लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
सारांश
- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना असारको २५ दिनमै वार्षिक बजेटको करिब २० प्रतिशत रकम खर्च गरेको छ ।
- असार २५ गतेसम्ममा प्रदेश सरकारले कुल बजेटको ६७.१८ प्रतिशत अर्थात् २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ ।
- यस अवधिमा पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भई ५ अर्ब १३ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आफ्नो वार्षिक बजेटको २० प्रतिशत रकम जम्मा २५ दिनमै खर्च गरेको छ । खर्चको यो रफ्तार ‘असारे विकास’को ज्वलन्त नमुनाका रूपमा देखिएको हो ।
आर्थिक वर्षका सुरुवाती महिनामा बजेट खर्चमा उदासीन रहेको सरकारले अन्तिम महिला असारमा बजेट खर्चको बाढी नै ल्याएको हो । असार महिनाको २५ दिनमै ७ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ बजेट खर्च भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार चालु आर्थिक वर्ष (२०८२/०८३) को जेठ मसान्तसम्म प्रदेश सरकारले १८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ खर्च गरेको थियो । असार २५ गतेसम्म आइपुग्दा यो रकम बढेर २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । असारमा मात्र प्रदेश सरकारले ७ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ खर्च गरेको हो ।
लुम्बिनी सरकारको पुँजीगत खर्चमा पनि असार महिनामा उल्लेख्य वृद्धि भएको छ । जेठ मसान्तसम्म १० अर्ब ५४ करोड २७ लाख रुपैयाँ रहेको पुँजीगत खर्च असार २५ गतेसम्म १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ पुगेको छ । असारमा ५ अर्ब १३ करोड ५२ लाख रुपैयाँ पुँजीगत खर्च भएको देखिएको छ ।
प्रतिशतका आधारमा हेर्दा जेठ मसान्तसम्म कुल बजेटको ४७.२० प्रतिशत खर्च भएको थियो । असार २५ गतेसम्म आइपुग्दा खर्च बढेर ६७.१८ प्रतिशत पुगेको छ । अर्थात् असारको २५ दिनमै कुल बजेटको करिब २० प्रतिशत खर्च भएको हो ।
प्रारम्भिक विवरणअनुसार प्रदेशको कुल ३८ अर्ब ९१ करोड रुपैयाँ बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ । चालुतर्फ विनियोजन गरिएको १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात् ६७.७६ प्रतिशत खर्च भएको छ ।
त्यसैगरी पुँजीगततर्फ विनियोजन गरिएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ अर्थात् ६६.८० प्रतिशत खर्च भएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण