शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
नेपाली चलचित्र

साउनमा रिलिज हुँदै ४ फिल्म, भदौमा महाभिडन्त

शनिबार, २७ असार २०८३, ०९ : ००
शनिबार, २७ असार २०८३

सारांश

  • असारमा प्रदर्शनमा आएका दुई फिल्म 'आई एम जितबहादुर' र 'जाँड'ले लगानी उठाउन सकेनन् ।
  • साउन महिनामा 'गौँथली', 'कमला मिस', 'हली' र 'शक्ति' गरी ४ नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् ।
  • भदौ १९ गते 'बाः एक योद्धा', 'एलिफेन्ट्स इन द फग', 'ककाकिकी' र 'चंगुल' गरी ४ ठुला फिल्म प्रदर्शनमा आउने भएका छन् ।

काठमाडौँ । बर्खायाम र खेतीपातीको समयमा फिल्मका दर्शकहरू हलसम्म पुग्दैनन् भन्ने मान्यता छ । यही मान्यतालाई चरितार्थ गर्दैै असारमा प्रदर्शनमा आएका दुई फिल्म ‘आई एम जितबहादुर’ र ‘जाँड’ले लगानी उठाउन सकेनन् ।

आज (शुक्रबार)देखि प्रदर्शनमा आएको ‘भागदौड’को नतिजा आउन बाँकी छ । यद्यपि, असारको यो चिसो व्यावसायिक मौसमलाई चिर्दै साउन महिनामा ४ नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । साउनमा प्रदर्शन हुने फिल्म हुन् ‘गाँैथली’, ‘कमला मिस, ‘हली’ र ‘शक्ति’ । अहिलेसम्मको रिलिज क्यालेन्डर अनुसार ४ फिल्ममध्ये ‘गौँथली’ साउन १ गते, ‘शक्ति’ साउन १५ गते प्रदर्शनमा आउँदैछ भने ‘हली’ र ‘कमला मिस’ साउन २२ मा एकआपसमा भिड्दैछन् ।

साउन महिनामा प्रदर्शन हुने यी चारै फिल्मका विषयवस्तु फरक–फरक छन् । कसैले शिक्षा, कसैले सामाजिक न्याय, त कसैले मनोविज्ञान र रूपान्तरणको कुरा उठाएका छन् । असारमा सुस्ताएको हल साउनका यी विविध फिल्मले तताउने आस गरिएको छ ।

‘गौँथली’ले एउटी युवतीले शिक्षा प्राप्तिको लागि गर्ने सङ्घर्ष र उसको वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीहरूलाई मार्मिक रूपमा चित्रण गरेको छ । फिल्म डा. कपिल रिजालले निर्देशन गरेका हुन् । डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको चर्चित फिल्म ‘गौँथली’ कै नाममा आधारित भए पनि यो नयाँ फिल्मलाई आधुनिक कथामा प्रस्तुत गरिएको छ ।

फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । उनीहरूका साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, र सन्जोग रसाईली जस्ता अनुभवी कलाकारहरूको अभिनय छ ।

त्यस्तै साउन १५ मा प्रदर्शनमा आउने फिल्म ‘शक्ति’ले समाजमा अझै जरो गाडेर बसेको जातीय विभेद र कूप्रथालाई देखाउँछ । यो एक आमा र छोरीले न्यायका लागि गर्ने सङ्घर्ष र भविष्यका लागि गरिने त्यागको मार्मिक कथा हो । अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रशंसा बटुलिसकेको यो फिल्मले समाजका लुकेका पक्षहरूलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

ओस्कार विजेता नानी सहरा वाल्करले निर्देशन गरेको यो फिल्ममा लक्ष्मी बर्देवा, मेनुका प्रधान, पोलिना ओली र सृष्टि श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

यस्तै, साउन २२ मा एक अर्काेसँग भिड्न लागेको फिल्म ‘हली’ र ‘कमला मिस’ पनि फरक विषयबस्तुमा बनेको हो । ‘कमला मिस’ विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रभावित मनोवैज्ञानिक कथावस्तुमा आधारित छ । यसले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई गहिरोसँग केलाएको छ । करिब एक दशकपछि निर्देशनमा फर्किएका नीर शाहले यस फिल्ममार्फत मानव मनका जटिलताहरूलाई पर्दामा उतार्न खोजेका छन् ।

फिल्ममा कलाकार तथा निर्देशक नीर शाहको अलावा रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल लगायतका कलाकारहरूको अभिनय छ ।

‘हली’ सामाजिक रूपान्तरणको एउटा बलियो सन्देश बोकेको फिल्म हो । वास्तविक जीवनका घटनाहरूबाट प्रेरित यो फिल्मले समाज र देश परिवर्तनका लागि एक साधारण ‘हली’ नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्छ । निम्न वर्गीय पात्रको साहस र इमानदारिताले कसरी सामाजिक व्यवस्थामा ठुलो प्रभाव पार्न सक्छ भन्ने नै यसको मुख्य सन्देश हो ।

ओम प्रतीकको निर्देशन रहेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रमा विशेष आकर्षणका रूपमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा पनि देखिनेछन् ।

  • भदौमा महाभिडन्त

असार र साउन खडेरीजस्तै देखिए पनि आगामी भदौ महिनामा भने नेपाली फिल्म निकै तातिने देखिएको छ । विशेष गरी भदौ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तोक्दै ४ ठुला फिल्मले बक्सअफिसमा रोचक ‘महाभिडन्त’को सङ्केत गरेका छन् ।

फरक–फरक विधा र विषयवस्तुमा आधारित यी ४ फिल्मको एकैसाथ प्रदर्शनले हल सङ्ख्या र शो वितरणलाई लिएर निर्माताहरूबिच ठुलो ‘तछाडमछाड’ हुने देखिन्छ । भदौ १९ मा भिड्न लागेका ४ फिल्म हुन् ‘बाः एक योद्धा’, ‘एलिफेन्ट्स इन द फग’, ‘ककाकिकी’ र ‘चंगुल’ । ४ फिल्म कुशे औंसीको विशेष अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।

फिल्म ‘बाः एक योद्धा’ संगीतकार हरि लम्सालले निर्देशन गरेका हुन् । यो फिल्मले एउटा बुबाले आफ्ना सन्तानको भविष्यका लागि गर्ने त्याग, समर्पण र जीवनको कठोर सङ्घर्षको कथा बोकेको छ । फिल्ममा दिव्यदेव पन्त, झरना थापा र सुहाना थापाको मुख्य भूमिका छ ।

‘एलिफेन्ट्स इन द फग’ विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फ ‘जुरी प्राइज’ जितेर इतिहास रचेको फिल्म हो । अविनास विक्रम शाहको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा जङ्गली हात्तीको आतङ्क र अल्पसङ्ख्यक समुदायको कथा समेटिएको छ । फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ र पुष्पा थिङ लामाको सशक्त अभिनय छ ।

‘ककाकिकी’ ‘कमेडी दरबार’ टिमले निर्माण गरेको फिल्म हो । बिक्की अग्रवाल र श्रद्धा प्रसाईको संयुक्त निर्देशन रहेको फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दीया मास्के र मनोज गजुरेल लगायतका दुई दर्जनभन्दा बढी स्थापित कलाकारहरूको अभिनय छ ।

यस्तै, ‘चंगुल’ राम गौतमको निर्देशन र मालती कार्कीको निर्माणमा बनेको हो । समसामयिक राजनीतिक र सामाजिक मुद्दा उठाएको फिल्मले भ्रष्टाचारले थिलथिलो भएको देश र त्यसका विरुद्ध ‘जेनजी’ पुस्ताले गर्ने विद्रोहलाई विषय बनाएको छ । फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिम्सिना र बालकलाकार रिम्सा कार्कीको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप