बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय सहकार्य विस्तारमा जोड

बुधबार, २४ असार २०८३, १४ : ३८
बुधबार, २४ असार २०८३

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहको परिचयात्मक बैठक बुधबार सिंहदरबारमा सम्पन्न भएको छ।

मैत्री समूहकी संयोजक सांसद खुश्बु ओलीको अध्यक्षतामा भएको बैठकमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डेनियल मेउली, दूतावासका प्रतिनिधि, संसदीय मैत्री समूहका सदस्य, परराष्ट्र मन्त्रालय तथा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा नेपाल–स्विट्जरल्याण्डबीच सात दशकदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई संसदीय कूटनीतिमार्फत थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

त्यसक्रममा सुशासन, जलवायु परिवर्तन, पर्वतीय (माउन्टेन) कूटनीति, प्राविधिक तथा व्यावसायिक शिक्षा, पर्यटन, लगानी, हरित अर्थतन्त्र तथा संसदीय अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल गरिएको ओलीले जानकारी दिइन् ।

बैठकले नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहलाई नियमित संवाद, संसदीय भ्रमण, अनुभव आदानप्रदान तथा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने सक्रिय मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

साथै आगामी दिनमा दुई देशबीचको संसदीय सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गरिएको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप