शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
इतिहासका कुरा

गुरुमापा र राजामतीका आख्यानहरू

शनिबार, २७ असार २०८३, १५ : ००
शनिबार, २७ असार २०८३

सारांश

  • इटुम्बहाल विहार जुवाडे केशचन्द्र, गुरुमापा, र सुन्दरी राजामती जस्ता आख्यानहरूले भरिएको छ।
  • केशचन्द्रले जुवामा सर्वस्व हारेपछि दिव्य सुन प्राप्त गरी 'पारावत महाविहार' (इटुम्बहाल) स्थापना गरेका थिए।
  • गुरुमापाले बालबालिका मारेर खाने गरेको हल्लापछि उनलाई सहरबाहिर धपाइएको थियो र राजामती एक प्रसिद्ध नेवारी लोकगीतकी पात्र हुन्।

प्राचीन काठमाडौँ बस्तीको मध्यभागतिर अवस्थित इटुम्बहाल नामले प्रसिद्ध बौद्ध विहार चाखलाग्दा आख्यानहरूले भरिएको छ। यहाँ स्थापित बोल्ने देवीताराको मूर्ति, यस विहारका निर्माता केशचन्द्र, यहाँका गुरुमापा र यहाँकी सुन्दरी राजामतीका आख्यानहरू अझै पनि बूढापाकाहरूबाट सुन्न पाइन्छ।

अति सुन्दरी राजामती र डरलाग्दा अनुहारका गुरुमापाका आख्यानको संयोगले यो क्षेत्रमा घुम्दा रोमाञ्च थप्दछ। तिनै आख्यानहरू र तिनैसँग सम्बन्धित ऐतिहासिक प्रमाणका आधारमा यो आलेख तयार पार्ने प्रयास गरिएको छ।

१. जुवाडे केशचन्द्र :

इटुम्बहाल विहारको स्थापना राजपुत्र केशचन्द्रले गरेको मानिन्छ। यिनी नामुद जुवाडे थिए, जुवा खेलेर सर्वस्व हारे। यिनकी एक दिदी ठमेल बहालमा विवाहिता थिइन्। भोक लाग्दा उनी दिदीको घरमा खाना खान जाने गर्न थाले। दिदीले भात पस्केर ल्याएको थालसमेत चोरेर उनी जुवा खेल्न पुगे।

आजित भएर दिदीले एक दिन भान्साको भुइँमै भात पस्किदिइन्। आफ्नो यस्तो अपमान भएपछि राजपुत्र केशचन्द्र भात नखाई रुमालमा ती भात बटुलेर रुँदै गोसाइँकुण्डतर्फ लागे। बाटोमा भोकले निकै सताएपछि उनले आफूसँग रुमालमा ल्याएको भात खान तम्सिए।

KesharChandra Ko Ghar

भातमा ढुसी परिसकेको देखेर केही बेर घाममा सुकाएर मात्र खाने उनले विचार गरे। भात घाममा सुकाउँदै गर्दा केशचन्द्रलाई निद्रा लागेछ। उनी सुतिरहँदा त्यहाँका परेवाहरूले सुकाएको भात ठुङ्दै खाएछन् र त्यहीँ बिस्टा गरेर गएछन्। आफू उठ्दा बिस्टा मात्रै देखेर ज्यादै विलाप गरी रुन लागेछन्। करुणामय लोकेश्वरको आज्ञाले परेवाहरूले ती बिस्टालाई सुनको थुप्रोमा परिणत गरिदिएछन्।

आफूले बोक्नै नसक्ने सुनको थुप्रो पाएर उनी खुसी गद्गद् हुँदै सहर फर्कने विचार गरे। त्यसैबेला गुरुमापा नामका एक राक्षस उनलाई मारेर खान आएको उनले देखे। गुरुमापासँग जुक्तिपूर्वक मामाको साइनो लगाएर उनले आफ्नो बचाउ गरे अनि मामा गुरुमापालाई नै सुनको थुप्रो बोकाएर उनी घर फर्के। उनले तिनै दिव्य सुन पार्ने परेवाको सम्झनामा 'पारावत (परेवा) महाविहार' भनी विहारको स्थापना गरे। यसैलाई नेवार भाषामा इटुम्बहाल भनिन्छ।

चौधौँ शताब्दीमा लेखिएको गोपालराज वंशावलीमा सन् १२४० को तिथिमितिमा ‘यम्बु याटुम्बहार’ भनिएको उल्लेख पाइन्छ। त्यसैगरी सन् १३५७ मा लेखिएको एक ताडपत्रको पुष्पिका वाक्यमा ‘श्रीभास्करदेवसंस्कारित इतिश्रीकेशवचन्द्रकृत महाविहार’ भनी उल्लेख छ। राजा भास्करदेव (१०४५–४७) ले संस्कार गरिदिएको आधारमा केशचन्द्र वा केशवचन्द्र पनि भास्करदेवजस्तै ऐतिहासिक व्यक्तित्व थिए भन्ने जानकारी प्राप्त हुन्छ। यिनी बस्ने घर हाल इटुम्बहाल म्युजियम रहेको लङ्ग मानिन्छ।

२. गुरुमापाको कथा :

मामाको साइनो लगाएर गुरुमापालाई राजपुत्र केशचन्द्रले आफ्नो निवासमा ल्याएपछि विहार तथा वरिपरिका बच्चाहरू हराउन थाले। गुरुमापाले नै बच्चाहरू मारेर खाने गरेको हल्ला चल्यो। राजपुत्रका मामा भएको हुँदा स्थानीय सर्वसाधारण जनताले केही प्रतिरोध गर्न सकेनन्।

कोही बच्चाले रोइकराई गरी दुःख दिएमा ‘ए गुरुमापा, बच्चा लैजा !’ भन्दा गुरुमापा टुप्लुक्क त्यहाँ आएर सो बच्चा लैजान्थे, किनकि त्यस्ता बच्चा लैजान केशचन्द्रले उनलाई अधिकार दिएका थिए।

अन्तमा, गुरुमापाले केशचन्द्रकै छोरालाई पनि मारेर खाएको भेटिएपछि गुरुमापालाई सहरबाट निकालेर पूर्वपट्टिको टुँडिखेलमा प्रत्येक वर्ष सिङ्गो राँगोको मासुसहित भोज खुवाउने सर्तमा सहरबाहिर धपाइयो।

गुरुमापा पनि केशवचन्द्रजस्तै ऐतिहासिक व्यक्ति थिए भन्ने प्रमाण गुरुमापाको श्राद्ध गर्ने परम्पराले प्रस्ट्याउँछ, जुन २०४६ सालसम्म निरन्तर चलेको थियो। काल्पनिक व्यक्तिको श्राद्ध गरिँदैन। उनको श्राद्ध उनकै निवास मूल विहारकै उत्तरतर्फको लङ्गअगाडि गरिन्थ्यो। यस भवनमा गुरुमापासँग सम्बन्धित चारवटा अभिलेख कुँदिएका तामाका चित्रपटहरू राखिएका छन्।

tamrapatra

मेरी स्लसरको पुस्तक 'नेपाल मण्डल'मा प्रकाशित १६–१७ औँ शताब्दीमा बनाइएको, गाईजात्राका बेला इटुम्बहालमा प्रदर्शित गरिने पटचित्रमा गुरुमापाले बच्चाहरू चोरेर हैरान गर्न थालेपछि होलीपूर्णिमाको दिन सम्झाइबुझाई गरी टुँडिखेलमा लगी एक राँगो र एक मुरी चामलको भातको भोज प्रतिवर्ष खुवाउन ल्याउने भनी छाडिएको वर्णन छ।

इटुम्बहालका १६औँ शताब्दीका टुँडालहरूमा कुक्कुरिपा, नागार्जुनपा, डोम्बिपा, समाधिपा, इन्द्रभूति, रोहिणिपा (लुइपा) जस्ता महासिद्धहरूको मूर्ति कुँदिएको पाइएकाले त्यो क्षेत्र मध्यकालको तन्त्र–साधनास्थल थियो भन्ने आधार प्राप्त छ। तसर्थ गुरुमापा पनि एक तान्त्रिक थिए, जसले इटुम्बहालका बालकहरूको बलि दिएर आफू अमर हुन चाहेका थिए भन्ने अनुमान गर्ने आधार पाइन्छ।

maha-siddha

३. वार्तालाप गर्ने तारादेवीको मूर्ति :

इटुम्बहालको उत्तर–दक्षिणपट्टिको ताराननि चोकभित्र रहेको एक मन्दिरमा प्रज्ञापारमितातारा, महाशान्तश्वेततारा र हरिततारा देवीहरूका पवित्र मूर्तिहरू स्थापित छन्। हरिततारालाई नेपाली राजकुमारी भृकुटीको प्रतिरूप मानिन्छ भने श्वेततारालाई चिनियाँ राजकुमारीको। दुवै राजकुमारीहरू तिब्बतका सातौँ शताब्दीका राजा स्रङचङ गम्पोका विवाहित रानीहरू हुन्।

देवी तारालाई बौद्ध धर्ममा ज्ञानकी देवी मानिन्छ। बौद्ध जनविश्वासअनुसार यहाँ स्थापित श्वेततारा देवी तिब्बतको पोताला दरबारबाट नेपाल आएकी मानिन्छिन्। यी देवी मूर्तिरूपमा भए तापनि भक्तजनसँग वार्तालाप गर्नुहुन्छ र धर्मशिक्षा दिनुहुन्छ भन्ने विश्वास गरिन्छ। यी देवीको दर्शनका लागि तिब्बत, भुटानलगायतका विभिन्न मुलुकदेखि भक्तजन आउँदछन्।

इटुम्बहालमा रहेको चौधौँ शताब्दीको एक शिलालेखअनुसार तत्कालीन सामन्त मदनराम वर्धनकी बौद्धमार्गी पत्नी जैत्रलक्ष्मीले तारादेवीको मूर्ति स्थापना गरेकी देखिन्छ। यी देवी मूर्तिरूपमा भए तापनि भक्तजनसँग वार्तालाप गर्नुहुन्छ भन्ने विश्वास तिब्बतबाट सुरु भएको देखिन्छ। यी देवीको मूर्ति अति सुन्दर, सजीव र साक्षात् देखिने गरी बनाइएको हुँदा यी देवी बोल्ने देवी हुन् भनी किंवदन्ती बनेको मान्न सकिन्छ।

४. राजामतीको आख्यान :

“राजामती कुमती जिके वःसा पिरती, हाय् बाबा राजामतीचा ! (खराब मति भएकी राजामती, मसँग विवाह गरे मेरो पिरती सफल हुन्थ्यो, हाय् प्यारी राजामती !)” भन्ने गीतकी पात्र राजामती यसै विहारमा जन्मेकी शाक्यकुलकी बेजोडकी सुन्दरी छोरी थिइन्।

rajmati

उनको मावली साँखुमा थियो। गोरी, घुम्रिएको केश, लाम्चो आँखा, गालामा कोठी भएकी, खुट्टामा कल्ली, हातमा चुरा तथा अन्य गहना पहिरिएर मरु टोलको ढुङ्गेधारामा पानी लिन आएकी उनलाई हेर्न युवाहरूको लाइन लाग्थ्यो। त्यसबेलाका युवाहरू उनीसँग बिहे गर्न हुरुक्क हुन्थे। राजामती गीतमा एक युवाले राजामतीलाई बिहे गर्न नपाए काशी जान लागेँ भनी विरह पोखेको पाइन्छ।

राजामतीबारे सोधखोज गर्दा उनको घर विहारको पश्चिमपट्टिको चोकभित्र राणाकालीन शैलीको एक पुरानो घर भेटिन्छ। पुनर्निर्माण गरिएको सो घर सुन्दरी राजामतीको जन्मघरका रूपमा चिनाइन्छ। बाहिरपट्टिको घरमुनिको बाटोमा आधुनिक भित्तेचित्रमा राजामतीको सुन्दर अनुहार झल्कने गरी सो गीतको बोल तथा नोटेसन पनि चित्रित गरिएको छ। राजामतीसँग नाता पर्ने दाबी गर्ने शाक्य थरका धेरै मानिसहरू त्यहाँ भेटिन्छन्।

राजामतीको गीत निकै प्रसिद्ध स्थानीय नेवारी लोकगीत हो। सो गीत यति प्रचलित हुन पुग्यो कि सन् १८५० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफ्नो बेलायत यात्राका बेलामा यसै गीतको धुनलाई 'गार्ड अफ अनर'मा बजाउन लगाएका थिए।

राणा प्रधानमन्त्री जङ्गबहादुरकै पालामा सो गीत निकै प्रसिद्ध भइसकेको देखिँदा अर्को प्रमाण नभेटिएसम्म मध्यकालको अन्त्य वा शाहकालको सुरुवातमा राजामती जन्मेकी हुन् भन्न सकिन्छ। उपर्युक्त प्रमाणका आधारमा उनी पनि इटुम्बहालकी ऐतिहासिक व्यक्ति ठहरिन्छिन्।

यति जानकारी भएपछि के अब इटुम्बहाल र त्यहाँको म्युजियम घुम्ने होइन त ?

(संस्कृतिविद् डा. शर्मा स्वतन्त्र पत्रकार हुन्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नूतनधर शर्मा
डा. नूतनधर शर्मा
लेखकबाट थप