बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

चीनको चोङकिङमा ३८ महिनामै तयार भयो विश्वकै सबैभन्दा ठुलो रेल स्टेसन

बुधबार, २४ असार २०८३, १२ : ५८
बुधबार, २४ असार २०८३

सारांश

  • चीनको चोङकिङमा विश्वकै सबैभन्दा ठूलो रेल स्टेसन 'चोङकिङ इस्ट' ३८ महिनामै निर्माण सम्पन्न भएको छ।
  • यो स्टेसन जर्मनीको लेइपजिग हाउपबानहोफभन्दा १५ गुणा ठूलो छ र यसमा २९ वटा प्लेटफर्म र १५ वटा रेलवे ट्र्याकहरू रहेका छन्।
  • पहाडी भूभागमा निर्माण गरिएको यो विशाल रेल स्टेसनले आधुनिक प्रविधि र दृढ महत्वाकांक्षाको उदाहरण प्रस्तुत गरेको छ।

चोङकिङ । दक्षिण–पश्चिम चीनको चोङकिङमा अवस्थित विश्वकै सबैभन्दा ठूलो रेल स्टेसन ‘चोङकिङ इस्ट’ आधुनिक पूर्वाधार निर्माणको क्षेत्रमा एउटा अद्भुत आश्चर्यका रूपमा खडा भएको छ।

अमेरिकाको न्युयोर्कस्थित ग्रान्ड सेन्ट्रल स्टेसनभन्दा ६ गुणा र युरोपको सबैभन्दा ठूलो रेल स्टेसन जर्मनीको लेइपजिग हाउपबानहोफभन्दा १५ गुणा ठूलो यो स्टेसनले केही साना सहरहरूभन्दा पनि बढी क्षेत्र ओगटेको छ।

वास्तवमा यो स्टेसन इटालीको रोममा रहेको विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटीको कुल क्षेत्रफलभन्दा पनि दोब्बर बढी ठूलो छ। चोङकिङ इस्टमा २९ वटा प्लेटफर्म र १५ वटा रेलवे ट्र्याकहरू रहेका छन् भने यसको माथिल्लो भागमा १६,५०० टन वजनको विशाल स्टिल ट्युब ट्रसको छाना लगाइएको छ।

आठ तलासम्म फैलिएको यस स्टेसनका ४०० मिटर लामा प्लेटफर्महरू व्यस्त समयमा प्रतिघण्टा १६,००० सम्म यात्रुहरू र चीनका सबैभन्दा लामा उच्च गतिको बुलेट ट्रेनहरू व्यवस्थापन गर्न सक्ने गरी डिजाइन गरिएका छन्।

यस विश्वकै विशाल रेल स्टेसनको सबैभन्दा प्रभावशाली पक्ष के हो भने यो एउटा पहाडको चुचुरोमा निर्माण गरिएको छ। चोङकिङ सहर आफ्नो भिरालो र पहाडी भूभागका लागि प्रख्यात छ, जसका कारण यस्तो ठूलो यातायात हब निर्माण गर्न यो ठाउँ चीनका अन्य ठूला सहरहरूको तुलनामा सबैभन्दा कम उपयुक्त मानिन्थ्यो।

तर प्राविधिक ज्ञान, आधुनिक प्रविधि, दृढ महत्वाकांक्षा र ठूलो संख्यामा कामदारहरू उपलब्ध हुँदा कतिपय कठिन भूभागले पनि विकासलाई रोक्न सक्दैन भन्ने उदाहरण यो परियोजनाले प्रस्तुत गरेको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार यो विशाल रेल स्टेसन निर्माणका लागि कामदारहरूले सुरुमा एउटा ठूलो पहाडलाई नै काटेर र विस्फोट गराएर पूर्ण रूपमा हटाएका थिए र त्यसपछि मात्र निर्माणका लागि जमिन समतल बनाएका थिए।

यो अतुलनीय यातायात हब निर्माणका लागि झन्डै २० लाख क्युबिक मिटर कङ्क्रिट र करिब ३,६६,००० टन स्टिलको प्रयोग गरिएको छ। यसको निर्माण कार्यमा ४०,००० भन्दा बढी मानव कामदार र रोबोटिक मेसिनरीहरूको ठुलो फौज परिचालन गरिएको थियो। यति ठूलो र जटिल संरचना भएको चोङकिङ इस्ट रेल स्टेसन पूर्ण रूपमा तयार हुन मात्र ३८ महिनाको समय लागेको थियो।

विश्वका धेरैजसो देशहरूमा यस्ता ठूला आयोजनाको आवश्यक अनुमति र स्वीकृति लिन नै योभन्दा बढी समय लाग्ने गरेको परिप्रेक्ष्यमा यति छोटो अवधिमा निर्माण सम्पन्न हुनुलाई निकै ठुलो उपलब्धि मानिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप