शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

आत्महत्याका घटनाको राजनीतिकरणप्रति सांसद कार्कीको चिन्ता, मानसिक स्वास्थ्यमा जोड दिन आग्रह

शनिबार, २७ असार २०८३, १४ : २५
शनिबार, २७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले आत्महत्याका घटनाको सञ्चार माध्यम र संसद्‍मा हुने प्रस्तुतिप्रति चिन्ता व्यक्त गरेका छन्।
  • उनले केही सांसदहरूले आत्महत्याको प्रयासलाई बहादुरी र विद्रोहको संज्ञा दिएको तथा सञ्चार माध्यमहरूले भ्युजका लागि यसको राजनीतिकरण गरेको आरोप लगाएका छन्।
  • सांसद कार्कीले मानसिक स्वास्थ्यबारे खुलेर बोल्ने वातावरण बनाउन र आत्महत्या रोक्न जिम्मेवार बन्न आग्रह गरेका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले आत्महत्या र यसको प्रयासका घटनाहरूलाई सञ्चार माध्यम र संसद्‍मा प्रस्तुत गरिने शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आत्महत्याको समाचार लेख्ने, भन्ने र देखाउने अलग्गै तरिका हुने भए पनि हाल त्यस्तो सजगता नअपनाइएको बताएका हुन्।

सांसद कार्कीले हिजो संसद्‍मा नै एकजना सांसदले आत्महत्याको प्रयासलाई बहादुरीको संज्ञा दिएको र अर्का एकजनाले विद्रोह भनेको उल्लेख गरेका छन्। त्यसैगरी अर्का सांसदले गलत जानकारी फैलाउँदै र व्यक्तिका जीवनका कथाहरू राखेर भावनात्मक बनाउने काम गरेको उनको भनाइ छ।

दैनिक औसत १८ जनाले आत्महत्या गर्ने देशमा छानेर कुनै आत्महत्यालाई राजनीतिकरण गर्ने वा प्रमुख बनाउने प्रवृत्ति देखिएको कार्कीले बताएका छन्। सञ्चार माध्यमहरूले समाचारमा भ्युज पाउनका लागि पत्रकारिताको सिद्धान्त विपरीत काम गरिरहेको र व्यक्तिका जीवन भोगाइका कथालाई आत्महत्या हुने बित्तिकै केन्द्रमा ल्याइदिने गरेको उनले औँल्याएका छन्। यस्तो गैरजिम्मेवार प्रस्तुतिले समाजमा उस्तै किसिमको आत्महत्या गर्ने दर झन् बढाउने चेतावनी उनले दिएका छन्।

यी संवेदनशील विषयहरूमा सबैलाई ध्यान दिन आग्रह गर्दै सांसद कार्कीले समाजमा मानसिक स्वास्थ्यका कुराहरू खुलेर भन्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। आत्महत्या रोक्न र मान्छे जोगाउनका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप