वर्षा नहुँदा रौतहटका खेत बाँझै
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उनी निराश हुन्छन् ।
धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ । खेतमा सिँचाइको सुविधा नहुँदा यहाँका भेगका बम्जनसहित सयौँ किसान आकाश हेर्न बाध्य छन् । गत वर्ष पनि समयमा वर्षा नहुँदा सिँचाइ अभावले धान रोप्न नपाएका बम्जनले यस वर्ष भने रोपाइँ गर्ने योजना बनाएका थिए । अहिले आकाशे पानीको भरमा बस्नु परिरहेकाले रोपाइँ अन्योल बनेको उनको भनाइ छ । “रोपाइँका लागि आलीघारी जोतखन तयार छ तर पानीको व्यवस्था नहुँदा समस्या भइरहेको हो, खेत पूरै बाझै छन्”, बम्जनले भने ।
यस्तै समस्या र चिन्तामा छन् सोही गाउँका कुलदीप चौधरी । “गत वर्ष सिँचाइ नहुँदा रोपाइँ नभएको खेत अहिले पनि बाँझै रहने चिन्ता छ । अहिलेसम्म पर्याप्त पानी परेको छैन, बीउ ब्याडमै सुकेका छन् । कहिले रोपाइँ गर्ने अन्योलमा छौँ”, उनले भने । आकाशे पानीको भरमा बस्नुपर्ने, वैकल्पिक सिँचाइको व्यवस्था नहुनेलगायत कारणले खेत बाँझै हुन थालेकामा उनले चिन्ता व्यक्त गरे ।
किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत यहाँका सयौँ किसानलाई गत वर्ष बाँझो बनेका खेत यस वर्ष पनि रोपाइँ नहुने हो कि भन्ने चिन्ता बढेको छ । जिल्लामा करिब ३८ हजार ५०० हेक्टर जमिन धान रोप्न योग्य भए पनि हालसम्म ६ हजार १६० हेक्टरमा मात्रै धान रोपाइँ भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले जानकारी दिए । यतिबेलासम्म करिब ४५ देखि ५० प्रतिशत रोपाइँ हुनुपर्ने बताउँदै उनले प्रयाप्त वर्षा नहुँदा करिब १६ प्रतिशत रोपाइँ भाएको उल्लेख गरे ।
बागमती सिँचाइ आयोजनाले रौतहटको करिब १३ हजार हेक्टर र झाँझ सिँचाइ आयोजनाले करिब चार हजार ५०० हेक्टर जमिन सिँचित गर्दै आएको कार्यालय प्रमुख कुर्मीले जानकारी दिए । उनका अनुसार बागमती सिँचाइबाट चन्द्रपुर नगरपालिकाको आधा भूभाग, बृन्दावन, गुजरा, गढीमाई, माधवनारायण नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ ।
त्यस्तै, झाँझ आयोजनाअन्तर्गत गरुडा, माधवनारायण, गढीमाई नगरपालिका र यमुनामाई गाउँपालिकामा सिँचाइ पुगेको छ । स्यालो ट्युबवेलबाट २० प्रतिशत खेतीयोग्य जमिन सिञ्चित हुने कुर्मीले जानकारी दिए । स्यालो ट्यिुबेल तरकारीखेतीमा बढी प्रयोग हुने गरेको उनको भनाइ छ । उनका अनुसार नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत गण्डक नहरको पानी रौतहट भित्र्याउनसके चार वटा पालिकामा सिँचाइ पुग्ने उनले बताए ।
उक्त नहर सरसफाइ गरेर पानी रौतहट ल्याउनसके यहाँका बौधीमाई, राजपुर, परोहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका खेत सिञ्चित हुने कार्यालय प्रमुख कुर्मीले उल्लेख गरे । उनका अनुसार बौधीमाई नगरपालिकाको बङ्कुलबाट दुर्गाभगवती गाउँपालिकाको बडहर्वासम्म गण्डक नहर विस्तार भए पनि लामो समयदेखि उक्त नहरमा पानी आउन सकेको छैन ।
रौतहटको कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३८ हजार ५०० हेक्टरमा धान रोपिँदै आइएको उनले जानकारी दिए । कार्यालय प्रमुख कुर्मीका अनुसार गत वर्ष रौतहटमा करिब ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । मनसुन सक्रिय भई निरन्तर वर्षा भए केही दिनभित्र रोपाइँले गति लिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण