देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
सारांश
- नेपाली कांग्रेसको देउवा समूहले पार्टी एकतालाई प्राथमिकतामा राखेर आपसी सहमतिमा अघि बढ्ने निर्णय गरेको छ ।
- सदस्यता अद्यावधिकमा देखिएका अवरोध हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने र क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिनुपर्ने बैठकको निष्कर्ष छ ।
- पार्टी विभाजनबाट जोगिन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पहल गर्नुपर्ने तर केही नेता भने छुट्टै बाटो तय गर्नुपर्ने पक्षमा छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । चुनदेवीमा नयाँ सम्पर्क कार्यालय उद्घाटनपछि सोमबार मङ्गलवार र बुधवार गरी तीन दिन बसेको देउवा समूहको बैठकले पार्टीलाई आपसी सहमतिबाट अगाडि बढाउन लचिलो हुने निर्णय गरेको हो
बैठक पछि नेता मीन विश्वकर्माले सदस्यता अद्यावधिकका नाममा खडा गरिएका अवरोधहरू हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष आफूहरूले निकालेको जानकारी दिए ।
सदस्यताको अद्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर सभापति गगन थापा महामन्त्री हुँदा टुङ्गिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ्नुपर्ने बैठकमा धारणा राख्ने अधिकांश नेताहरूको भनाइ रहेको विश्वकर्माले बताए ।
बैठक समापन गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले सहमतिका लागि पहल गर्नुपर्ने बताएका थिए तर सभापति थापा र उपसभापति शर्मा निकै टाढा रहेको उनको भनाइ थियो ।
‘जसले एकता गर्नुपर्ने हो, उनीहरू बहुत टाढा–टाढा छन्,’ बैठक समापनका क्रममा खड्काले भनेका थिए, ‘पार्टी विभाजन हाम्रा कारणले हुँदैन । सभापतिले चाह्यो भने पार्टी विभाजन हुन्छ ।’
समूहको बैठकमा धेरै नेताहरूले राष्ट्रिय भेला बोलाउनुपर्ने बताएका थिए। बैठकबाटै भेलाको मिति तय गर्नुपर्ने अधिकांश नेताहरूको भनाइ आएपछि बैठक समापनको अवसरमा नेता खड्काले राष्ट्रिय भेलाको मितिबारे थप सल्लाह गरेर निर्णय हुने पनि बताए ।
‘निर्णय गरिसकेपछि समय पुगेन, मिति सारौँ भन्ने अवस्था आउनुहुन्न,’ खड्काले भने, ‘यो सबै कुराबारे छलफल गरेर राष्ट्रिय भेलाको निर्णय गर्छौँ । हामी १–२ दिनमा बस्छौँ ।’
देउवा समूहमा केही नेताहरू विशेष महाधिवेशनबाट आएको नेतृत्वसँग जुधेर एकतामा लाग्नुभन्दा आफ्नो छुट्टै बाटो तय गर्नुपर्ने पक्षमा छन्। तर नेता खड्का सहित अधिकांश नेताहरू भने पार्टीमा सहमति कायम गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन्।
आफूहरू हदैसम्मको लचिलो हुँदा पनि नेतृत्वले वास्ता नगरे मात्र अर्को बाटो तय गर्नुपर्ने उनीहरूको निष्कर्ष छ। तर पूर्व उपसभापति बिमलेन्द्र निधि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेता मोहनबहादुर बस्नेत पार्टीका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दन काफ्ले सहितका केही युवा नेता नयाँ पार्टी बनाएर छुट्टै तरिकाले अगाडि बढ्नुपर्ने पक्षमा देखिएका छन् । यद्यपि समूहमा रहेका शीर्ष नेताहरू सकभर सहमतिका लागि प्रयास गर्नुपर्ने पक्षमा देखिएपछि बैठक राष्ट्रिय भेलाको मिति तय नगरी सकिएको हो।
बैठकले आगामी साउन ६ गते बीपी स्मृति दिवस छुट्टै कार्यतालिका ल्याएर मनाउने निर्णय गरेको छ। गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको सहमति विपरीत भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि सुरु भएको कांग्रेस भित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ।
मुख्य गरी अहिले १५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यताको पूर्ण डिजिटल अद्यावधि गर्ने कि नगर्ने र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशन पछि बनेको केन्द्रीय कार्य समितिमा समावेश गर्ने कि नगर्ने भन्ने विषय मिल्न सकेको छैन ।
विशेष महाधिवेशनबाट आएको समिति बाहेक देउवा समूह र डाक्टर शेखर कोइराला समूह १५औँ महाधिवेशनका लागि नवीकरण गरिसकेका क्रियाशील सदस्यहरूलाई अध्यावधिक अनिवार्य गराउन नहुने र विशेष महाधिवेशनबाट आएको समितिलाई एकीकृत गरिब १५औँ महाधिवेशनमा होमिनुपर्ने बताउँदै आएका छन्। तर संस्थापन भने त्यो मान्न तयार छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण