यक्रम सञ्चालन गरेर राज्यको मूलधारमा जोड्नुपर्ने हाम्रो दायित्व छ । यसको लागि मैले बजेटको नीति कार्यक्रममा छलफल गर्दा संसदमा संशोधन पनि पेस गरेको थिएँ । यो दायित्व राज्यले, सरकारले तत्काल गर्नुपर्ने अहिलेको आवश्यकता छ ।
दार्चुलाका अन्तिम सीमा क्षेत्रमा रहेका जिल्लावासीहरूका दुःख, समस्या के—के छन् ?
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् । त्यहाँको समस्या भनेको अहिले मूलतः हाम्रो राज्यसँग जोड्ने कुरा नै हो । सडक यातायातबाट अहिले पनि जोड्न सकिएको छैन । न्यून बजेट छ, त्यो बजेटको लागि पटक–पटक मैले सदनमा आवाज उठाइरहेको छु । छिटोभन्दा छिटो त्यहाँ सडक यातायात जोड्न सकियो भने ती गाउँहरू राज्यसँग जोडिन्छन् । त्यसपछि त्यहाँका बासिन्दाहरूको शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यान्नको समस्या लगायत सम्पूर्ण समस्याहरूलाई राज्यले सम्बोधन गर्नको लागि व्यास विशेष कार्यक्रमहरू सञ्चालन गर्यो भने त्यहाँका बासिन्दाहरूले आफ्नो जीविकोपार्जनमा सरलता महसुस गर्नेछन् ।
काठमाडौँलाई दार्चुला दुख्छ कि दुख्दैन ? के पाउनुभयो यत्रो लामो समयसम्म ?

यो त सबैलाई थाहा छ, अहिलेसम्मको अवस्थाले स्वाभाविक रूपमा त्यो क्षेत्र हाम्रो प्राथमिकतामा जति पर्नुपर्ने हो, त्यति पर्न सकेको छैन । बिचमा केही प्रयास भएता पनि पछिल्लो तीन–चार वर्षको अवधिमा ह्रासतिर गइरहेको छ । यसकारण काठमाडौँले, सिंहदरबारले, सरकारले, सबै राजनीतिक दलहरूले त्यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो माग रहँदै आएको छ ।
संसदमा अन्य कस्ता विषयमा आवाज उठाउन मन छ ?
राष्ट्रियताको सवाल प्रमुख हो, विकास निर्माणका सवालहरू, जनजीविकाका सवालहरू, त्यसपछि समाजमा रहेका विभिन्न वर्गका जनताले भोगिरहेका पीडाहरू, असमानताहरू । समय जति पाइन्छ, तिनै विषयमा आवाज उठाइरहेको छु, भविष्यमा पनि उठाउने छु ।
चुनावमा तपाईंका प्रतिबद्धता के–के थिए ?
मैले धेरै प्रतिबद्धता व्यक्त गरेको थिइनँ । पुराना सञ्चालन भइरहेका विकास निर्माणका आयोजनाहरूलाई पूरा गर्नेछौँ भनेको थिएँ । म तेस्रो पटक निर्वाचित भएर आइरहेको छु । ती विकास निर्माणका आयोजनाहरू सम्पन्न गर्ने पहल भइरहेको छ । दार्चुला जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान दिने सडक यातायातहरू, हवाई यातायातदेखि लिएर पालिकाहरूमा सडक जोड्ने कुराहरू, सञ्चालन भएका आयोजनाहरूलाई नै पूरा गर्ने मैले बाचा पनि गरेको थिएँ र त्यसमा काम पनि गरिरहेको छु ।
आफ्नो कार्यकाललाई उपलब्धिपूर्ण, अर्थपूर्ण बनाउन के–के काम गर्नु हुनेछ ?
म आफ्नो तर्फबाट निरन्तर लागिरहेको छु । सदनमा आवाज उठाइरहेको छु । हालै पर्यटनमन्त्रीलाई भेटेर गोकुलेश्वर एयरपोर्टको बहुवर्षीय ठेक्का खोल्दिनुस् भनेर अनुरोध गरेको छु । मेरो निरन्तर प्रयास जारी छ । अहिले सत्ता रास्वपाको छ, हामी विपक्षमा छौँ । हाम्रा आवाजलाई सरकारले कति सम्बोधन गर्छ, कति कार्यान्वयन गर्छ भन्ने कुरा अब भविष्यमा हेर्नुपर्छ । मेरो तर्फबाट निरन्तर पहल गरिरहनेछु ।
जिल्लाको विकास निर्माणका सवालहरूलाई मैले बढी उठाउने गरेको छु । र दोस्रो नम्बरमा राष्ट्रियताको सवालमा हाम्रो मिचिएको भूमि सम्बन्धी कुरालाई पटक–पटक उठाइराखेको छु । यसपालि पनि, पहिले पनि उठाएको थिएँ । त्यस बाहेक जनजीविकाका सवालहरूमा विषयवस्तुहरू उठान गरिराखेको छु ।
गोकुलेश्वर एयरपोर्ट फेरि सञ्चालनमा ल्याउनका लागि पहल गर्दै हुनुहुन्छ ?
मैले गरिरहको छु । बजेटमा पनि केही रकम परेको छ । आज पनि त्यही काममा लागिरहेको छु । तिङ्कर सडकमा यस वर्ष जम्मा १३ करोड बजेट छ । कमसे कम ३०–३५ करोड बजेटको नेपाली सेनाले माग गरेको छ । त्यो बजेट उपलब्धताको लागि अर्थमन्त्रीसँग पनि प्रयास गरिरहेका छौँ । महाकाली करिडोरलाई जोड्ने जुन चमेलिया नदीको मोटरेबल पुल धन्थलाको लागि बहुवर्षीय टेन्डर खोल्ने प्रक्रियाको लागि पनि म पहल गरिरहेको छु ।
९ वटा पालिकामध्ये अपि हिमाल गाउँपालिका अहिले पनि सदरमुकाममा जोडिएको छैन । त्यो जोड्नको लागि बजेट विनियोजन गर्न यस वर्षमात्रै ५ करोड केन्द्रबाट परेको छ र त्यसलाई बहुवर्षीय ठेक्का अन्तर्गत काम अगाडि बढाउनका लागि प्रयास गरिरहेको छु । अरु पनि थुप्रै समस्या छन् । दार्चुला भौगोलिक रूपले विकट छ, ठुलो भूगोल छ । डाँडाकाँडा धेरै बस्तीहरू छरिएर रहेका छन् । अझै पनि थुप्रै बस्तीमा बाटोघाटो पुर्याउनुपर्ने, पुलपुलेसाहरू पुर्याउनुपर्ने, खानेपानी, सिँचाइदेखि लिएर विद्युतीकरणका, टेलिफोन सुविधादेखि लिएर थुप्रै समस्या छन् । ती समस्याहरूलाई सम्भव भएसम्म हल गर्नको लागि म निरन्तर लागिरहेको छु ।
दार्चुलामा अपि हिमालजस्ता सुन्दर पर्यटकीय क्षेत्रहरू छन् । पर्यटनको विकासका लागि के–के कामहरू गर्ने योजना छ ?
अपि क्षेत्रको पर्यटन विकासको लागि सरकारले बजेट छुट्ट्याएको छ । त्यसको लागि सरकारलाई धन्यवाद पनि भन्न चाहन्छु । आगामी दिनमा यसलाई अलि बृहत् रूपमा राष्ट्रिय कार्यक्रमकै रूपमा सञ्चालन गरेर लैजानु पर्छ । जसले गर्दा दार्चुलाको समग्र विकासमा, दार्चुलाका जनताहरूको जीवनस्तरमा सुधार होस् ।
मालिकार्जुन धाम छ, त्यसको पर्यटकीय विकास गर्न राज्यले बजेट छुट्ट्याउनुपर्छ । तिङ्कर नाकाबाट कैलाश मानसरोवर जाने नाकालाई खोल्ने कुराको पनि मैले निरन्तर पहल गरिरहेको छु । अध्यागमन कार्यालय स्वीकृति भएको छ, तर अझै पनि त्यहाँ स्थापना हुन बाँकी छ । इमिग्रेसनको अफिस स्थापना गर्न सक्यौँ र छिमेकी देश चीन सरकारले पनि त्यहाँ अध्यागमन राख्यो भने राम्रो हुन्छ ।
किनभने त्यो मानसरोवर जाने एकदम छोटो नाका हो । त्यो नाकाबाट जान त्यसलाई वैधानिकता दिलाउन सक्यौँ भने लाखौँ नेपाली, भारतीय हिन्दु धर्मावलम्बीहरू कैलाश मानसरोवर जानेछन्, जसले त्यहाँको पर्यटकीय विकास हुनेछ । आफ्नो तर्फबाट यी कुराहरूमा म निरन्तर लागिरहेको छु ।
हामी चीनसँग कसरी जोडिन सक्छौँ ?
तिङ्कर नाका भनेकै चीनलाई जोड्ने हो । व्यापारिक रूपले पनि ताक्लाकोट मन्डी छ त्यहाँ । धार्मिक पर्यटकीय हिसाबले कैलाश मानसरोवर जाने रुट हो त्यो । यसकारणले त्यो नाका सञ्चालन भयो भने हामी व्यापारिक रूपले पनि जोडिन्छौँ, धार्मिक पर्यटकीय हिसाबले पनि जोडिन्छौँ ।
दार्चुलावासीलाई के सन्देश दिन चाहनु हुन्छ ?
जनताले जुन विश्वासका साथ मलाई निर्वाचित गर्नु भएको छ, यद्यपि केन्द्रमा म आबद्ध दलको सरकार छैन । हामी संख्यात्मक रूपमा संसदमा कम छौँ । तर पनि जनताका समस्याहरू, जिल्लाका विकास निर्माणका सवालहरू र हामीले योभन्दा पहिले सुरु गरेका अधुरा कामहरू पूरा गर्न मेरो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक प्रयास गर्ने कुरामा आम दार्चुलावासी जनताहरूको बिचमा राख्न चाहन्छु ।
प्रतिक्रिया