सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
- उनले सरकारले गरिब तथा सुकुमबासी बस्ती हटाउने, सीमावर्ती नागरिकमाथि कठोर व्यवहार गर्नेजस्ता नीतिमार्फत विभेद संस्थागत गरिरहेको आरोप लगाएका छन् ।
- महतोले न्यायपूर्ण, समावेशी र स्वाभिमानी नेपाल निर्माणका लागि सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, युवा, किसान र मजदुरलाई साझा अभियानमा एकजुट हुन आह्वान गरेका छन् ।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । वर्तमान सरकार पुरानै विभेदकारी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप उनले लगाएका छन् ।
शनिबार अध्यक्ष महतोले एक वक्तव्य जारी गर्दै पछिल्लो जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र विद्रोहको अभिव्यक्ति भएको उल्लेख गरेका छन् ।
उनले राज्यको एकल सोच, नीति र संरचना परिवर्तन नगरेसम्म उत्पीडित समुदायको आकाङ्क्षा पूरा हुन नसक्ने बताएका छन् । सरकारले गरिब तथा सुकुमबासी बस्ती हटाउने, सीमावर्ती नागरिकमाथि कठोर व्यवहार गर्ने, समानुपातिक समावेशितालाई कमजोर बनाउने तथा शिक्षा–स्वास्थ्यमा कर लगाउनेजस्ता नीतिमार्फत विभेदलाई संस्थागत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।
बजेटले बिचौलिया पुँजीवादलाई संरक्षण गरेको, किसान, युवा, महिला तथा प्रदेशको हितलाई बेवास्ता गरेको पनि उनको भनाइ छ । महतोले संविधान संशोधनको बहसलाई स्वागत गरे पनि सङ्घीयता कमजोर बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
राज्य पुनर्संरचनासम्बन्धी आयोगको बहुमत प्रतिवेदनअनुसार १०+१ प्रदेश र २४ स्वायत्त क्षेत्रसहितको बहुलराष्ट्रिय राज्यको संरचना, न्यायोचित राजस्व बाँडफाँट, समानुपातिक समावेशिता, प्रादेशिक भाषामा सरकारी सेवा तथा समान प्रतिनिधित्व सुनिश्चित नभएसम्म वास्तविक सुधार सम्भव नहुने उनको धारणा छ ।
साथै, आन्दोलनका क्रममा लगाइएका झुट्टा मुद्दा फिर्ता लिन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न उनले सरकारसँग माग गरेका छन् । अध्यक्ष महतोले नेपाल अस्तित्व, सार्वभौमिकता, जनअधिकार, पहिचान, संस्कृति र स्वशासनमाथि संकटको अवस्थामा पुगेको दाबी गर्दै दलगत स्वार्थभन्दा माथि उठेर वैकल्पिक राजनीतिक मार्ग निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले सभ्यता, स्वशासन र समृद्धिलाई आधार बनाएर नयाँ राष्ट्रिय पुनर्जागरणका लागि लोकतान्त्रिक, पहिचानवादी तथा परिवर्तनकामी शक्तिहरूबिच साझा सहकार्य अपरिहार्य भएको उल्लेख गरेका छन् ।
अध्यक्ष महतोले न्यायपूर्ण, समावेशी र स्वाभिमानी नेपाल निर्माणका लागि सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, युवा, किसान र मजदुरलाई साझा अभियानमा एकजुट हुन आह्वान गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल त्यसका लागि आवश्यक सबै प्रकारको योगदान दिन तयार रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण