शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सम्पत्ति छानबिनबारे सर्वोच्चको आदेशदेखि गणेश नेपालीको मृत्युले हंगामासम्म

शुक्रबार, २६ असार २०८३, २२ : ००
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । आज मिति २०८३ साल असार महिनाको २६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ ।

१. सम्पत्ति छानबिनबारे सर्वोच्च

सर्वोच्च अदालतले पूर्वन्यायाधीश र पूर्वसैनिकहरूको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको छ।

सरकारले गठन गरेको ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ ले यी विशिष्ट क्षेत्रका व्यक्तिहरूमाथि छानबिन गर्न खोज्नु संवैधानिक व्यवस्थाको प्रतिकूल हुने भन्दै सर्वोच्चले गम्भीर प्रश्न उठाएको हो।

२. कांग्रेसको मुद्दा

नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

कांग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेसी पनि तोकेको छ ।

३. गणेश नेपाली मृत्यु

आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो । उनको मृत्युले सरकारको आलोचना भएको छ भने राजनीतिक तरंगित बनेको छ ।

४. अर्को आत्मदाह प्रयास

सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइएको छ। गोडैता नगरपालिका–१० का विवेक मण्डललाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सर्लाहीका एसपी रविन्द्र पौडेलले जानकारी दिए।

५. घटनाको विरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाले रान्यलाई गिज्याइरहेको बताएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक वासना थापाले राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आएको बताइन् ।

नेकपा एमालेले आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय कार्य भएको बताएको छ ।

६. अध्यादेश बन्यो कानुन

बालेन्द्र शाह नेतृत्वको सरकारले गत बैशाखमा जारी गरेका ४ अध्यादेश कानुन बनेका छन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि बालेन सरकारले ल्याएका ४ अध्यादेश ऐनमा रूपान्तरित भएका हुन् ।

७. निजामती सेवा नियमावली संशोधन

निजामती कर्मचारीले अब आफ्नो पीरमर्का र गुनासो राखेर सुनुवाइको माग गर्न नपाउने भएका छन् । सरकारले निजामती सेवा नियमावली, २०५० मा १६औँ संशोधन गरी कर्मचारीको ‘पीरमर्का, गुनासो र सुनुवाइसम्बन्धी व्यवस्था’ हटाएको हो ।

बिहीबार राजपत्रमा प्रकाशित भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३’ मा निजामती सेवा नियमावली, २०५० को नियम ११७ ‘क’, १३३ ‘क’ र अनुसूची १७ ‘ग’ खारेज गरिएको उल्लेख छ ।

८. इन्कारी बयान

ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृतमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्ट असार २२ मा पक्राउ परेका थिए । प्रहरी वृत्त सातदोबाटोले उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ को सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। सो कसुर अन्तर्गतको मुद्दाको सुनुवाइ प्रमुख जिल्ला अधिकारीले गर्छन् । कसुर पुष्टि भएमा ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ।

९. सिंहदरबारमा आइसब्रेक

२०८२ फागुनको निर्वाचन परिणामले नेपालको निजी क्षेत्रमा बेग्लै उत्साह र अपेक्षा जगाएको थियो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ बहुमत हासिल गरेको परिस्थिति र बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन भएसँगै काम गर्ने वातावरण बन्न सक्ने उनीहरूको विश्वास थियो  ।

अब प्रणाली परिवर्तन हुने, कर्मचारीतन्त्रको झन्झट हट्ने र लगानीको नयाँ युग सुरु हुने उद्योगी–व्यवसायीहरूले अपेक्षा गरेका थिए । लगानीकर्ताहरूले बालेनको प्रधानमन्त्रीत्वलाई आर्थिक क्रान्तिको सुरुआतका रूपमा हेरेका थिए । सबै आशंका पछिल्लो छलफलले मेटिएको छ ।

१०. सेयर बजार

यस साता सेयर बजारमा निराशाजनक प्रवृत्ति देखिएको छ। उपलब्ध ६ दिनको कारोबार तथ्याङ्कलाई हेर्दा बजार जम्मा एक दिन मात्र बढेको छ भने बाँकी ५ दिन सूचक ओरालो लागेको छ।

अघिल्लो कारोबार दिनमा २६५३.४० विन्दुमा रहेको बजार सूचक, यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा २६००.७८ विन्दुमा झरेको छ। यसरी हेर्दा समग्र सातामा बजार करिब ५२.६२ अङ्कले घटेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप