बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद्‌मा कांग्रेसले भन्यो– संसद् सामाजिक सञ्जालको कमेन्ट बक्स होइन

बुधबार, २४ असार २०८३, १२ : ००
बुधबार, २४ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार सामाजिक सञ्जाल र भर्चुअल दुनियाँमा मात्र सीमित भएको आरोप लगाएको छ ।
  • कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले सरकारले १०० दिनमा ८७ प्रतिशत प्रगति गरेको दाबी गरे पनि यथार्थ कमजोर रहेको र प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइन् ।
  • उनले सरकारले अत्यावश्यक औषधीको अभाव, शिक्षा र स्वास्थ्य क्षेत्रका त्रुटि, महँगी नियन्त्रण गर्न नसकेको र कर बढाएर जनतालाई पीडा दिएको आरोप लगाइन् ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार केवल सामाजिक सञ्जाल र ‘भर्चुअल’ दुनियाँमा मात्र सीमित भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनमा ८७ प्रतिशत प्रगति गरेको दाबी गरे पनि यथार्थको धरातल निकै कमजोर रहेको बताएकी हुन् । 

सांसद गच्छदारले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति पनि प्रश्न उठाइन् । ‘प्रधानमन्त्रीज्यू, यो सार्वभौम संसद् हो, कुनै सामाजिक सञ्जालको कमेन्ट बक्स होइन जहाँ आफूलाई मन नपरेका प्रश्न र कमेन्टहरू ‘डिलिट’ वा ‘ब्लक’ गर्न पाइयोस् । विपक्षीले हप्तौँदेखि ढोका ढकढकाउँदा पनि सरकारले वास्ता नगर्नु संसदीय गरिमा विपरीत छ,’ गच्छदारले भनिन् । 

प्रधानमन्त्रीको हलुका बोलीका कारण सुस्ता र ठोरीका सोझा नेपालीहरूले सीमापारिको चर्को दबाब र मानसिक त्रास झेल्नुपरेको उनले बताइन् । होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूलाई वर्षा र चिसोको समयमा वैकल्पिक व्यवस्था बिना नै हटाउन खोज्नु सरकारको अमानवीय पराकाष्ठा भएको उनको तर्क थियो । ‘चिसोमा रोइरहेका सुकुमबासीको आँसुले ढुङ्गा पग्लिएला, तर यो सरकारको मन पग्लिएन,’ उनले भनिन् । 

शिक्षा क्षेत्रमा नतिजा छिटो सार्वजनिक गरे पनि व्यापक प्राविधिक त्रुटि देखिएको र स्वास्थ्य क्षेत्रमा १९ अर्बको स्वास्थ्य बिमा भुक्तानी रोकिँदा अस्पतालहरूले सेवा बन्द गर्ने स्थिति आएको गच्छदारको भनाइ छ । उनले क्यान्सर र रेबिज जस्ता अत्यावश्यक औषधिको अभावले नागरिकको बाँच्न पाउने मौलिक हकमाथि प्रहार भएको बताइन् ।

सांसद गच्छदारले आर्थिक अवस्थाबारे टिप्पणी गर्दै भनिन्, ‘सरकारको गफ धेरै, काम कम भयो । पुँजीगत खर्च घटेको छ, सेयर बजार ओरालो लागेको छ र महँगी अनियन्त्रित छ । स्वास्थ्य, शिक्षा र विद्युत्मा कर थपेर गरिबको ढाड सेक्ने काम मात्र भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप